कीर्तिपुरको आकाशमा जब गुञ्जियो ‘सपना भुलाई सारा…’

सपना भुलाई सारा
आँसु दिएर जाऊ
मन्दिरमा छ तिम्रै
तस्बिर लिएर जाऊ…

झन्डै पाँच दशकअघि रेडियो नेपालमा स्वरांकित यो गीत २० जनाभन्दा बढी गायकगायिकाका आवाजमा एकैपटक एउटै सूरतालमा गुञ्जिँदा स्वयं योगेश वैद्य पनि पुलकित भएर गाइरहेझैं प्रतीत हुन्थ्यो । मञ्चमा परिचित धुन थियो । केही क्षणअघिसम्म आपसमा कुराकानी गरिरहेका दर्शकका आँखा एकाएक मञ्चतिर सोझिए । स्वर नयाँ, प्रस्तुति नयाँ तर गीत उनै अग्रज गायक योगेश वैद्यको । शिव अधिकारीका शब्द नातिकाजी श्रेष्ठले संगीतमा उनेको यो कालजयी गीत युवापुस्ताका कलाकारले तीनै स्रष्टालाई समर्पण गरे ।

परिचित शब्द र धुनसँगै धेरैका आँखामा पुराना दिन झल्किए । मनमा दबिएर बसेका सम्झना फेरि जागृत भए । कीर्तिपुरस्थित नेपालभाषा एकेडेमीको अरनिको कक्षमा गएको शनिबार एउटा सांगीतिक युग सम्झिइँदै थियो । मञ्चमा योगेश वैद्य नभए पनि उनका स्वरलहरीमा सजिएका गीत धुन र संगीत बनेर सबैका मस्तिष्कमा उक्लिरहेका थिए ।

कलाकारका हरेक प्रस्तुति उत्तिकै जीवन्त महसुस हुन्थ्यो । उनीहरूका स्वर हुँदै अग्रज गायक वैद्यका कालजयी गीत दर्शकका मनसम्म पुगिरहेका थिए । यही अनुभूतिले कीर्तिपुर न्यामाँसिमास्थित अरनिको कक्ष केही घण्टाका लागि स्मृति र श्रद्धामा चुर्लुम्म डुब्यो ।

नेपालभाषा एकेडेमीद्वारा आयोजित विशेष सांगीतिक कार्यक्रम ‘कला व सिर्जना’ गायक तथा संगीतकार योगेश वैद्यको ८०औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो । उनीप्रतिको श्रद्धाञ्जलीमै कार्यक्रम सीमित रहेन, नेपाली तथा नेपालभाषा संगीत क्षेत्रमा उनले छाडेर गएका अमूल्य सांगीतिक विरासत नयाँ पुस्तामाझ फेरि सुनाउने र सम्झाउने अवसरसमेत बन्यो ।

गीत गुञ्जिनुअघि हलमा केहीबेर मौनता छायो । जनकवि दुर्गालाल श्रेष्ठ, कवि नारायणदेवी श्रेष्ठ, कथाकार सरस्वती तुलाधर तथा भोटेकोशी बाढीमा दिवंगतको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरियो । यो मौनता औपचारिकतामात्रै थिएन, मानिस भौतिकरूपमा नरहे पनि उसका सिर्जना र सम्झना बाँचिरहन्छन् भन्ने गहिरो अनुभूति थियो ।

योगेश वैद्य नेपाली सुगम संगीतका परिचित र आत्मीय नाम हुन् । उनको स्वरमा मिठास त छ नै, संगीतमा सरल भाव पनि उत्तिकै छ । नेपालभाषा र नेपाली सुगम संगीत दुवै क्षेत्रमा आफ्नै पहिचान बनाएका वैद्यका गीत यस्ता छन्, जसलाई समयले पुरानो बनाउन सकेको छैन । अग्रज गायक वैद्यको ८०औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनका १७ लोकप्रिय तथा कालजयी गीत फेरि मञ्चमा फर्किए । यसपटक ती गीत योगेश वैद्यको आफ्नै स्वरमा थिएनन् । उनलाई सम्मान गर्ने कलाकारका स्वरमा ती गीतले नयाँ जीवन पाएका थिए ।

कार्यक्रममा वीरप्रसाद भन्सारी, कृष्णमान डंगोल, जुजुकाजी रञ्जित, दीप तुलाधर, शेखर प्रधान, सत्यनारायण मानन्धर, तीर्थ माली, गुज्य मालाकार, पवित्र कसाः, सानुबाबु महर्जन, सतिश महर्जन, कविता जोशी, शान्तराज शाक्य, शुलिन शाक्य, सुरेन्द्र श्रेष्ठ, मथुरा महर्जन, जीवित जल्मी, रिता महर्जन, रत्नशोभा महर्जन, रानीशोभा महर्जन, राजेश महर्जन, सुविन श्रेष्ठ, मोहनशोभा महर्जन, राजेन्द्र डंगोल, रफेला महर्जनलगायतले वैद्यका गीत प्रस्तुत गरे ।

स्वर फरक भए पनि प्रस्तुति शैली एक थियो । जसमा कलाकारका आफ्नै अनुभूति र अभिव्यक्ति थिए । फरक प्रस्तुतिको केन्द्रमा भने एउटै नाम थियो– योगेश वैद्य । एकपछि अर्को गीत गुञ्जिँदै जाँदा दर्शक कहिले धुनसँगै बगे, कहिले शब्दसँगै भावुक बने । कुनै गीतले पुराना दिन सम्झाए भने कुनै धुनले बिर्सिसकेको समयको झल्को दिए । गीत योगेश वैद्यका भए पनि सम्झना फरक थिए ।

गीत जीवन्त बनाउने काम गायकको स्वरले मात्र गर्दैन । यसपछाडि वाद्यवादकको मेहनत, ताल, सुर र संयोजनको पनि उत्तिकै महइभ्वपूर्ण हात हुन्छ । तबलामा न्हुच्छे दर्शन, गिटारमा सञ्जु शाही र हार्मोनियममा गुज्य मालाकारका वाद्यवादनले प्रस्तुति जीवन्त र श्रवणीय बनाए । मञ्चमा देखिने कलाकार र पर्दापछाडिबाट संगीतलाई आकार दिने कलाकारबीचको यही सामञ्जस्यले कार्यक्रमले पूर्णता पायो ।

कार्यक्रमका सेतु निर्मल बज्राचार्यले योगेश वैद्यको सांगीतिक जीवनसँग जोडिएका रोचक प्रसंग उन्दै गीतका भावनात्मक दूरी जोडिरहे । दर्शकले गीत सुन्नुका साथै ती गीतका सर्जकको जीवनसंघर्ष र सांगीतिक यात्रा पनि सम्झने अवसर पाए । संगीतकारलाई सम्झने सबैभन्दा सुन्दर तरिका सम्भवतः उनको संगीत फेरि सुन्नु नै हो । अरनिको हलमा त्यस दिन यही अनुभूत भइरह्यो ।

अझ योगेश वैद्यका परिवारका सदस्यको उपस्थिति आफैंमा भावनात्मक क्षण बन्यो । उनका छोरा लोकेश वैद्य, छोरीहरू ज्यास्मिन र लभलिना तथा भाइ सुवास वैद्यको उपस्थित मिठो पारिवारिक माहोल बन्यो । मञ्चमा कलाकारले योगेश वैद्यका गीत गाइरहँदा उनीहरूका मनमा पारिवारिक स्मृति ताजा बन्न पुग्यो । एक समय घरको हिस्सा बनेको संगीत बिस्तारै समाजको साझा स्मृति बन्दा उनीहरूका मुहारमा छुट्टै आनन्दानुभूति प्रतीत हुन्थ्यो । पुस्तौंपुस्ता पार गर्दै सम्पदामा रूपान्तरित योगेश वैद्यको संगीत पनि अहिले यही यात्रामा छ । सोही अवसरमा लोकेश वैद्यले आफ्ना पिता योगेश वैद्यको आत्मवृत्तान्त ‘स्वर्णिम संस्मरण’समेत अर्पण गरे ।

योगेश वैद्यको सांगीतिक यात्रा उनको भौतिक उपस्थितिसँगै समाप्त भएको छैन । उनका गीत अझै गाइन्छन् । नयाँ पुस्ताका कलाकार ती गीतलाई आफ्नै स्वर र शैलीमा प्रस्तुत गरिरहेका छन् । नयाँ पुस्ताका श्रोता ती धुनसँग परिचित भइरहेका छन् । ‘कला व सिर्जना’ले यही सत्य फेरि प्रमाणित ग¥यो । वैद्यका गीतले उनीहरूलाई एउटै भावनामा बाँधेको महसुस गरायो ।

कार्यक्रम सकियो । मञ्चका बत्ती मधुरा भए । कलाकार बिस्तारै मञ्चबाट ओर्लिए । दर्शक आ–आफ्ना बाटो लागे । केहीबेरअघि अरनिको हलमा गुञ्जिएको योगेश वैद्यको धुन सायद धेरैका मनमा अझै बजिरहेको थियो । कुनै गीत घर फर्कने बाटोमा सम्झना बनेको होला । कुनै धुनले पुरानो समयको ढोका खोले होला । कुनै शब्दले एउटा सम्बन्ध वा अनुहार फेरि सम्झाए होला र कुनै गीतले एक स्रष्टाप्रति मौन सम्मान जगाएको होला । यहीकारण योगेश वैद्य भौतिकरूपमा नरहे पनि उनको संगीत अझै हामीबीच जीवन्त छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

कीर्तिपुरको आकाशमा जब गुञ्जियो ‘सपना भुलाई सारा…’