काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेर पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको बहसलाई चुनौती दिएका छन् ।
काठमाडौंमा अध्यक्ष ओलीको राजीनामा र पार्टी पुनर्गठनको माग गर्दै एमालेकै दोस्रो पुस्ताका नेताहरू सक्रिय भइरहेका बेला झापा पुगेका ओलीले आफूविरुद्धका गतिविधिलाई ‘आधिकारिकताहीन होहल्ला’ भन्दै पार्टी छाडेर जान चेतावनी दिएका हुन् ।
पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला झापामा कार्यकर्ताबीच पुगेका ओलीले एमाले पुनर्गठन नभई ‘पुनर्जागरण’को बाटोमा अघि बढ्ने घोषणा गरे । २१ फागुनको निर्वाचनमा पार्टीले अपेक्षाविपरीत परिणाम व्यहोरेको प्रसंग निकाल्दै उनले एकपटक चुनावमा पराजित हुँदैमा एमाले कमजोर नभएको दाबी गरे ।
गृहनगर बिर्तामोडमा आयोजित एमालेको ‘जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले कुनै परिस्थितिमा एक गोल खायौँ भनेर विरोधीहरूले खुसी मनाउन आवश्यक छैन । एमालेले एक गोल खाए पनि पलटवार गरेर १० गोल हान्ने सामथ्र्य र जनआधार राख्दछ ।’
निर्वाचनपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीका लागि झापा भ्रमण राजनीतिक रूपमा समेत अर्थपूर्ण देखिएको छ । निर्वाचनको अनपेक्षित परिणामपछि पार्टी नेतृत्वमाथि प्रश्न उठिरहेका बेला उनले कार्यकर्तामाझ आफू नेतृत्वबाट पछि नहट्ने सन्देश दिएका छन् ।
‘आवारा’लाई पार्टी छाड्न चेतावनी
ओलीले पार्टी पुनर्गठन र आफ्नो राजीनामाको माग गर्ने समूहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । पार्टीभित्र क्यान्टिनमा होहल्ला गर्ने ‘आवारा’जस्तो गतिविधि भइरहेको टिप्पणी गर्दै उनले यस्ता गतिविधिले पार्टीलाई फाइदा नपु¥याउने बताए ।
पार्टी केन्द्रीय नेतृत्व, विधान र संगठन प्रणालीभन्दा बाहिर गएर गरिने गतिविधि सह्य नहुने भन्दै ओलीले नेतृत्व परिवर्तन चाहने भए पार्टीको विधि र प्रक्रियाबाट अघि बढ्न आग्रह गरे ।
‘पार्टी छोडेर बाटो लागे हुन्छ’ भन्ने चेतावनी दिएका ओलीले गुटबन्दी गरेर विरोधी राजनीतिक शक्तिलाई फाइदा पु¥याउने काम बन्द गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।
ओलीले एमालेमा फर्जी सदस्यता रहेको समेत स्वीकार गरेका छन् । ठूलो देखाउन फर्जी सदस्यता थप्नेभन्दा वास्तविक सदस्यतामा आधारित छरितो र कामकाजी संगठन निर्माण गरिने उनले बताए ।
वास्तविक सदस्यता र सक्रिय कार्यकर्ताको पहिचान गर्ने, सबै कमिटीलाई विधानअनुसार सञ्चालन गर्ने तथा आन्तरिक अनुशासन कायम गर्ने विषयलाई पार्टीको प्राथमिकतामा राखिएको ओलीको भनाइ छ ।
उनले आगामी प्रदेश र स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रत्येक वडामा एमालेको मत ५१ प्रतिशतभन्दा माथि पु¥याउने गरी जनतासँग जोडिन कार्यकर्तालाई निर्देशनसमेत दिए ।
‘घरघरमा जानुस्, व्यक्ति–व्यक्तिमा जानुस्, खेत–खलिहानमा जानुस्, दिदीबहिनीहरू चुल्हाचौकामा जानुस्, भान्सामा जानुस्, तरकारीबारीमा पुग्नुस्,’ ओलीले भने ।
शंकर र विद्याप्रति आक्रोश
ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस उठाउने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेलप्रति समेत आक्रोश व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित अलग–अलग कार्यक्रममा भण्डारी र पोखरेलले एमालेको नेतृत्व र पार्टीको पछिल्लो अवस्थामाथि प्रश्न उठाएका थिए । महासचिव पोखरेलले ६ जना प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री बनाउँदा पनि वामपन्थी आन्दोलन रक्षात्मक अवस्थामा पुग्नु गम्भीर विषय भएको भन्दै कमजोरी स्वीकारेर सच्चिनुपर्ने बताएका थिए ।
त्यसको जवाफमा ओलीले पार्टी नेतृत्व परिवर्तनको विषय उठाउने भए औपचारिक पार्टी कमिटी र बैठकमा आएर प्रक्रिया पूरा गर्न चुनौती दिए । ‘हटाएर देखाउनुस्, औपचारिक मञ्चमा आएर हटाउनुस्,’ ओलीले चुनौती दिँदै भने ।
उनले पार्टीका कमिटी बैठकबाट प्रक्रियासम्मत ढंगले नेतृत्व परिवर्तन गर्न सकिने भन्दै सार्वजनिक रूपमा पार्टी नेतृत्वको विपक्षमा बोल्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।
निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई ओलीले कुस्तीको उदाहरण दिएर कार्यकर्तालाई उत्साहित पार्ने प्रयास गरे । ‘कुस्ती खेल्दा एकपटक पछारिँदा अखडा छोडेर भाग्छ भने त्यसले खेल्छ कुस्ती ? एकपटक पछारिएपछि जुरुक्क उठेर फेरि च्याप्प समातेर धोबीपाट लाएर ड्याम्प पार्नुपर्छ । यो हाम्रो तरिका हो । नेकपा एमाले त्यसो गर्छ,’ उनले भने ।
झापालाई एमालेको ऐतिहासिक राजनीतिक आधारभूमि भन्दै ओलीले यही ठाउँबाट पार्टीलाई पुनर्जागरण गर्दै राष्ट्रिय राजनीतिमा पुनः बलियो शक्तिका रूपमा स्थापित गर्ने दाबी गरे ।
यससँगै निर्वाचनपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीले पार्टीभित्रको नेतृत्व परिवर्तनको बहसलाई अस्वीकार गर्दै आगामी प्रदेश र स्थानीय निर्वाचनलाई लक्षित गरेर संगठन परिचालन गर्ने रणनीति अघि सारेका छन् ।
सम्बन्धित समाचार
इलामबाट ओलीको कटाक्ष : जनताको अपेक्षा पूरा गर्न नसक्ने सरकारको औचित्य के ?
अदालतले अनुसन्धानको अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा
प्रधानमन्त्रीसँगको भेटमा रास्वपा सुदूरपश्चिमका सांसदहरुले जे कुरा उठाए…
वर्षौंदेखि अलपत्र फास्ट्रयाक: सडक होइन खेत बन्यो, स्थानीयले गरे धान रोपाइँ
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किँदै
प्रतिनिधिसभा बैठकमा ४ विधेयक प्रस्तुत हुने, आजै ३ संसदीय समितिको पनि बैठक
आफ्नै पार्टीका सांसदहरुबाट आलोचना हुन थालेपछि प्रधानमन्त्री शाहले मध्यराति लेखे यस्तो भाबुक सन्देश
नेशनल प्याब्सन कोशी प्रदेशको ‘फोनिक्स ध्वनि प्रशिक्षण’ सम्पन्न






