दैलेख । जंगलको कुनै कुनामा बिहान विस्तारै उज्यालो हुँदै गर्दा पालमुनिबाट धुवाँको मुस्लो निस्किन्थ्यो । वरिपरि बालबालिका खेलिरहेका हुन्थे । पुरुष काठका मुडा तानेर ल्याउँथे । कसैले बञ्चरो चलाउँथ्यो, कसैले बासुल्लो र छिनोले काठ कुँदिरहेको हुन्थ्यो । काठमा औजार ठोक्किँदाको टकटक र ठकठक आवाजले राउटे बस्तीमा नयाँ दिन सुरु आभाष दिन्थ्यो । त्यो आवाज काठ कुँदिएको आवाजमात्रै थिएन, त्यो उनीहरूको पुस्तौंदेखि पुस्तान्तरण हुँदै आएको पहिचान थियो ।
‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे बस्तीमा आज पैसैसँग पसेको मदिराले खोस्दै छ जीवन
आज त्यही बस्तीमा पुग्दा दृश्य फेरिएको छ । पाल उस्तै छन्, जंगल उस्तै छ, बालबालिकाका अनुहार उस्तै देखिन्छन् । बस्तीको आवाज भने बदलिएको छ । बञ्चरो, बासुल्लो र छिनोको आवाज क्रमशः कमजोर हुँदै गएको छ । कतिपय ठाउँमा त्यसको सट्टा मदिराको बोतल ठोक्किएको आवाज सुनिन्छ । नशामा लर्बराएका युवाका असन्तुलित बोली सुनिन्छन् । कतै बिरामी शरीर लिएर मानिस पालभित्र पल्टिएका भेटिन्छन् । कतै आमाको काखमा बच्चा भोकले रोइरहेको हुन्छ । कतै श्रीमान् गुमाएकी महिला मौन बसिरहेकी छन् ।
राउटे बस्तीमा आएको यो परिवर्तन सामान्य होइन । यो एउटा समुदायको जीवनपद्धतिमा आएको गहिरो विचलन हो । कुनै समय जंगललाई घर र श्रमलाई जीवन ठान्ने यो समुदाय अहिले मदिराको गम्भीर समस्यासँग जुधिरहेको छ । मदिरा उनीहरूको बस्तीमा पेयपदार्थका रूपमा आएको छैन । यसले विस्तारै शरीर र बालबालिकाको भविष्यसमेत जोखिममा पारेको छ । पुस्तौंदेखि जोगिँदै आएको सांस्कृतिक जीवनपद्दतिसमेत भित्रैदेखि कमजोर बनाउँदै लगेको छ ।
दुई दशकअघिको राउटे समुदाय सम्झिँदा आजको अवस्था झन् पीडादायी लाग्छ । २०६३ सालतिर दैलेखका जंगलमा राउटे महामुखिया महिनबहादुर शाहीको कडा अनुशासन चल्थ्यो । त्यो समय राउटे समुदाय बाहिरी संसारसँग निकै सीमित सम्पर्कमा थियो । गैरराउटे मानिसका लागि राउटे बस्तीमा प्रवेश गर्नु सहज थिएन । उनीहरूको आफ्नै नियम थियो, आफ्नै संसार थियो र त्यही संसारभित्र उनीहरू आफूलाई स्वतन्त्र राख्न चाहन्थे । उनीहरू आफूलाई जंगलको राजा ठान्थे । बाहिरी समाजको हस्तक्षेप उनीहरूका लागि सहज थिएन ।
त्यो समय राउटे गर्वसाथ भन्थे, ‘हामी पैसा छुँदैनौं, पैसा छोए पाप लाग्छ ।’ यो वाक्य अहिले सुन्दा असाधारण लाग्न सक्छ । त्यतिबेला यो उनीहरूको जीवनको वास्तविकता थियो । उनीहरूको अर्थतन्त्र नगदमा होइन, श्रममा आधारित थियो । काठका भाँडाकुँडा बनाउनु, गाउँघरमा पुगेर ती सामग्री अन्नसँग साट्नु र त्यही अन्नबाट परिवार चलाउनु उनीहरूको पुस्तौंदेखिको अभ्यास थियो । काठको एउटा भाँडो तयार गर्न उनीहरूले खर्च गरेको समय, सीप र श्रमको मूल्य अन्नमा प्राप्त हुन्थ्यो । नगद उनीहरूको जीवनको आवश्यकता थिएन । उनीहरूको आत्मनिर्भरता नै उनीहरूको गौरव थियो ।
राउटे बस्तीमा त्यस समय पुग्दा उनीहरूको श्रम देखिन्थ्यो । बिहानैदेखि पुरुष काठ खोज्न जंगलतिर लाग्थे । फर्किएपछि काठलाई आकार दिन थाल्थे । बञ्चरो, बासुल्लो र छिनो उनीहरूको हातमा खेल्थे । काठको टुक्रा बिस्तारै भाँडामा बदलिन्थ्यो । त्यो भाँडो गाउँमा पुग्थ्यो र अन्नमा परिणत हुन्थ्यो । फेरि त्यही अन्न परिवारको भान्सामा पुग्थ्यो । यही सरल चक्रमा उनीहरूको जीवन चल्थ्यो । त्यो जीवन आधुनिक आँखाले हेर्दा अभावपूर्ण थियो होला, उनीहरूको आफ्नै दृष्टिमा त्यो स्वतन्त्र जीवन थियो । उनीहरूका लागि स्थायी घरभन्दा खुला जंगल प्रिय थियो । खेतीपातीभन्दा फिरन्ते जीवन सहज थियो । अक्षरभन्दा अनुभव महत्त्वपूर्ण थियो । पैसा भन्दा श्रम ठूलो थियो । समय सधैं एउटै रहँदैन ।
राउटे र बाहिरी समाजबीचको दूरी विस्तारै घट्दै गयो । गैरसरकारी संस्था उनीहरूको बस्तीमा पुग्न थाले । सञ्चारमाध्यमले उनीहरूको जीवन संसारसामु देखाउन थाले । सरकारी निकायले उनीहरूलाई राज्यको मूलधारमा जोड्ने प्रयास अघि बढाए । स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र नागरिक पहिचानका विषय उनीहरूको जीवनमा प्रवेश गर्न थाले । जुन समुदाय लामो समयसम्म राज्यको औपचारिक संरचनाबाट टाढा थियो, ऊ विस्तारै राज्यको अभिलेखमा आउन थाल्यो । यो परिवर्तन आवश्यक थियो । राउटे पनि यही देशका नागरिक हुन् । उनीहरूलाई राज्यले पहिचान दिनुपर्छ, अधिकार दिनुपर्छ, स्वास्थ्य सेवा दिनुपर्छ र सामाजिक सुरक्षा प्रदान गर्नुपर्छ । परिवर्तनसँगै आउने नयाँ जोखिमका लागि भने पर्याप्त तयारी हुन सकेन ।
राउटे समुदायको जीवनमा पैसा प्रवेश ग¥यो । सामाजिक सुरक्षा भत्ताका रूपमा नियमित नगद हातमा आउन थाल्यो । बाहिरी बजारसँगको सम्बन्ध विस्तार भयो । नगदबाट सामान खरिद गर्न थालियो । तस्वीर खिचाउँदा समेत पैसा माग्ने अवस्था आयो । हिजोसम्म ‘पैसा छोए पाप लाग्छ’ भन्ने समुदायका मानिसका लागि नगद बिस्तारै जीवनको आवश्यक माध्यम बन्न थाल्यो । पैसासँगै अर्को वस्तु पनि उनीहरूको जीवनमा गहिरोसँग प्रवेश ग¥यो । त्यो हो–मदिरा । यहीँबाट राउटे बस्तीको एउटा नयाँ दुःखद अध्याय सुरु भएको देखिन्छ । मदिरा बिस्तारै उनीहरूको दैनिक जीवनको हिस्सा बन्न थाल्यो । बाहिरी बजारमा सहजै पाइने मदिरा उनीहरूको पहुँचमा पुग्यो । सामाजिक सुरक्षा भत्ताबाट आएको नगद कतिपय अवस्थामा मदिरा खरिदमा खर्च हुन थाल्यो । श्रमबाट टाढिँदै गएको पुस्ता र हातमा सहजै आएको पैसाबीच मदिराले आफ्नो ठाउँ बनाउँदै गयो । यसको असर पहिले शरीरमा देखियो । त्यसपछि परिवार, बालबालिकामा । विस्तारै सम्पूर्ण समुदायको जीवनपद्दतिसम्म पुग्यो ।

मेरो राउटे समुदायसँग जोडिएको दुई दशक लामो यात्राले यो परिवर्तन नजिकबाट हेर्ने अवसर दिएको छ । मेरो पत्रकारिता र राउटे समुदायसँगको सम्बन्ध आजको मात्र होइन, माओवादी द्वन्द्वको त्यो कठिन समयदेखिको हो । द्वन्द्वबीच एउटा ‘डकुमेन्ट्री’ निर्माणक्रममा कुशल क्यामराम्यान कृष्ण ओम थापासँग मेरो भेट भयो । उनी कन्टेम्पोररी नेपालका क्यामराम्यान हुन् । द्वन्द्वको जोखिमपूर्ण परिवेशमा क्यामेराले दृश्य खोजिरहेको थियो र पत्रकारिताले सूचना खोजी गरिरहेको थियो । त्यही सहकार्यले लामो यात्राको आधार तयार ग¥यो ।
विसं २०६३ देखि म कन्टेम्पोररी भिजन नेपालसँग जोडिएँ । त्यही क्रममा राउटे समुदायसँग मेरो निकटता बढ्दै गयो । त्यस समय राउटे बस्तीमा गैरराउटे मानिसका लागि प्रवेश सहज थिएन । फोटो खिच्नु झन् कठिन विषय थियो । अहिले पनि कहिलेकाहीँ ‘त्यो कडा अनुशासन र स्वाभिमानको समय महामुखिया महिनबहादुर शाहीको तस्बिर कसरी खिचिएको होला ?’ भन्ने मनमा प्रश्न जाग्छ ।
कन्टेम्पोररी भिजन नेपालका सञ्चालक तथा निर्दे शक हरि थापाले महामुखिया महिनबहादुर शाहीको ऐतिहासिक तस्बिर खिचेको त्यो क्षण आज पनि मेरो मानसपटलमा ताजा छ । त्यो तस्बिर हेर्दा म एउटा व्यक्तिको अनुहारमात्र देख्दिन“ । त्यहाँ एउटा युग देख्छु । आफ्नै नियममा बाँचेको एउटा समुदाय देखिन्छ । बाहिरी संसारसँग दूरी कायम राखेर पनि आफ्नो पहिचानप्रति गर्व गर्ने मानिस देखिन्छ । आज त्यही समुदायको अनुहार हेर्दा समयले धेरै कुरा बदलिसकेको अनुभूत हुन्छ ।
कुनै समय राउटे बस्तीमा बिहानदेखि काठ कुँद्ने आवाज सुनिन्थ्यो । आज कतिपय बस्तीमा मदिराको नशामा मात्तिएको आवाज सुनिन्छ । कुनै समय श्रम जीवनको आधार थियो । आज कतिपय मानिसका लागि हातमा आएको नगद र त्यसबाट खरिद हुने मदिरा जीवनको नियमित हिस्सा बनेको छ । काठका भाँडाकुँडा बनाउने परम्परागत सीप क्रमशः कमजोर हुँदै गएको छ । यो एउटा सीप हराउँदै गएकोभन्दा पनि काठको भाँडा बनाउने सीपसँगै त्यससँग जोडिएको अर्थतन्त्र, श्रम संस्कार, आत्मनिर्भरता र सांस्कृतिक ज्ञान पनि हराउँदै गएको छ । एउटा पुस्ताले अर्को पुस्तालाई ‘बञ्चरो कसरी चलाउने, काठ कसरी छान्ने, भाँडाको आकार कसरी निकाल्ने र त्यसलाई गाउँमा कसरी साट्ने ?’ भन्ने कुरा सिकाउँथ्यो । अब नयाँ पुस्ता त्यो परम्परासँग उति नजिक छैन । मदिराले श्रम गर्ने क्षमता र इच्छा दुवैलाई कमजोर बनाउँदा यो सांस्कृतिक हस्तान्तरण प्रक्रिया पनि प्रभावित भइरहेको छ ।
राउटे समुदायलाई राज्यको मूलधारमा ल्याउने कामसँगै परिचयपत्र बनाउने प्रयास पनि अघि बढ्यो । विसं २०७५ सालमा राउटे समुदायका सदस्यका तस्बिर खिच्ने र परिचयपत्र बनाउन सहयोग गर्ने काममा मेरो पनि सहभागिता रह्यो । सहयोगी रिताकुमारी शाहीसँग मिलेर गुराँस गाउँपालिका तथा गैरसरकारी संस्थाको सहयोगमा यो काम अघि बढाइएको थियो । ‘राउटे पनि यही देशका नागरिक हुन् भन्ने कुरा राज्यको अभिलेखमा स्पष्टरूपमा स्थापित गर्नु र उनीहरूले राज्यबाट पाउने सेवा–सुविधा सहजरूपमा प्राप्त गर्न सकून्’ भन्ने उद्देश्य थियो ।
कर्णाली र सुदूरपश्चिमका विभिन्न जंगलमा घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन गुराँस गाउँपालिकासँग जोडिएको व्यवस्था पनि यही प्रक्रियाको एउटा परिणाम हो । उनीहरू जहाँ पुगे पनि गुराँस गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरिएको छ । राज्यको दृष्टिले यो महइभ्वपूर्ण उपलब्धि हो । ‘राज्यबाट सुविधा त पुग्यो, त्यस सुविधासँगै सुरक्षित जीवन जिउने आधार र चेतना पर्याप्तरूपमा पुग्यो कि पुगेन ?’ भन्ने आज एउटा अर्को प्रश्न पनि उठेको छ ।
सामाजिक सुरक्षा भत्ता आफैंमा समस्या होइन । राज्यले नागरिकलाई दिएको अधिकार र सुरक्षा हो । समस्या त्यो रकम प्रयोग हुने परिवेशमा छ । ‘नगद अर्थतन्त्रसँग लामो समयदेखि परिचित नभएको समुदायमा अचानक आएको पैसा कसरी सुरक्षितरूपमा व्यवस्थापन गर्ने ?’ भन्ने प्रश्नमा पर्याप्त ध्यान पुगेको छैन । बाहिरी बजारसँगको सम्बन्ध बढ्यो, उपभोगका नयाँ वस्तु पुगे र त्यहीक्रममा मदिरा पनि सहज भइदियो ।
राउटे समुदायमा मदिराको असर आज गम्भीर स्वास्थ्य संकटका रूपमा देखिन थालेको छ । विसं २०७५ सालदेखि सोसेक नेपालले राउटे समुदायमा जन्म र मृत्युको अभिलेख राख्दै आएको छ । उपलब्ध अभिलेखअनुसार २०७५ सालयता मदिरा सेवनसँग सम्बन्धित कारण ५३ जनाको मृत्यु भएको छ । कलेजोमा सिरोसिसजस्ता दीर्घरोग, अत्यधिक मदिरा सेवनपछि नशामा लट्ठिएर भीरबाट खस्ने, आगलागीमा पर्नेजस्ता घटनाले राउटे समुदायका मानिसको ज्यान जाने गरेको छ ।
‘५३ जना’ एउटा तथ्यांकमात्रै हो । यो तथ्यांकपछाडि ५३ परिवार छन् । उनीहरूका कसैले श्रीमान् गुमाएका छन्, कसैले बाबु गुमाएका छन्, कसैले आमा गुमाएका छन् । कतिपय बालबालिकाले आफ्नो जीवनको सुरुवातमै अभिभावक गुमाएका छन् । मृत्युपीडा यतिमै सीमित छैन । एउटा परिवारको कमाउने सदस्यको मृत्यु हुँदा परिवारको आर्थिक अवस्था कमजोर हुन्छ । बच्चाको हेरचाह प्रभावित हुन्छ । पोषण समस्या बढ्छ । बिरामीको उपचार सम्भव हुँदैन । त्यसपछि अर्को समस्या जन्मिन्छ । यसरी एउटा मृत्युले अर्को जोखिमको ढोका खोल्न सक्छ ।
मदिराको असर गर्भमा रहेको बच्चासम्म पुग्नु झन् गम्भीर विषय हो । गर्भावस्थामा समेत महिलाले मदिरा सेवन गर्ने अवस्था देखिनु र जन्मिएपछि नवजात शिशुको उचित हेरचाह हुन नसक्नुले बालबालिकाको जीवन जोखिममा पारिरहेको छ । विसं २०७५ सालयता २५ नवजात शिशुको मृत्यु भएको तथ्यांकसमेत पाइएको छ ।
एउटा नवजात शिशुको मृत्यु परिवारको दुःखस“गै त्यो एउटा सम्भावनाको मृत्यु हो । त्यो बच्चा भोलि आफ्नो समुदायको संस्कृति जोगाउने पुस्ता बन्न सक्थ्यो । पुर्खाको सीप सिकेर अगाडि बढ्न सक्थ्यो । समुदायको नेतृत्व गर्न सक्थ्यो । उसको जीवन सुरु हुन नपाउँदै समाप्त हुन्छ । राउटे बस्तीमा पुग्दा यस्ता तथ्यांक कागजमा पढेजस्तो लाग्दैनन् । त्यहाँ ती तथ्यांक अनुहार बनेर भेटिन्छन् । कमजोर आमाको काखमा रोइरहेको बच्चा बनेर भेटिन्छन् । पालको कुनामा बिरामी भएर पल्टिएको मानिस बनिदिन्छन् । श्रीमान् गुमाएकी महिलाको मौन अनुहार बनेर उभिदिन्छन् । हरियो घाँस वा कपडाको त्रिपमुनि भोकले रोइरहेका बालबालिका देख्दा मनमा अनेक प्रश्न उठ्छन् । जंगलबीच उनीहरूका पाल देखिन्छन् । ‘ती पालभित्रको पीडा बाहिरी संसारले कति बुझेको छ ? हामीले राउटेको जीवन कतिपटक ‘रोचक’ भनेर हे¥यौं, उनीहरूको पीडा कति गहिराइमा बुझ्ने प्रयास ग¥यौं ?’
राउटेलाई हामीले लामो समयसम्म ‘जंगलका राजा’, ‘अन्तिम फिरन्ते’ वा ‘दक्षिण एसियाको अन्तिम भ्रमणशील समुदाय’ भनेर चिन्यौं । उनीहरूको फरक जीवनशैलीले हामीलाई आकर्षित ग¥यो । उनीहरूको तस्वीर खिच्यौं । उनीहरूको ’boutमा लेख्यौं । उनीहरूको संस्कृति संसारलाई देखायौं । अहिले उनीहरूको अर्को तस्वीर पनि देखाउनुपर्ने बेला आएको छ ।
अब राउटे बस्तीमा क्यामेरा बढी प्रभावकारी हुन सक्छ । उनीहरूकै समुदायका मानिस मदिराका कारण बिरामी भएको दृश्य देखाउन सकिन्छ । मदिराका कारण ज्यान गुमाएका परिवारको पीडा देखाउन सकिन्छ । नशामा लट्ठिएर भीरबाट खसेकाहरूको कथा, आगलागीमा ज्यान गुमाएकाको परिवार, कलेजोको रोगले थलिएका मानिस, मदिराका कारण बालबालिकाले भोगेको पीडा देखाउन सकिन्छ । यससँगै स्वस्थ जीवनशैली र पोषणयुक्त खानाको महइभ्व देखाउनुपर्छ । ‘सरसफाइको महइभ्व र गर्भवतीको स्वास्थ्य तथा नवजात शिशुको हेरचाह कसरी गर्ने ?’ भन्ने सरल दृश्यबाट बुझाउन सक्नुपर्छ ।
राउटे समुदायका लागि अब बस्तीमै पुग्ने ‘भिडियो अभियान’ आवश्यक देखिन्छ । यो अभियान एकपटक भिडियो देखाएर सकिने कार्यक्रम हुनु हुँदैन । राउटे जहाँ सर्छन्, अभियान पनि उनीहरूसँगै पुग्नुपर्छ । उनीहरूको भाषा र सांस्कृतिक संवेदनशीलता बुझेर सामग्री तयार गर्नुपर्छ ।
बाहिरी मानिसले उनीहरूलाई उपदेश दिनेभन्दा उनीहरूकै समुदायका मानिसले आफ्नो अनुभव सुनाउने सामग्री बढी प्रभावकारी हुन सक्छ । मदिराले ज्यान गुमाएका व्यक्तिका परिवारले आफ्नो कथा आफैँ सुनाउन सकून् । उनीहरूले आफ्ना आफन्तको मृत्युबाट के गुमाए भन्ने कुरा अरूले सुनून् । बिरामी भएकाहरूले आफ्नो शरीरमा परेको असर बताऊन् । बालबालिकाका अवस्था देखियोस् । त्यसबाट अर्को पुस्ताले सिक्न सकोस् ।
बाहिरी दृश्यले कहिलेकाहीँ कानले सुनेको भाषणभन्दा गहिरो प्रभाव पार्छ । राउटे समुदायलाई संरक्षण गर्ने विषयमा पनि हामीले संवेदनशील भएर सोच्न आवश्यक छ । उनीहरूलाई आधुनिक समाजको ढाँचामा जबर्जस्ती ढाल्नु संरक्षण होइन । उनीहरूको भाषा, संस्कृति, परम्परा, सामाजिक संरचना, काठका भाँडाकुँडा बनाउने सीप र फिरन्ते जीवनको ऐतिहासिक ज्ञान जोगाउँदै उनीहरूको स्वास्थ्य र जीवन सुरक्षित बनाउनु आवश्यक छ । उनीहरूलाई परिवर्तन गर्नुभन्दा पहिले बुझ्नुपर्छ । उनीहरूमाथि निर्णय थोपर्नुभन्दा पहिले उनीहरूसँग संवाद गर्नुपर्छ । उनीहरूको संस्कृति नष्ट गरेर उनीहरूलाई बचाउन सकिँदैन । तर संस्कृति जोगाउने नाममा उनीहरूलाई मदिरा, रोग, भोक र अकाल मृत्युको अवस्थामा छाड्न पनि सकिँदैन ।
राउटे समुदाय हरायो भने नेपालको सांस्कृतिक इतिहासको जीवित अध्याय पनि हराउने छ । काठसँग सम्बन्धित उनीहरूको अद्वितीय सीप हराउने छन् । जंगलसँग सहअस्तित्वमा बाँचेको एउटा जीवनदर्शन हराउने छ । पुस्तौंदेखि मौखिकरूपमा हस्तान्तरण हुँदै आएको ज्ञान हराउनेछ । त्यसैले राउटेलाई बचाउने कुरा केवल एउटा समुदायलाई बचाउने कुरा होइन । यो नेपालको सांस्कृतिक विविधतालाई बचाउने कुरा पनि हो ।
दुई दशक लामो यात्राले मलाई एउटा फरक परिचय पनि दिएको छ । दैलेख सदरमुकाममा भेटिने कतिपय मानिसले मलाई मेरो पत्रकारिता पेशाभन्दा बढी आत्मीयतासाथ ‘राउटे पत्रकार’, ‘राउटे मुखिया’ वा ‘राउटे भान्जा’ भनेर बोलाउँछन् । यी शब्द सुन्दा मलाई गर्व लाग्छ । यी सम्बोधन राउटे समुदायसँगको लामो सम्बन्ध, उनीहरूका तस्बिर खिच्ने काम, उनीहरूको जीवन नजिकबाट बुझ्ने प्रयास र उनीहरूका आवाज बाहिरी समाजसम्म पु¥याउने पत्रकारिताको यात्राबाट बनेका हुन् । यही आत्मीयताले अहिले मनमा अर्को पीडा पनि थपिदिएको छ ।
आफ्नै आँखाले लामो समयदेखि हेर्दै आएको एउटा समुदायलाई विस्तारै बदलिँदै, कमजोर हुँदै र अकाल मृत्युको चपेटामा पर्दै गरेको देख्नु सजिलो छैन । म अझै पनि त्यो पुरानो राउटे बस्ती सम्झन्छु । बिहानी चिसो हावा, पालवरिपरि खेलिरहेका बालबालिका, काठमा चलिरहेको बञ्चरो, छिनोको टकटक, बासुल्लोको आवाज र श्रममा विश्वास गर्ने मानिसहरूको अनुहार । त्यो आवाज औजारमात्रै थिएनन्, त्यो राउटे जीवनको धड्कन थियो । आज त्यो धड्कन मन्द हुँदै गएको छ । मदिराले उनीहरूको शरीरलाई मात्र कमजोर बनाएको छैन । उसले श्रमको संस्कार कमजोर बनाएको छ ।
अब राउटे बस्तीमा पुग्ने पत्रकारिता पनि बदलिनुपर्छ । राउटेका तस्बिरमात्र होइन, उनीहरूको जीवनको सत्य देखाउनुपर्छ । नृत्यमात्र होइन, दुःख पनि देखाइनुपर्छ । राउटे बस्तीमा अब क्यामेरामात्रै होइन, स्वास्थ्यकर्मी पनि पुग्नुपर्छ । सिंहदरबारका कोठामा बसेर बनाइएको नीति पालमुनि पुगेर व्यवहारमा नबदलिँदासम्म त्यसको अर्थ हुँदैन । राउटेको भविष्य फाइलमा होइन, बस्तीमै सुरक्षित गर्नुपर्छ । आज पनि दैलेखका जंगलमा कतै राउटे बस्ती छ । पाल, बालबालिका, काठका केही टुक्रा, बञ्चरो छन् । ती सबैबीच मदिराका बोतल पनि छ । त्यो बोतललाई वस्तुका रूपमा हेर्ने हो भने हामीले गम्भीर खतरा बुझ्न सक्दैनौं । त्यसभित्र एउटा समुदायको कमजोर हुँदै गएको स्वास्थ्य देखिन्छ । त्यसभित्र एउटा परिवारको भविष्य देखिन्छ ।
अझै समय घर्किसकेको छैन । मदिराको डढेलो निभाउन सकिन्छ । राउटे युवालाई फेरि श्रमसँग जोड्न सकिन्छ । काठका भाँडाकुँडा बनाउने परम्परालाई संरक्षण गर्न सकिन्छ । बालबालिकालाई पोषण र सुरक्षित वातावरण दिन सकिन्छ । महिलाको स्वास्थ्यमा विशेष ध्यान दिन सकिन्छ । सामाजिक सुरक्षा भत्ताको सुरक्षित र सदुपयोगी प्रयोगका लागि समुदायमै आधारित कार्यक्रम बनाउन सकिन्छ । सबैभन्दा महइभ्वपूर्ण कुरा, राउटे समुदायसँग उनीहरूकै भाषा र अनुभवमा संवाद गर्न सकिन्छ । त्यसका लागि अब बस्तीमै पुग्ने निरन्तर भिडियो अभियान आवश्यक छ ।
भोलि राउटेबस्तीको एउटा पाल खाली भयो भने त्यो एउटा परिवारको घर खाली हुनेमात्रै कुरा होइन, नेपालको सांस्कृतिक इतिहासको पाना च्यातिनु पनि हो । आज मदिराका बोतलले राउटेको जीवनका पाना च्यातिरहेको छ । अब त्यो रोक्नुपर्छ । बस्तीमा फेरि बञ्चरोको आवाज सुनिनुपर्छ । काठमा फेरि छिनो चल्नुपर्छ । पालमुनि फेरि श्रमको कथा जन्मिनुपर्छ । बालबालिकाको रुवाइभन्दा भविष्यको हाँसो ठूलो हुनुपर्छ । जंगलको शान्तिमा फेरि राउटे जीवनको आफ्नै पुरानो धुन सुनिनुपर्छ ।










