प्रधानमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद (डीपी) अर्यालले पहिलोपटक रुलिङ गरेका छन् ।

नयाँ सरकार गठन भएपछि लामो समयदेखि विपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर प्रश्नका जवाफ दिन माग गर्दै आए पनि सभामुखले सोमबार पहिलोपटक औपचारिक रूपमा प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदले निरन्तर त्यस’bout जवाफ माग्दै आएका थिए । त्यससँगै प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने संसदीय व्यवस्थाअनुसार पनि विपक्षीले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै आएका थिए ।

सोमबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो आसनबाट उठेर प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई जवाफ दिन रुलिङ गर्न माग गरेपछि सभामुख अर्यालले उनीहरूको माग सम्बोधन गर्दै रुलिङ गरेका हुन् ।

‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।

सभामुखले सांसदहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली, २०७३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रश्नोत्तरको माग गर्दै विरोध गरिरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

अढाइ महिनापछि बल्ल रुलिङ
प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विषय संसद्मा उठेको अढाइ महिना बितिसक्दा पनि विपक्षीले जवाफ माग्न छाडेका थिएनन् । तर, सभामुखले यसअघि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर जवाफ दिन औपचारिक रुलिङ गरेका थिएनन् ।

नयाँ सरकार गठनपछि पहिलोपटक सभामुखबाट यस्तो रुलिङ आएपछि यसलाई विपक्षीको लामो समयदेखिको माग सम्बोधन गर्ने कदमका रूपमा हेरिएको छ । प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने र सांसदले उठाएका प्रश्नको जवाफ संसद्मै दिनुपर्ने विपक्षीको माग थियो ।

सभामुखको सोमबारको रुलिङले प्रधानमन्त्री र संसद्बीचको जवाफदेहिताको प्रश्नलाई समेत सतहमा ल्याएको छ । प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएसँगै प्रधानमनत्रीले रुलिङ कार्यान्वयन कहिले गर्लान् भनेर चासो सुरु भएको छ ।

सत्तापक्षका सांसदलाई पनि लगाम
प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेको बैठकमा सभामुख अर्यालले सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदको अभिव्यक्ति र प्रस्तुतीकरणमाथि लगाम लगाएका छन् । नयाँ सरकार बनेपछि सभामुखले सत्तारूढ दलका सांसदलाई समेत पहिलोपटक बोल्ने विषय, शैली र संसदीय मर्यादा’bout सचेत गराएका हुन् ।

सोमबार रास्वपाकी सांसद तथा पूर्वउपसभामुख इन्दिरा रानामगरलाई निर्धारित एजेण्डाभन्दा बाहिर गएर नबोल्न सभामुखले सम्झाएका थिए । त्यस्तै रास्वपा सांसद आशिका तामाङलाई पनि संसदमा बोल्दा संसदीय मर्यादा र बोल्ने शैलीमा ध्यान दिन आग्रह गरे ।

रास्वपा सांसद अधिवक्ता सुलभ खरेललाई समेत सभामुखले आकस्मिक समयमा उठाउन मिल्ने विषय’bout रोकेका थिए । सोमबारदेखि सुरु भएको स्थानीय तहका लागि ‘क्यान्डिडेट क्लब’को विषय आकस्मिक समयमा उठाउन थालेपछि सभामुखले ‘यो कसरी आकस्मिक समयमा बोल्नुपर्ने एजेण्डा भयो माननीयज्यू ?’ भन्दै रोकेका थिए ।

यसअघि संसद्मा सांसदका अभिव्यक्ति र प्रस्तुतीकरणलाई लिएर सभामुखले पटकपटक सचेत गराउँदै आए पनि नयाँ सरकार बनेपछि सत्तारूढ पक्षका सांसदलाई समेत संसदीय मर्यादा र कार्यविधिको सीमाभित्र राख्ने गरी सोमबारको हस्तक्षेपलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बैठकमा सभामुख अर्यालले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन प्रधानमन्त्रीलाई रुलिङ गर्ने र सांसदलाई संसदीय मर्यादामा बाँध्ने दुई महत्वपूर्ण निर्णय एकैपटक अघि सारेका छन् ।

प्रधानमन्त्रीले १० भदौमा जवाफ दिने
प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिसभामा १० भदौमा प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका लागिसमय निर्धारण गरेका हुन् ।

सभामुखले प्रश्नोत्तर कार्यक्रमको समय निर्धारण गरेसँगै प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने भएको छ ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि प्रश्न गर्न इच्छुक सांसदले ५ भदौभित्र संघीय संसद्का सचिवसमक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ । निर्धारित प्रक्रियाबाट छानिएका १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन् ।

प्रतिनिधिसभाका ६ वटा दलबाट एक–एक जना सांसदले प्रश्न सोध्न सक्ने गरी व्यवस्था गरिएको छ । बाँकी ८ जना सांसद भने प्रतिनिधिसभामा दलहरूको संख्यात्मक हैसियतका आधारमा चयन हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

बुद्धमलमा हेलो सर्भिस नेपालको नयाँ शाखा सञ्चालन