पत्रकार किशोर श्रेष्ठ पक्राउ सम्बन्धमा के भन्यो प्रेस काउन्सिलले ?

काठमाडौं । जनआस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २७ साउनको राति पक्राउ गरी निजी निवास खानतलासी गरिएको र बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भन्दै प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको जनाएको छ । प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकार तथा सञ्चारकर्मी पनि सचेत हुनुपर्ने उल्लेख गर्दै काउन्सिलले सत्य, तथ्य, सन्तुलित एवं विश्वसनीय पत्रकारिताबाट व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही र उत्तरदायी बनाउन आग्रह गरेको छ ।

काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको जनाउँदै समाचारका विषयमा चित्त नबुझेमा काउन्सिलमा उजुरी गर्नसमेत आग्रह गरेको छ । समाचारको विषयलाई लिएर सम्बन्धित पक्षले काउन्सिलको प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै काउन्सिलले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन आफ्नो भूमिका निर्वाह गर्ने जनाएको छ ।

प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चारमाध्यममाथि हुने कारबाही प्रेस तथा पत्रकारितासम्बन्धी कानुनी प्रक्रिया र पत्रकार आचारसंहिताअनुसार हुनुपर्नेमा जोड दिएको छ । काउन्सिलले सञ्चारमाध्यम तथा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लंघन गरेमा कानुनबमोजिम उजुरी लिने, कारबाही गर्ने र आवश्यक निर्देशन दिने अधिकार आफूमा रहेको स्पष्ट पारेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक बस्नेतले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकार आचारसंहिता बनाएर पत्रकार र सञ्चारमाध्यमबाट प्राप्त उजुरीको नियमित अनुगमन तथा कारबाही हुँदै आएको उल्लेख छ ।

आचारसंहिता पालना गराउन ध्यानाकर्षण गराउने, खण्डन प्रकाशन÷प्रसारण तथा भूलसुधार र क्षमायाचनाका लागि निर्देशन दिने, वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, लोककल्याणकारी विज्ञापनलगायत सुविधाबाट वञ्चित गर्ने वा सूचीकरणबाट हटाउनेलगायतका कारबाही हुँदै आएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने, सरकारी वा अन्य कुनै प्रकारका विज्ञापन वा सुविधा निश्चित अवधिका लागि उपलब्ध नगराउन सिफारिस गर्ने तथा पत्रकार वा सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन नगर्न निर्देशन दिने अधिकारसमेत रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार