काठमाडौं क्षेत्र नं. २ मा १५औँ महाधिवेशनको सन्देशसहित सामूहिक शपथ ग्रहण सम्पन्न

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं. २ मा निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूको सामूहिक शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। क्षेत्र नं. २ मा पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई प्राथमिकता दिँदै नेतृत्व चयन भएको सन्देशसहित शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो।
क्षेत्रीय सभापति कबिर शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको उपस्थितिमा नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूले सामूहिक रूपमा शपथ ग्रहण गरेका थिए।

कार्यक्रममा बोल्दै नेता प्रदीप पौडेलले १५औँ महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र नयाँ दिशाका साथ अघि बढाउने अवसर प्रदान गरेको बताए। उनले पार्टीभित्रको प्रतिस्पर्धालाई व्यक्तिगत असहमतिको रूपमा नभई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने उल्लेख गर्दै महाधिवेशनपछि सबै नेता–कार्यकर्ता एकताबद्ध भएर संगठन निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे।

पौडेलले नेपाली कांग्रेसलाई जनताको विश्वास र भरोसाको पार्टीका रूपमा अझ बलियो बनाउन स्थानीय तहदेखि नै संगठन सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचित नेतृत्वले पदलाई जिम्मेवारी र अवसरका रूपमा लिएर जनताका समस्या, आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै काम गर्नुपर्ने बताए।

कार्यक्रमका सभापति तथा काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति कबिर शर्माले १५औँ महाधिवेशनले दिएको जिम्मेवारीलाई आफूले व्यक्तिगत उपलब्धिभन्दा पनि संगठनप्रतिको जिम्मेवारीका रूपमा लिएको बताए। उनले क्षेत्र नं. २ मा सबैलाई समेटेर संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे।

सभापति शर्माले भने, “हामीबीचको सहमति र सहकार्य नै संगठनको सबैभन्दा ठूलो शक्ति हो। निर्वाचनको चरणमा भएका प्रतिस्पर्धा अब सकिएका छन्। अब सबैलाई साथमा लिएर पार्टी संगठनलाई बलियो बनाउँदै जनताको बीचमा जाने समय हो।”

उनले नेपाली कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा उतार्दै जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउन आफू नेतृत्वमा निर्वाचित भएको बताए। साथै, क्षेत्र नं. २ मा संगठन विस्तार, कार्यकर्ताको क्षमता विकास, जनसम्पर्क विस्तार तथा स्थानीय जनताका समस्या र सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौं क्षेत्र नं. २ मा नेतृत्व चयनका क्रममा देखिएको सहमति र सर्वसम्मत नेतृत्वको अभ्यासलाई १५औँ महाधिवेशनको सकारात्मक सन्देशका रूपमा हेरिएको छ। पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै आपसी मतभेदलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्न सकिने उदाहरण क्षेत्र नं. २ ले प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो।

सामूहिक शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र विधानप्रति प्रतिबद्ध रहँदै संगठनको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमले काठमाडौं क्षेत्र नं. २ मा नेपाली कांग्रेसको संगठनलाई थप एकताबद्ध, व्यवस्थित र जनमुखी बनाउने अपेक्षा गरिएको छ। १५औँ महाधिवेशनबाट प्राप्त नयाँ जिम्मेवारीलाई संगठन सुदृढीकरण, जनसेवा र लोकतान्त्रिक संस्कारको विकासमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं क्षेत्र नं. २ मा १५औँ महाधिवेशनको सन्देशसहित सामूहिक शपथ ग्रहण सम्पन्न