महँगी र कालोबजारीविरुद्ध आजपा आक्रामक

रौतहट । आम जनता पार्टी (आजपा) ले रौतहटमा आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। पार्टीको रौतहट जिल्ला कमिटीका पदाधिकारीहरूको विशेष बैठकले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा संगठनलाई वडा तथा टोलस्तरसम्म विस्तार गर्ने निर्णय गर्दै निर्वाचन क्षेत्रगत जिम्मेवारीसमेत तोकेको छ।

पार्टीका महासचिव विभुवन साहको विशेष उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले संगठन विस्तारसँगै समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा विभिन्न निर्णय गरेको छ ।

बैठकले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा संगठन विस्तारलाई प्रभावकारी बनाउन इन्चार्ज तथा अध्यक्षको जिम्मेवारी तोकेको छ।

आजपा रौतहट जिल्ला इन्चार्ज लखिन्द्र साहले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्जमा उमाशंकर साह र अध्यक्षमा दिनेश सहनीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा भगवान पटेल र अध्यक्षमा दिलीप कुमार साह, निर्वाचन क्षेत्र नम्बर ३ को इन्चार्जमा लालबाबु मन्सुरी र अध्यक्षमा विवेक साह तथा निर्वाचन क्षेत्र नम्बर ४ को इन्चार्जमा विद्या सापकोटा र अध्यक्षमा प्रदीप विक्रम साहलाई जिम्मेवारी तोकिएको छ।

पार्टीले नयाँ जिम्मेवारी पाएका नेताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिएको छ। वडा र टोलस्तरसम्म संगठनलाई पुर्‍याउँदै पार्टीको राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन बैठकले निर्देशन दिएको छ।

महँगी, कालोबजारी र सीमावर्ती लुटपाटप्रति चिन्ता

बैठकले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको महँगी, कालोबजारी तथा सीमावर्ती क्षेत्रमा भइरहेका लुटपाट र छिनाझपटीका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

सर्वसाधारण नागरिक महँगीको मारमा परिरहेको अवस्थामा बजारमा हुने कालोबजारी तथा सीमावर्ती क्षेत्रमा देखिएका असुरक्षाका घटनाले जनजीवन थप प्रभावित भएको बैठकको निष्कर्ष छ। यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको छ।

पार्टीले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आर्थिक तथा सुरक्षासम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै सरकार तथा सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

अग्रगामी मोर्चालाई थप प्रभावकारी बनाउने
बैठकले पार्टीले अघि सारेको अग्रगामी मोर्चालाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। त्यसका लागि संयुक्त कार्यक्रमहरू तयार गरी कार्यान्वयनमा लैजाने र विभिन्न राजनीतिक तथा सामाजिक अभियानलाई समन्वयात्मक ढंगले अघि बढाउने निष्कर्ष निकालिएको छ।

त्यसैगरी, बैठकले लोकआस्थाको महान् पर्व छठको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

बैठकले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा सक्रियतापूर्वक लाग्न आह्वान गरेको छ।

जिल्ला कमिटीका इन्चार्ज साहद्वारा जारी प्रेस विज्ञप्तिमा संगठन विस्तार, जनसरोकारका मुद्दा उठान र अग्रगामी मोर्चाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

आजपाले पछिल्लो समय संगठनात्मक गतिविधिलाई स्थानीय तहसम्म विस्तार गर्ने तथा जनताका दैनिक समस्या र सार्वजनिक सरोकारका विषयलाई राजनीतिक अभियानसँग जोड्ने रणनीतिअनुसार रौतहटमा नयाँ जिम्मेवारी बाँडफाँट गर्दै अगाडी बढेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

महँगी र कालोबजारीविरुद्ध आजपा आक्रामक