तिला–२ जलविद्युत् आयोजनाका लागि लगानी सम्झौता

फोटो: बिश्वनाथ सिम्खडा

कालिकोट । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४२० मेगावाटको तिला–२ जलविद्युत आयोजनाका लागि बैङ्क तथा वित्तीय संस्थाहरूसँग वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

कालिकोटको खाडाचक्र नगरपालिका र तिलागुफाको क्षेत्रमा  निर्माण हुने यस अर्धजलाशययुक्त आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ जसमा ७५ प्रतिशत ऋण लगानी रहनेछ ।

आयोजनाले सुक्खा याममा दैनिक ६ घण्टा पिकिङ क्षमतासहित वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

१ भदौ, काठमाडौं । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४ सय २० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाका लागि एभरेस्ट बैङ्क लिमिटेडको अगुवाइमा विभिन्न बैङ्क तथा वित्तीय संस्थासँग लगानी सम्झौता सम्पन्न भएको छ ।

आयोजनामा लगानी गर्ने कन्सोटिएम बैङ्कहरूमा सह अगुवाका रूपमा सानिमा बैङ्क छ भने प्राइम कमर्सियल बैङ्क, एनआईसी एसिया बैङ्क, र ग्लोबल आईएमई बैङ्क को–लिड बैङ्क छन् ।

त्यसै गरी सहभागी बैङ्कमा सिद्धार्थ बैङ्क, नबिल बैङ्क, नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क, कृषि विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क र कामना सेवा विकास बैङ्क छन् ।

कर्णाली प्रदेश कालिकोट जिल्लामा निर्माण हुने उक्त आयोजना अन्तर्गत तिलागुफा नगरपालिकाको धनाडामा बाँध तथा खाँडाचक्र नगरपालिकाको सेराबाडामा विद्युत् गृह निर्माण गरिने छ । दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा सञ्चालन गर्न सकिने अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको आयोजनाको कुल लागत ७० अर्ब ७ करोड बराबर छ ।

कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड बैङ्क तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइने छ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड स्वपुँजीबाट व्यवस्थापन गरिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर समेत छुट्टाएको छ । आयोजनाले ७ भदौ  २०७५ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने ७ कात्तिक २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेको छ ।

आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । सञ्चालनमा आएपछि सुक्खा याममा दैनिक ६ घण्टा पिकिङ क्षमतामा सञ्चालन हुने यो आयोजनाबाट कुल वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन हुने र त्यसमध्ये सुक्खा यामको पिक समयमा ४५१.०५ गिगावाट आवर, अफ पिक समयमा २०५.४५ गिगावाट आवर र वर्षा याममा १६६२.२९ गिगावाट आवर उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।

लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण चरण पूरा भएको छ । उच्च माग हुने समयमा विद्युत् उत्पादन गर्न सक्ने प्रकृतिको यस आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीको आपूर्तिमा थप योगदान पु¥याउने विश्वास गरिएको छ ।

यस आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसए लगायत संस्थागत तथा व्यक्तिगत लगानीकर्ता छन् । निर्माणका लागी जग्गा अधिग्रहण लगायतका काम सम्पन्न गरी सकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

खोलाले बगायो ४ बालिका: १ को शव फेला, २ बेपत्ता, १ जनाको उद्दार