कोल्टी–मार्तडी सडकमा जहिल्यै सास्ती

बाजुरा । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरालाई कर्णालीका हुम्ला र मुगुसँग जोड्ने मुख्य मार्तडी–कोल्टी सडक जेठ १५ देखि अवरुद्ध छ । वर्षाले सडकमा पहिरो खसेपछि ठेकेदार कम्पनीले समयमै पहिरो नहटाउँदा ४२ किलोमिटर सडकमा यात्रुले चारवटासम्म गाडी परिवर्तन गर्नुपर्ने अवस्था छ ।

मुख्यमन्त्रीकै कम्पनीले काम नगर्दा पीडामा बाजुराबासी

सडक निर्माणको जिम्मा लिएको पीएस बानियाँ निर्माण सेवा जेभीले काममा ढिलाइ गर्दा सडक सञ्चालनमा समस्या भएको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । यही कम्पनीका सञ्चालक बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसमेत हुन् ।

स्वामीकार्तिक खापर गाउँपालिका–४ का रमेश धामीका अनुसार सडक निर्माणको ठेक्का लागेको लामो समय भए पनि कामले गति लिन सकेको छैन । ‘सडकमा आएका पहिरा हटाइदिने हो भने पनि मार्तडीदेखि कोल्टीसम्म गाडी नियमित चल्न सक्छन्,’ उनले भने ।

बडिमालिका नगरपालिका–७ ढम्कनेका धिरीन्द रोकायाले बाउँली खोलामा पुल निर्माण सुरु भएको पाँच वर्ष पुग्दा पनि एउटा पिल्लरसमेत नबनेको बताए । ‘सडकको ठेक्का लिने ठेकेदार नै मुख्यमन्त्री छन् रे । बाटो नबनाउँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या छ,’ उनले भने ।

सडकमा जोखिम बढेपछि चालक र यात्रु दुवै त्रासमा छन् । ‘कुन ठाउँमा गाडी अड्किन्छ वा माथिबाट माटो खस्छ थाहा हुँदैन । बाटो राम्रो भए हामीलाई पनि सहज हुन्थ्यो,’ एक चालकले भने ।

तीनपटक म्याद थप, अझै अधुरै
मार्तडी–कोल्टी सडकअन्तर्गत चुथीदेखि ढम्कनेसम्म ५ किलोमिटर सडक निर्माणको जिम्मा बानियाँ बिल्डपले र ढम्कनेदेखि कोल्टीसम्म २६ किलोमिटर सडक निर्माणको जिम्मा पीएस बानियाँ निर्माण सेवा जेभीले पाएको छ ।

पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार आर्थिक वर्ष २०७६–७७ मा चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न ५० करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र काम सक्नुपर्ने भए पनि अझै सम्पन्न भएको छैन ।

कोल्टी–मार्तडी सडकमा काम नभएपछि यात्रुको सहजताका लागि पूर्वाधार विकास कार्यालय साँफेबगरले बडिमालिका नगरपालिकासँगको सहकार्यमा जेसीबी लगाएर पहिरो हटाउँदै ।

‘पीएस बानियाँले २०७८–७९, २०८०–८१ र २०८१–८२ मा तीनपटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न सकेको छैन,’ थापाले भने, ‘लामो समय बितिसक्दा सडकको करिब ५० प्रतिशत मात्रै काम भएको छ ।’ उनका अनुसार चालु आर्थिक वर्षमा बजेट विनियोजन भए पनि ठेकेदारले काम अघि नबढाउँदा करिब १३ करोड रुपैयाँ बजेट फिर्ता हुने अवस्था आएको छ । बर्खायाममा सडक अवरुद्ध भएपछि कार्यालयले बडिमालिका नगरपालिकासँगको सहकार्यमा जेसीबी लगाएर केही स्थानमा पहिरो हटाएको छ ।

सडक नबन्दा बाजुराको पूर्वोत्तर क्षेत्रमा उत्पादन भएको स्याउ बजारसम्म पु¥याउनसमेत समस्या भएको छ । स्वामीकार्तिक–१ साप्पाटाका मनबहादुर रोकायाका अनुसार सदरमुकाम आउने सडक सञ्चालनमा नहुँदा कर्णालीको बाटो प्रयोग गर्नुपरेको छ, जसले ढुवानी खर्च बढाएको छ ।

जिल्लाका अन्य आन्तरिक सडकको अवस्था पनि उस्तै छ । मैरे–छतारा, मैरे–कैलासमाण्डौं र मार्तडी–घटमना सडक सञ्चालनमा ल्याउने कामसमेत अघि बढेको छैन । सडकमा रहेका खोलामा पुल नहुँदा सामान ढुवानीमा समेत समस्या भएको उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देबहादुर रोकायाले बताए ।

अछामको मुजाबगर–रामारोशन सडकको निर्माणसमेत यही कम्पनीसँग जोडिएको छ । उक्त सडकका लागि ५७ करोड ४२ लाख ८३ हजार २ सय ३९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । दुवै सडक तीन वर्षभित्र सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले काम पूरा गर्न सकेको छैन ।

आइतबार अछामका प्रदेश सभा सदस्य अकल रावलले सुदूरपश्चिम प्रदेश सभामार्फत बागमती सरकारको ध्यानाकर्षण गराउँदै ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीका सञ्चालकलाई मुख्यमन्त्री बनाइएको विषयमा प्रश्न उठाए ।

‘बाजुराको मार्तडी–कोल्टी र अछामको जैगड–रामारोशन सडक बानियाँ कन्ट्रक्सनले बनाउन सकिरहेको छैन । ठेक्का लिएर अलपत्र अवस्थामा छ । त्यही कम्पनीका मालिक मुख्यमन्त्री हुँदैछन्,’ उनले प्रदेश सभामा भने ।

कुण्डाली समाजका नेता नृप थापा भोटेका अनुसार दसैँ नजिकिँदै गर्दा घर फर्किनेको संख्या बढ्ने भए पनि सडकको अवस्थाले स्थानीयलाई थप समस्या हुने अवस्था छ । सामाजिक अभियन्ता हेमराज धापाले पनि सडक निर्माणमा भइरहेको ढिलाइप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीसमक्ष प्रश्न गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

चीनद्वारा बच्चा जन्माउन प्राेत्साहित गर्दै, नयाँ नयाँ सुबिधाकाे घोषणा