एक महिनामा सुदूरपश्चिमबाट १५४ जना हराए

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक महिनाको अवधिमा १५४ जना मानिस हराएका छन् । हराएकामध्ये १०३ जना फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार हराउनेमा ६७ महिला, २६ पुरुष, १३ बालक, ४२ बालिका र ६ ज्येष्ठ नागरिक छन् । त्यस्तै, फेला पर्नेमा ४३ महिला, १७ पुरुष, १२ बालक, २८ बालिका र तीन ज्येष्ठ नागरिक रहेका छन् ।

त्यस्तै, भदौ महिनामा सुदूरपश्चिम प्रदेशमा २२५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ भने ३८० जना घाइते भएका छन् । दुर्घटनामा ३०५ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामध्ये १८० वटा चालकको लापरबाहीका कारण भएका छन् । तीनवटा दुर्घटना सवारीसाधनको कारण, नौवटा मादक पदार्थ सेवन, एउटा यात्रु, १७ वटा पैदलयात्री, एउटा मौसम र १४ वटा चौपायाका कारण भएका छन् ।

एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ९४३ जना सवारी चालकलाई कारबाही गरिएको छ । उनीहरूबाट ३२ लाख २० हजार ५ सय रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत १ करोड ८२ लाख ९ हजार ३९३ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ । भन्सार छलीमा संलग्न १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

भारी वर्षा र बाढीको जोखिम : डिमानद्वारा पूर्वतयारीमा जोड