काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ । क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवलगायतका कारण कप्तानमा सन्दीपको पुनरागमन सम्भव भयो । क्यानले एकदिवसीय टोलीमा कप्तानमात्र नभई केही खेलाडीसमेत परिवर्तन गरेको थियो । कप्तानमा नियुक्त भएलगत्तै उनको सामु सर्वाधिक ठुलो चुनौती थियो, एसीसी एसिया कपमा छनोट हुनु ।
नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीबीच पनि सन्दीपले दुईवटै भूमिकामा उत्कृष्ट प्रदर्शन गरे । उनी नेतृत्वको नेपालले एसीसी प्रिमियर कप २०२६ मा कुल छ खेल खेल्यो । जसमा नेपालले पाँचमा जित र एक खेलमा मात्र पराजय व्यहोयो । समूह विजेताको हैसियतामा टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पनि सानदार प्रदर्शन गरेर नेपालले सहजै फाइनलमा स्थान सुरक्षित गर्यो ।
फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै उपाधिमात्र जितेन दोस्रोपटक एसिया कपमा पनि स्थान बनायो । नेपालले एसिया कपको यात्रा गर्नुमा कप्तान लामिछानेको भूमिका प्रमुख रह्यो । उनले बलिङमा हरेक खेलमा विपक्षी टोलीविरुद्ध दबाब राखेका थिए ।
सन्दीपले प्रतियोगिताको छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । टोलीको सफलतामा निर्णायक प्रदर्शन गरेका कप्तान लामिछाने प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनी एकदिवसीय ढाँचाको एसीसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘सर्वोत्कृष्ट खेलाडी’ चयन भएका हुन् ।
कप्तान लामिछानेले सन् २०२३ को संस्करणमा पनि उक्त अवार्ड प्राप्त गरेका थिए । उनले यसपटक व्यक्तिगत प्रदर्शनमात्र नभई कप्तानको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दा नेपालले उपाधि जित्न सफल भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीको भनाइ छ ।
“नेपालले अब विश्वकप लिग–२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ । जुन सिरिजमा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ । यी दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा त्यति उत्कृष्ट छैन । एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीमा आत्मविश्वास उच्च छ । नेपालले त्यसको फाइदा उठाउन सक्छ”, पूर्वखेलाडी चौधरीले भने ।
ताजा अवस्थामा नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेल खेल्दा १९ मा हार र ११ खेलमा जित निकालेको छ । नेपालले दुई खेलमा भने अङ्क बाँडेको छ । शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ । नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ ।
सम्बन्धित समाचार
कीर्तिमानी मूल्यमा चेल्सीबाट म्यानचेस्टर सिटी आबद्ध भए फर्नान्डेज
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो
एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य
एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
ओलम्पियाडमा नेपाली बुद्धिचाल खेलाडीको परीक्षा
डेभिड वार्नरले एनपीएल खेल्ने, काठमाडौं गोर्खाजमा आबद्ध
एसियन गेम्स खेल्ने नेपाली टोली घोषणा, को–को परे ?






