डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार (आज) बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाइँदै छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पर्व हरेक वर्ष असोज संक्रान्तिका दिन यहाँका गाउँ बस्तीमा परम्परागत रूपमा मनाउने गरिन्छ । विशेष गरी डडेल्धुरा, बैतडी, डोटी, अछामलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा बुढी पोल्ने चलन छ । बुढी पोलेपछि देउडा खेल्ने भएकाले यस पर्वले धार्मिक अनुष्ठानसँगै स्थानीय कला, संस्कृति र सामुदायिक सम्बन्धलाई समेत जोड्ने गरेको छ ।
धार्मिक मान्यताअनुसार द्वापर युगमा कंसको आदेशमा भगवान् श्रीकृष्णलाई विष खुवाएर मार्न पुगेकी राक्षसी पूतनालाई श्रीकृष्णले वध गरेको सम्झनामा बन्ढुनी पर्व मनाउने गरिन्छ । भदौ सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन लिङ्गो ठड्याएर रुखका हाँगा, सल्लाका काठ तथा विभिन्न वनस्पति थुपारी बनाइएको बन्ढुनीलाई असोज सङ्क्रान्तिको साँझ वा राति जलाउने परम्परा छ ।
स्थानीय बासिन्दाले यस दिन गाईबस्तुको गोठ तथा गोबर थुपार्ने स्थानलाई विशेष रूपमा सजाउने गर्छन् । काँस, अम्रिसो लगायत पाँच जातका घाँसले बेरेर सल्लाको दियालोबाट राँको बनाइन्छ । त्यसैबाट बन्ढुनीमा आगो लगाएर जलाउने चलन छ । बन्ढुनी जलाउँदा स्थानीय भाषामा ‘गाईबाच्छी पाल, बुढी निकाल, थुई बुढी थुई’ भन्दै काँक्रो मुखमा हालेर फाल्ने तथा बन्ढुनी जलाउने परम्परा रहेको स्थानीय बताउँछन् ।
बन्ढुनी पोल्नुअघि काँसबाट बनाइएको गौराको आकृति गोबर थुपारिएको स्थानमा राख्ने चलनसमेत छ । बारीमा रहेका फलफूलका प्रत्येक रुखमा काँसको लुँडी बनाएर राख्ने परम्परा पनि रहेको पण्डित लोकराज भट्टले बताए । उनका अनुसार काँसको लुँडी राख्दा फलफूलका रुख नसुक्ने र राम्रो फल लाग्ने जनविश्वास छ । बन्ढुनी जलाएपछि बाँकी रहेको खरानीको तिलक गाईबस्तुलाई लगाउने चलन पनि रहेको छ । यसो गर्दा गोठमा पालिएका पशु चौपायामा रोग व्याधि नलाग्ने धार्मिक विश्वास रहेको उनले बताए ।
डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा बन्ढुनी पर्वका अवसरमा रातभर देउडा खेल्ने परम्परा छ । तिलाडी, पर्केउडा र भाटा गाउँ, भट्टराई टोलबाट बाजागाजासहित स्थानीय जम्मा भएर बन्ढुनी पोल्ने गरिन्छ । धामीले सल्लाको दियालोबाट राँको बनाएर देवदेवीका नारा लगाउँदै बन्ढुनी पोल्ने परम्परा रहेको स्थानीय धामी लक्ष्मण कैनीले बताए ।
उनका अनुसार पोखरामा परम्परागत रूपमा बिहान करिब ४ बजेको समयमा बन्ढुनी पोल्ने गरिन्छ । त्यसअघि रातभर देउडा खेल्ने र बाजागाजासहित धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने गरिएको छ । कतिपय स्थानमा बन्ढुनी जलाइसकेपछि वारिपारिका गाउँका मानिसले एक अर्कालाई ‘लुतो लैजाऊ’ भन्ने चलनसमेत रहेको उनले बताए । बन्ढुनी पर्व मनाउन स्थानीय बासिन्दाले बिहानैदेखि नुहाई धुवाइ गरी शुद्ध भएर पर्व मनाउने गर्छन् ।
ऋतु परिवर्तनको सङ्केत
असोज सङ्क्रान्तिलाई स्थानीय समुदायले ऋतु परिवर्तनको सङ्केतका रूपमा समेत लिने गरेको पाइन्छ । असोज १ गतेदेखि शरद ऋतु सुरु भएको मानिन्छ । बन्ढुनी पोलेपछि राति वा भोलिपल्ट बिहानसम्म पानी परे ‘गाई अर्थात् लक्ष्मीले जितेको’ र पानी नपरे ‘बुढीले जितेको’ भन्ने स्थानीय भनाइसमेत रहेको धामी कैनीले बताए ।
सदियौँदेखि चल्दै आएको बन्ढुनी पर्व पछिल्लो समय धार्मिक अनुष्ठानमा मात्र सीमित नरही स्थानीय संस्कृति र सामाजिक एकताको पर्वका रूपमा समेत विकसित हुँदै गएको छ । पर्वका अवसरमा डडेल्धुराका विभिन्न स्थानमा देउडा तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ । स्थानीय मौलिक परम्परा, धार्मिक विश्वास, देउडा संस्कृति र सामुदायिक सहभागितालाई एकै ठाउँमा जोड्ने भएकाले बन्ढुनी पर्व सुदूरपश्चिमको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ ।
सम्बन्धित समाचार
सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै
बाढीमा सुदूरपश्चिमका १५० जना अझै बेपत्ता
डीएनए परीक्षणले खुलायो बाबुको हत्यामा छोराहरुकै संलग्नता
१० दिनमा १,२९४ शव फेला, ५ हजार ८३ अझै बेपत्ता
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको उच्च जोखिम
केएमसीका तीन हजार विद्यार्थीले ‘एक चिहान’ नाटक गरे अवलोकन
वरिष्ठ पत्रकार युवराज गौतमको निधन
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा






