मेसेज पठाउनेमात्रै होइन, अब सोच्न पनि सघाउँछ मोबाइल

काठमाडौं । मेबाइल स्क्रिनमा रित्तो ‘इनबक्स’ । अगाडि कर्सर । मनभित्र अनेक कुरा लेखिरहेका छन् । ठ्याक्कै शब्द भेटिरहेका छैनन् । साथीसँगको सम्बन्ध निकै टाढा भइसक्यो । ऊसँग ‘फेरि कसरी सम्पर्क गर्ने ?’ मनमा यही प्रश्न दोहोरी खेलिरहेको छ । त्यसो त, डिजिटल जीवनमा सन्देश पठाउनु सगरमाथा चढ्नुसरह भने होइन । लेख्यो, पठायो, कुराकानी अघि बढायो । सन्देश लेख्नु र मनका कुरा ठीक ढंगले व्यक्त गर्नु फरक पाटा हुन् । कहिलेकाहीँ समस्या टाइप गर्न नजान्नु होइन, सही शब्द भेट्टाउन नसक्नु हो । कहिलेकाहीँ विषय थाहा हुन्छ, सुरुवात ‘कहाँबाट गर्ने ?’ भन्ने अन्योल हुन्छ । धेरै छोटो लेख्दा रूखो बुझिन्छ, लामो हँदा अनावश्यक ।

‘गुगल मेसेजेस’भित्रै जेमिनी, बदलिँदै कुराकानी गर्ने तरिका

यही कारण दैनिक हाम्रो जीवनसँग जोडिएका समस्याबीच एआई प्रवेश भइसकेको छ । गुगलले आफ्नो ‘मेसेजेस’भित्रै जेमिनी जोडेको छ । अब एन्ड्रोइड फोनमा ‘गुगल मेसेजेस’ प्रयोग गर्नेले छुट्टै एआई खोलिरहनु नपर्नेगरी यही सन्देशभित्र जेमिनीसँग कुराकानी गर्न सक्छ । जेमिनीलाई सन्देशको प्रारम्भिक मस्यौदा बनाउन, नयाँ विचार निकाल्न, कार्यक्रम योजना बनाउन वा सामान्य कुराकानी गर्न प्रयोग गर्न सकिन्छ । गुगलका अनुसार यो सुविधा १ सय ६५ भन्दा बढी देशमा क्रमशः उपलब्ध गराइएको छ र विभिन्न भाषामा सेवा उपलब्ध छ ।

यस परिवर्तनलाई सामान्यरूपमा लिँदा ‘गुगल मेसेजेस’मा अर्को सुविधा पनि थपिएजस्तो लाग्छ । यसको अर्थ त्यसभन्दा केही गहन छ । एआई अब छुट्टै ठाउँमा राखिएको प्रविधिमात्र रहेन, त्यो मानिसले दिनहुँ प्रयोग गर्ने सामान्य प्रक्रिया बन्दै छ । मोबाइलमा कसैसँग कुरा गर्दा, त्यही कुराकानीछेउ कृत्रिम बुद्धिमत्तासँग पनि कुरा गर्न सकिने वातारण निर्माण हुँदै छ । यसले भविष्यको ‘मोबाइल कस्तो हुनेछ ?’ भन्ने सानो झलकसमेत दिन्छ । पहिले मोबाइलले मानिसले लेखेका कुरा बोकेर अर्को व्यक्तिसम्म पु¥याउँथ्यो । अब मोबाइलले मानिसलाई ‘के लेख्ने र कसरी लेख्ने ?’ भन्नेसमेत सिकाउन थालेको छ ।

छुट्टै एप खोलिरहनुपर्ने झन्झट हट्यो
कृत्रिम बुद्धिमत्ता सामान्य प्रयोगमा अहिलेसम्म एउटा प्रक्रिया थियो । कुनै कुरा लेखाउनुप¥यो भने छुट्टै एआई एप खोल्ने, प्रश्न लेख्ने, उत्तर लिने, त्यसलाई कपी गरेर पठाउने । सानो कामका लागि पनि यो प्रक्रिया कहिलेकाहीँ झन्झटिलो लाग्छ । ‘गुगल मेसेजेस’मा जेमिनी प्रयोगले यही दूरी घटाएको छ । अब कुराकानी गरिरहेको ठाउँबाटै जेमिनीको सहारा लिन सकिन्छ । गुगलको आधिकारिक निर्देशनअनुसार ‘गुगल मेसेजेस’ खोलेपछि जेमिनीसँग कुराकानी गर्ने विकल्प रोज्न सकिन्छ । यदि त्यो विकल्प सिधै देखिएन भने नयाँ कुराकानी सुरु गर्ने स्थानमा गएर जेमिनी रोज्न सकिन्छ । पहिलोपटक प्रयोग गर्दा स्क्रिनमा देखाइएका निर्देशन पूरा गर्नुपर्छ । यसपछि आफ्नो प्रश्न वा निर्देशन लेखेर पठाउन सकिन्छ । आवश्यक परे तस्बिरसमेत जोड्न सकिन्छ । यो प्रक्रिया प्राविधिकरूपमा निकै सामान्य देखिए पनि प्रयोगको दृष्टिले यसको अर्थ ठूलो छ । कृत्रिम बुद्धिमत्ता अब ‘अलग ठाउँमा गएर प्रयोग गर्ने’ साधनबाट ‘काम गरिरहेको ठाउँमै उपलब्ध हुने’ सहयोगी बन्दै छ । यो परिवर्तन अन्य डिजिटल सेवामा पनि देखिँदै आएका छन् । लेखन, खोजी, तस्बिर, दस्तावेज, बैठकलगायत कार्यमा एआई क्रमशः जोडिँदै छ ।

सबैका फोनमा एकैपटक सुविधा नआउन सक्छ
‘गुगल मेसेजेस’मा जेमिनी प्रयोग गर्न केही सर्त छन् । यसका लागि एन्ड्रोइड फोन, भाषा ‘सर्पोटेड’ तथा ‘गुगल मेसेजेस’को नयाँ संस्करण प्रयोग भइरहेको हुनुपर्छ । व्यक्तिगतरूपमा व्यवस्थापन गरिएको गुगल आवश्यक पर्छ । प्रयोगकर्ता १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्छ । ‘आरसीएस’ कुराकानी सक्रिय भएको हुनुपर्छ । परिवार नियन्त्रित खाता वा केही कार्यालय प्रयोजन व्यवस्थापन गरिएका खातामा यो सुविधा प्रयोग गर्न नसकिने गुगलले जनाएको छ । यसमा अर्को महइभ्वपूर्ण पक्ष सुविधा क्रमशः उपलब्ध गराइँदै छ । यसैले कुनै व्यक्तिको ‘एन्ड्रोइड फोनमा जेमिनी देखिएको छ’ भन्दैमा अर्को व्यक्तिको फोनमा पनि त्यही देखिनुपर्छ भन्ने छैन । एउटै परिवारका दुई सदस्यले एकैप्रकारको फोन चलाए पनि खाता, भाषा, क्षेत्र, प्रयोग वा सुविधा विस्तारको अवस्थाका कारण फरक हुन सक्छ । त्यसैले फोनमा जेमिनीको विकल्प नदेखिँदा तुरुन्तै समस्या आएको ठान्नु उचित हुँदैन । पहिले ‘गुगल मेसेजेस अद्यावधिक भएको छ कि छैन ?’ त्यो हेर्नुपर्छ । ‘आरसीएस सक्रिय छ कि छैन ?’ जाँच गर्नुस् । आफ्नो ‘व्यक्तिगत गुगल खाता प्रयोग भइरहेको छ कि छैन ?’ हेर्नुपर्छ । त्यसपछि पनि सुविधा उपलब्ध नभए केही समय कुर्नुपर्ने हुन सक्छ ।

आरसीएस किन आवश्यक भयो ?
‘गुगल मेसेजेस’मा जेमिनी प्रयोगमा ‘आरसीएस’ बारम्बार आउँछ । सामान्य प्रयोगकर्ताका लागि यो शब्द केही प्राविधिक लाग्न सक्छ । ‘आरसीएस’ अर्थात् ‘रिच कम्युनिकेसन सर्भिस’लाई ‘एसएमएस’का रूपमा बुझ्न सकिन्छ । यसमार्फत मानिससँग हुने सुरक्षित कुराकानी र जेमिनीसँग हुने कुराकानी एउटै सुरक्षा तहमा राख्न मिल्दैन ।

जेमिनीका सबै उत्तर सही हुन्छन् त ?
कृत्रिम बुद्धिमत्ताको महइभ्वपूर्ण पाटो यसले दिने दू्रत उत्तर हो । राम्रो भाषा र आत्मविश्वाससाथ लेख्न सक्छ । यसको अर्थ प्रत्येक तथ्य सही छ भन्ने होइन । मानौं तपाईंले कुनै कार्यक्रमको मिति सोध्नुभयो । उसले एउटा मिति बतायो । तपाई ंले जाँ चनगरी निमन्त्रणा पठाउनुभयो भन े समस्या हुन सक्छ । कुनै ठाउँको नाम, समय वा अन्य गल्ती हुन सक्छन् । कुनै विषयको पुरानो जानकारीलाई नयाँ जानकारीजस्तो प्रस्तुत गर्न सक्छ । कहिलेकाहीँ प्रश्नको सन्दर्भ नबुझेका कारण गलत उत्तर आउन सक्छ । त्यसैले जेमिनीलाई सहयोगीका रूपमा प्रयोग गर्नु ठीक हो, अन्तिम प्रमाणका रूपमा होइन ।

कानुनी, आर्थिक, स्वास्थ्य, यात्रा, शिक्षा वा सार्वजनिक सूचनासम्बन्धी महइभ्वपूर्ण निर्णयमा अतिरिक्त पुष्टि आवश्यक हुन्छ । सन्देश लेखनमा भने जोखिम तुलनात्मकरूपमा कम हुन सक्छ, त्यहाँ पनि व्यक्तिगत सन्दर्भको प्रश्न रहन्छ । जेमिनीले ‘प्रिय मित्र’ भनेर सुरु गरेको सन्देश तपाईंको अत्यन्त नजिकको साथीलाई पठाउँदा अनावश्यक औपचारिक लाग्न सक्छ । त्यसैले जेमिनीको मेजेज पढ्नु, आवश्यक ठाउँ सच्याउनु र त्यसपछिमात्र पठाउनु मानवीय बुद्धिमत्ता हो ।

मोबाइल एक परिवर्तन अनेक
गुगल मेसेजेसमा जेमिनी प्रवेशलाई नयाँ सुविधाकै रूपमा मात्रै लिँदा यसको अर्थ सानो लाग्न सक्छ । प्रविधि इतिहासमा धेरै ठूला परिवर्तन यस्तै साना सुविधाबाट सुरु भएका छन् । पहिले सन्देश पठाउन मिल्यो, पछि तस्बिर । भिडियोसँगै समूहमै कुरा गर्न मिल्ने सुविधा आयो । अहिले कृत्रिम बुद्धिमत्तासँगै मेसेजमाथि सोच्न समय छ । यसको अर्को चरण अझ रोचक हुन सक्छ । यस्तो सेवाले कुराकानीको सन्दर्भ बुझेरमात्रै सुझाव दिन सक्छ । प्रयोगकर्ताले लेखेका कुरा अझ स्वाभाविक बनाउन सक्छ । विभिन्न भाषामा रूपान्तरण गर्न सकिन्छ । यससँगै गोपनीयता, तथ्यको सत्यता, मानिसको नियन्त्रण र डिजिटल निर्भरताका पनि प्रश्न उठ्न सक्छन् । एआईभन्दा ठूलो हाम्रो प्रयोग गर्ने तरिका जरुरी छ ।

गुगल मेसेजेसमा जेमिनी आएको छ । यसले सन्देश लेख्न र विचार प्रवाह गर्न सहयोग पु¥याउँछ । तस्बिर जोडेर कुराकानी गर्न दिन्छ । सामान्य प्रश्नको उत्तर दिन सक्छ । यी सुविधाभन्दा ठूलो कुरा कृत्रिम बुद्धिमत्तालाई मानिसको दैनिक कुराकानीको निकै नजिक ल्याएको छ । एआई प्रयोग गर्न छुट्टै समय निकाल्नुपर्ने छैन । काम गरिरहेको ठाउँमै त्यो उपलब्ध हुन सक्छ । यहीँबाट मानिस र कृत्रिम बुद्धिमत्ताबीचको सम्बन्धको अर्को अध्याय सुरु हुन्छ । हामीले अब कृत्रिम बुद्धिमत्तासँग ‘यसको उत्तर के हो ?’ भनेर सोध्ने छैनौं । सायद विस्तारै ‘म यसरी भन्न चाहन्छु, यसलाई अझ राम्रो कसरी बनाउने ?’ पनि सोध्ने छौं । ‘म यस्तो कार्यक्रम गर्न चाहन्छु, कहाँबाट सुरु गरौं ?’ पनि सोध्ने छौं । ‘यो सन्देश पठाउँदा नराम्रो नलाग्नेगरी कसरी लेखूँ ?’ पनि सोध्ने छौं ।

अर्थात्, एआई उत्तर खोज्ने साधनबाट दैनिक निर्णय र अभिव्यक्तिको सहायक बन्ने दिशातर्फ अघि बढ्दै छ । यस यात्रामा एउटा कुरा बिर्सनु भने हुँदैन, एआईले सुन्दर शब्द लेख्न सक्छ, ती शब्दमा भावना भने भर्न सक्दैन, भावना भर्न हामी नै चाहिन्छ । उसले राम्रो निमन्त्रणा बनाउन सक्छ, ‘कसलाई बोलाउने ?’ भन्ने निर्णय हाम्रो हो । उसले योजना बनाउन सक्छ, ‘कुन योजना उपयुक्त छ ?’ भन्ने जाँच्ने हामीले नै हो । उसले तथ्य बताउन सक्छ, त्यो तथ्य ‘सही हाे कि हो इन ?’ जाँचगर्न जिम्मेवारी हाम्रो हो । उसले सन्देश सुरुवात गरिदिन सक्छ, त्यसको निर्णय हामीमै भर पर्छ । त्यसैले गुगल मेसेजेसमा जेमिनीको आगमनलाई ‘प्रविधिको सुविधा’ भनेर बुझ्दा हामी अधुरै हुन्छौं । यो मानिसले आफ्नो दैनिक सञ्चारमा कृत्रिम बुद्धिमत्तालाई ‘कति नजिक ल्याउन चाहन्छ ?’ भन्ने प्रश्नसमेत हो ।

आज जेमिनी सन्देश लेख्ने ठाउँमा आइपुगेको छ । भोलि यो हाम्रो क्यालेन्डर, क्यामेरा, दस्तावेज, यात्रा, पढाइ, काम र अन्य दैनिक गतिविधिमा जोडिन सक्छ । त्यो संसारमा मोबाइल उपकरणमात्रै हुने छैन, त्यो डिजिटल सहायक हुनेछ । यसले हाम्रो कुरा सुन्ने छ, बुझ्ने प्रयास गर्ने छ, विकल्पलगायत काममा सहजता ल्यान सक्छ । ‘त्यो सहजता कति उपयोगी हुनसक्छ ?’ भन्ने बुझ्न जरुरी छ । ‘कति जानकारी दिने ? कसरी भरोसा गर्ने ? कसरी जाँच गर्ने र कहाँ आफ्नै निर्णय राख्ने ?’ भन्ने हामीले नै तय गर्नुपर्ने हुज्छ । यही कारण गुगल मेसेजेसभित्र जेमिनीको आगमन नयाँ सुविधासँगै डिजिटल जीवनमा नयाँ बानी पनि जन्मिँदै गरेको आभाष हो ।

अब मोबाइलमा रित्तो ‘इनबक्स’ देखिँदा हामीसँग नयाँ विकल्प पनि हुनेछ । त्यो हो, आफैं सोच्ने, आफैं लेख्ने अनि पठाउने वा आवश्यक परे, सोच्नुअघि जेमिनीलाई सोध्ने, त्यसको सुझाव हेर्ने, आफ्नो शब्द थप्नेसँगै अन्तिम निर्णय पनि आफैं गर्ने । भविष्यको मोबाइल सम्भवतः यही दोस्रो बाटोमा अघि बढ्ने छ ।

भावनासँग एआई तुलना असम्भव
कसैलाई ‘तिमीलाई सम्झिरहेको छु’ भन्नका लागि कृत्रिम बुद्धिमत्ताले बनाएको अत्यन्त सुन्दर वाक्यभन्दा आफ्नो सामान्य तर साँचो वाक्य धेरै मूल्यवान हुन सक्छ । कहिलेकाहीँ भाषाको सुन्दरता होइन, भावनाको प्रामाणिकता ठूलो हुन्छ । त्यसैले जेमिनीलाई लेखनको विकल्पभन्दा लेखनको सहायकका रूपमा प्रयोग गर्नु राम्रो हुन सक्छ ।

गोपनीयता प्रश्न किन महत्वपूर्ण ?
कृत्रिम बुद्धिमत्ता विकाससँगै सबैभन्दा ठूलो बहस गोपनीयतामाथि भइरहेको छ । हामीले मोबाइलमा लेख्ने कुरा सामान्य शब्दमात्र हुँदैनन्, त्यसमा पारिवारिक जानकारी, आर्थिक लेनदेन, कार्यालयका कुरा, व्यक्तिगत सम्बन्धका कुरा, कसैको स्वास्थ्य वा निजी जीवनसँग सम्बन्धित जानकारी पनि हुन सक्छन् । त्यसैले मानिससँग हुने सन्देश र कृत्रिम बुद्धिमत्तासँग हुने कुराकानीबीचको अन्तर बुझ्न जरुरी छ । गुगलले गुगल मेसेजेसमा जेमिनीसँग हुने कुराकानी अन्त्यदेखि अन्त्यसम्मको गोप्य नहुने र सुरक्षित नहुने स्पष्ट गरेको छ । यसको अर्थ ‘जेमिनी प्रयोग गर्नु हुँदैन ?’ भन्ने होइन ।

जेमिनीमा त्यस्तो जानकारी नदिनुहोस्, जुन तपाईं सार्वजनिक वा कम सुरक्षित वातावरणमा राख्न चाहनुहुन्न । पासवर्ड, बैंकको गोप्य विवरण, गोप्य संकेत, परिचयपत्रका संवेदनशील विवरण, कार्यालयका गोप्य कागजात वा अरू व्यक्तिको निजी जानकारी यसका स्पष्ट उदाहरण हुन् । यसमा अर्को पक्ष पनि छ । गुगलका अनुसार गुगल मेसेजेसमा जेमिनीसँगको कुराकानी मेटाउन सकिन्छ । गुगल मेसेजेसबाट जेमिनीको पूरा कुराकानी मेटाउँदा त्यो जेमिनी गतिविधिबाट पनि हट्ने व्यवस्था छ । जेमिनी गतिविधिमा छुट्टाछुट्टै प्रश्न वा उत्तर मेटाउन सकिने विकल्पसमेत रहेको गुगलले बताएको छ । यसले प्रयोगकर्तालाई आफ्नो डिजिटल गतिविधि नियन्त्रणमा राख्न सहयोग पु¥याउँछ । सबैभन्दा सुरक्षित उपाय सुरुमै अनावश्यक निजी जानकारी सेयर नगर्नु नै हो ।

मेसेज लेख्ने ठाउँमा कृत्रिम बुद्धिमत्ता (एआई) किन आवश्यक भयो ?
हामीले दिनभरि कति सन्देश पठाउँछौं ? भन्ने हिसाब गर्ने हो भने यसको संख्या निकै ठूलो हुन सक्छ । परिवारभित्र एउटा कुरा, कार्यालयमा अर्को, साथीलाई छुट्टै, ग्राहकलाई अर्को, आफन्तलाई शुभकामना, कसैलाई धन्यवाद, कसैसँग भेट्ने योजना, हाम्रो दैनिक जीवनको नियमितता भइसकेको छ । सन्देश लेखनको सबैभन्दा ठूलो समस्या यसको संख्याभन्दा सन्दर्भ हो ।

परिवारमा लेखिने र कार्यालयमा लेखिने भाषा फरक हुन्छन् । नजिकका साथीलाई लेखिने वाक्य र अपरिचित व्यक्तिलाई पठाइने सन्देश फरक हुन्छन् । ग्राहकलाई जवाफ दिँदा शब्द गलत गयो भने त्यसको अर्थ नै बदलिन सक्छ । कसैलाई निमन्त्रणा गर्दा अत्यन्त औपचारिक भाषा प्रयोग गरियो भने आत्मीयता हराउन सक्छ । फेरि धेरै अनौपचारिक भाषा प्रयोग गर्दा असहज देखिन पनि सक्छ । त्यसैले धेरैलाई सन्देश लेख्दा पहिले के भन्न खोजेको हो ? सोच्ने, त्यसपछि मात्र शब्द खोज्ने, वाक्य मिलाउने, फेरि पढ्ने र अन्ततः पठाउने गनुर््पर्छ । जेमिनी वा च्याटजीपीटीले यही प्रक्रियामा साथ दिन्छन् । धेरै महिनादेखि सम्पर्क नभएको साथीलाई सम्झनुभयो । सामान्य भावना आउँछ, ‘धेरै भयो कुरा नभएको, भेटौं ।’ मोबाइल खोलेर लेख्न बस्दाचाहिँ ‘हाइ, कस्तो छ ?’भन्दा अगाडि केही लेख्न आउँदैन ।

यस्तो अवस्थामा एआईलाई भन्न सकिन्छ, ‘धेरै समयदेखि कुरा नभएको साथीलाई फेरि सम्पर्क गर्न छोटो, आत्मीय र स्वाभाविक सन्देश तयार गर ।’ उसले प्रारम्भिक सन्देश दिन सक्छ, त्यो सन्देश नै अन्तिम हुनुपर्छ भन्ने छैन । त्यसमाथि आफ्नो सम्झना थप्न सकिन्छ । साथीको नाम राख्न सकिन्छ । पछिल्लो भेटको कुरा जोड्न सकिन्छ । ‘यसपालि समय मिल्यो भने भेटौं’ भन्न सकिन्छ । एआईले सम्बन्धको ठाउँ लिँदैन, उसले भावना पनि सिर्जना गर्दैन । उसले भावना व्यक्त गर्न शब्दको सुरुवातमात्रै गरिदिन्छ । यही कारण सन्देशभित्र कृत्रिम बुद्धिमत्ता प्रवेशलाई उपयोगी परिवर्तनका रूपमा हेर्न सकिन्छ ।

नेपालमा यसको प्रयोग कस्तो हुन सक्छ ?
नेपाली भाषामा कृत्रिम बुद्धिमत्ता प्रयोग विस्तार हुँदै जानु महइभ्वपूर्ण मानिन्छ । कुनै व्यक्तिले अंग्रेजीमा राम्रोसँग लेख्न नसके पनि आफ्नो आवश्यकता सरल भाषामा बताएर सन्देश तयार गर्न सक्ने अवस्था उपयोगी हुन सक्छ । यद्यपि, ‘गुगल मेसेजेस’मा जेमिनी भाषा उपलब्धता क्षेत्र र सुविधाअनुसार फरक हुन्छ । गुगलले ‘सपोर्ट’ गर्ने भाषा सूची सार्वजनिक गरेसँगै सेवा क्रमशः विस्तार भइरहेको छ । त्यसैले नेपाली भाषामा यसको उपलब्धता वा व्यवहारिक क्षमता प्रयोगकर्ताका फोन, खाता, क्षेत्र र हाल उपलब्ध भाषासँग सम्बन्धित हुन सक्छ । कुनै सुविधा आफ्नो फोनमा नदेखिएमा त्यसलाई तत्कालै त्रुटि मान्नु उचित हुँदैन ।

नेपालजस्तो बहुभाषिक समाजमा भने भविष्यमा यस्ता प्रविधिले स्थानीय भाषामा लेखन र डिजिटल सञ्चारलाई अझ सहज बनाउन सक्ने सम्भावना छ । कुनै व्यक्तिले नेपालीमा आफ्नो कुरा राख्ने र त्यसलाई आवश्यकताअनुसार औपचारिक, सरल वा छोटो शैलीमा तयार गर्ने सुविधा पायो भने डिजिटल सञ्चार पहुँच अझ विस्तार हुन सक्छ ।

सानो व्यवसायमा पनि उपयोगी
साना व्यवसायी होस् वा घरबाटै व्यवसाय गर्ने व्यक्ति, ग्राहकसँग नियमित सम्पर्क राख्नुपर्ने हुन्छ नै । ‘तपाईंले अर्डर गर्नुभएको सामान आज पठाइँदै छ’, घतपाईंको सामान भोलि उपलब्ध हुनेछ’, ‘भुक्तानी प्राप्त भएको छ, धन्यवाद’, ‘आज सेवा केही ढिला हुनेछ’ यी मेसेज सामान्य देखिए पनि दिनभर दर्जनौं ग्राहकलाई पठाउनुपर्दा समय लाग्छ । जेमिनीले यस्ता सन्देशको प्रारम्भिक भाषा तयार गर्न सहयोग पु¥याउन सक्छ । ग्राहकको नाम, फोन नम्बर, आर्थिक विवरण वा अन्य संवेदनशील जानकारी कृत्रिम बुद्धिमत्तामा राखेर लेखाउनुअघि गोपनीयता ध्यान दिनुपर्छ । व्यवसायमा समय बचाउनु महइभ्वपूर्ण छ, ग्राहकका निजी जानकारी सुरक्षित राख्नु त्योभन्दा बढी महइभ्वपूर्ण हुन्छ ।

विद्यार्थीका लागि फरक सहायक
विद्यार्थीले पनि ‘गुगल मेसेजेस’मा जेमिनीलाई दैनिक कामका सन्दर्भमा प्रयोग गर्न सक्छन् । समूहमा छलफल तथा कार्यक्रमका लागि निमन्त्रणा तयार गर्न सकिन्छ । यहाँ एउटा सीमा भने निर्दिष्ट हुन्छ । एआईले ‘पढाइको उत्तर दिएको’ भन्दै त्यसलाई जाँच नगरी आफ्नो काममा प्रयोग गर्नु उचित हुँदैन ।

जेमिनीलाई शिक्षकको पूर्णविकल्प मान्नु ठीक होइन । यसलाई कठिन कुरा बुझ्न सहयोग गर्ने, प्रश्न निकाल्ने, विचार मन्थन गर्ने वा आफ्नो लेखाइ सुधार्ने साधनका रूपमा प्रयोग गर्दा बढी उपयोगी हुन सक्छ ।

मानिसको ठाउँ लिन्छ कि अझ सक्षम बनाउँछ ?
एआई चर्चा हुँदा बारम्बार प्रश्न उठ्छन् । ‘गुगल मेसेजेस’भित्र जेमिनी प्रयोग हेर्दा तत्काल यसको उद्देश्य मानिसको ठाउँ लिनुभन्दा सहयोग गर्नु हो । ‘के भन्न चाहनुभएको हो ?’ भन्ने निर्णय तपाईंले नै गर्नुहुन्छ । ‘कसलाई सन्देश पठाउने ?’ भन्ने निर्णय तपाईंले नै गर्नुपर्छ । ‘मेसेज पठाउने कि नपठाउने ?’ भन्ने निर्णय पनि तपाईंले गर्नुहुन्छ । एआईलाई लेखन सहायकजस्तै बुझ्दा हित हुन्छ । अन्तिम निर्णय प्रयोगकर्ता हुनुपर्छ ।

सुविधा बढ्दा जिम्मेवारी पनि बढ्छ
एआईले काम सजिलो बनाए पनि सुरक्षित मान्न सकिन्न । प्रविधि सही उपयोग त्यसले गर्नसक्ने हरेक काम गर्नुमात्र होइन, ‘कुन काममा प्रयोग गर्ने र कुन काममा नगर्ने ?’ भन्ने निर्णय गर्न सक्नु पनि डिजिटल सचेतना हो । यस अर्थमा एआई प्रयोगले मानिसलाई नयाँ डिजिटल अनुशासन पनि सिकाउन सक्छ ।

एआई प्रयोग गर्न जटिल भाषा आवश्यक छैन । आफ् नो आवश्यकता स्पष्ट बताउनु महइभ्वपूर्ण हुन्छ । ‘सन्देश लेख’भन्दा ‘मेरो कार्यालयका सहकर्मीलाई भोलि बिहान १० बजे हुने बैठकको सम्झना गराउने छोटो औपचारिक सन्देश लेख’ भन्नु बढी उपयोगी हुन्छ । ‘जन्मदिनको सन्देश लेख’भन्दा पनि ‘मेरो मिल्ने साथीका लागि आत्मीय तर धेरै भावुक नभएको दुई अनुच्छेदको जन्मदिन शुभकामना लेख’ भन्नु अझ स्पष्ट हुन्छ ।

‘घुम्न जाने योजना देऊ’भन्दा ‘चारजना साथीका लागि एक दिनमा पूरा हुने, कम खर्चिलो र धेरै यात्रा गर्न नपर्ने घुमघाम योजना तयार गर’ भन्नु बढी उपयोगी हुन्छ । अर्थात् एआईसँग कुरा गर्दा साधारण कुरा सम्झनुपर्छ, ‘कसका लागि के चाहिएको हो ? कस्तो शैलीमा र कति लामो ?’ भन्ने स्पष्ट हुनुपर्छ । यसपछि आवश्यकताअनुसार निर्देशन दिन सहज हुन्छ ।

कसैले पठाएको सन्देशको जवाफ कसरी दिने ?
कसैले निमन्त्रणा पठाएका छन्, जान सकिने अवस्था छैन भने ‘मलाई कार्यक्रममा आउन मन थियो तर त्यो दिन पहिले नै अर्को काम तय भएकाले आउन नसक्ने कुरा विनम्र तरिकाले बताउने सन्देश तयार गर’ भन्यो भने एआईले शब्द मिलाइदिन सक्छ । फेरि पनि अन्तिम निर्णय मानिसकै हुन्छ ।

एआईले बनाएको वाक्य तपाईंको सम्बन्धअनुसार ‘ठीक छ कि छैन ?’ जाँच्न जरुरी हुन्छ । नजिकका साथीलाई अत्यधिक औपचारिक जवाफ आवश्यक नहुन सक्छ । कार्यालयको वरिष्ठ व्यक्तिलाई भने बढी संयमित भाषा चाहिन सक्छ । एआईले भाषा मिलाउन सक्छ, मानिको सम्बन्ध बुझ्न सक्दैन ।

अर्को चरणमा कृत्रिम बुद्धिमत्ता जोडिँदै छ
मोबाइलले ‘तपाईंले भनेको काम गर’ भन्ने आदेश पालना गर्नेमात्रै होइन, केही अवस्थामा ‘यो काम कसरी राम्रो गर्न सकिन्छ ?’ भन्ने प्रश्नमा पनि सहयोग गर्न सक्छ । ‘गुगल मेसेजेस’मा जेमिनी प्रयोग त्यसैको प्रत्यक्ष उदाहरण हो । यदि मोबाइलले ‘हाम्रा लागि धेरै सोच्न थाल्यो भने हामी आफैं कति सोच्ने छौं ?’ यो प्रश्नको उत्तर पाउन कठिन छ । कृत्रिम बुद्धिमत्ता प्रयोग गर्ने मानिसको संख्या बढ्दै जाँदा प्रविधि चलाउने सीपसँगै प्रविधि नियन्त्रणमा राख्ने विवेक पनि आवश्यक हुँदै जानेछ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए