दैलेख । रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा गएको बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सोसेक नेपालले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै सोसेक नेपालले सरकार, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी आपत्कालीन राहत, पुनर्स्थापना तथा मनोसामाजिक सहयोगका क्षेत्रमा आवश्यक भूमिका निर्वाह गर्ने जनाएको हो ।
बाढीबाट बस्ती, बजार, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको जनाउँदै संस्थाले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेको छ। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सोसेक नेपालले शोकसन्तप्त परिवारमा समवेदना तथा बेपत्ताको शीघ्र उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।
संस्थाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्नसमेत आग्रह गरेको छ।
दैलेखका पाँच जना अझै सम्पर्कविहीन
रसुवामा आएको बाढीपछि दैलेखका पाँच जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। डुङ्गेश्वर गाउँपालिकाका दुइ जना, भगवतीमाई गाउँपालिका र दुल्लु नगरपालिकाका एक–एक जना सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीन हुनेमा डुङ्गेश्वर गाउँपालिका–५ पोर्सिपाटाका तथा हाल रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा वडा सचिवका रूपमा कार्यरत प्रकाश आचार्य र टिमुरे, रसुवामा बस्दै आएकी डुङ्गेश्वर गाउँपालिका–३ की पवित्रा बुढामगर रहेका छन्।
त्यसैगरी भगवतीमाई गाउँपालिका–१ का रसुवामा कार्यरत कर्मचारी नरबहादुर थापा, दुल्लु नगरपालिका–१० का रसुवा भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी हवल्दार मोहन नाथ योगी र कामको सिलसिलामा रसुवा जाने क्रममा रहेका ४७ वर्षीय राजेन्द्र शाही पनि सम्पर्कविहीन रहेको बताइएको छ।
यसअघि सम्पर्कविहीन भनिएका डुङ्गेश्वर गाउँपालिका–३ का ताराकुमार बुढामगर र रसुवा हाइड्रोपावरमा कार्यरत २३ वर्षीय मिलन रावत भने सम्पर्कमा आइसकेको जनाइएको छ।
सम्पर्कविहीन भएका व्यक्तिका आफन्तले उनीहरूको अवस्था पत्ता लगाई शीघ्र खोज तथा उद्धार गरिदिन आग्रह गरेका छन्। परिवारजन बेपत्ताहरू सकुशल रहेको खबर सुन्न आतुर छन्। केही परिवारले आफन्तको सकुशल उद्धारको कामना गर्दै देवीदेवतासमक्ष भाकलसमेत गरिरहेका छन्।
सम्बन्धित समाचार
सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण
जाजरकोटमा बाढीले घर र पुल बगायो
जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
मन्त्री छनोटमा कुरा नमिल्दा कर्णालीमा शपथ कार्यक्रम स्थगित
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
बाढिले बगाउँदा बोलेरो चालक बेपत्ता
रसुवामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन






