कांग्रेस शीर्ष नेताको आकस्मिक बैठक

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।

बुधबार अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समितिका पदाधिकारीहरूको आकस्मिक बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा कांग्रेसले आधिकारिक धारणा तय गर्ने भएको छ ।

नेताहरूका अनुसार प्रहरी नियमावलीविपरीत कार्कीलाई पदमुक्त गरेकोमा कांग्रेस असन्तुष्ट छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाबाट बरामद भएको मोबाइल दुई दिनसम्म आफ्नो घरमा राखेर फरेन्सिक ल्याबमा पठाएको समाचार बाहिरिएपछि सरकारले कार्कीलाई महानिरीक्षकबाट हटाएको हो ।

बेनको निर्देशनपछि मात्र इनम सापकोटाले प्रहरीलाई दिएको बयान सनसनी ढंगले मिडियामा ल्याइएको थियो । जसमा कांग्रेसको आधिकारिकता पाउन विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले १८ करोडको डिल गरेको भनेर बोलेको सुन्न सकिन्छ । तर इनमले त्यो डिलमा आफू नभएको उल्लेख गरेका छन् ।

पार्टीलाई बदनाम गर्न सरकारले बिचौलिया प्रयोग गरेको कांग्रेसले आशंका गरेको छ । सो विषय पनि आजको बैठकमा छलफल हुने भएको छ ।
 

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

नवनियुक्त आइजिपी केसीलाई आजै पदबहाली गर्न अनुरोध