पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र रु. एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ । त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र रु. एक करोड २६ लाख २३ हजार जरिवानाको फैसला भएको उनले जानकारी दिए ।
अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र रु. २६ लाख २३ हजार जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताए । जरिवानासँगै रु. १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको उनको भनाइ छ । न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ उक्त फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले बताए ।
बचतकर्ताहरुले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जना विरुद्ध गतवर्ष दायर गरेको अभियोगमाथि सुनुवाई गर्दै अदालतले उक्त फैसला गरेको हो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।
उनीमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ ।
सम्बन्धित समाचार
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु
दर्ता भएन दानबहादुर कार्कीको रिट
भिसाको उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा १० विदेशी नागरिक निष्कासित
भाडामा यात्रु बोक्ने मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
विधिपूर्वक गरियो गोबर्धन पूजा
प्रधानमन्त्रीद्वारा भाइटीकाको शुभकामना, भने : ‘दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछ’
घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु






