काठमाडौं । पत्रकारमाथि भइरहेको धरपकड, पक्राउ र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने भएको छ ।
महासंघले आगामी मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित काठमाडौं जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने तयारी गरेको हो ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको सर्कुलरअनुसार धर्ना कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालले जानकारी दिइन् ।
उनका अनुसार समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई धरपकड गर्ने, साइबर कानुनको प्रयोग गरी पत्रकार पक्राउ गर्ने तथा सरकारले ल्याएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गर्न लागिएको हो ।
अध्यक्ष अर्यालले सरकारले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गतिविधि बढाएको आरोप लगाइन् । पत्रकार महासंघसँग कुनै छलफल नगरी प्रेस काउन्सिलसम्बन्धी अध्यादेश ल्याइनु सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरित रहेको उनको भनाइ छ ।
उनले प्रेसका समस्या समाधान गर्नुको सट्टा तिनै समस्यालाई आधार बनाएर सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजिएको बताइन् । समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने घटना बढिरहेको र पक्राउको जिम्मेवारी सरकारले नलिने गरेको भन्दै उनले आपत्ति जनाइन् ।
‘समाचार कक्षमै गएर पत्रकारलाई धरपकड गर्ने काम सरकारले गरेको छ । तर, त्यसको जिम्मेवारी लिएको छैन । संविधान, कानुन र नियमलाई बेवास्ता गर्दै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताजस्तो नागरिकको मौलिक हकलाई खेलको विषय बनाइएको छ,’ उनले भनिन् ।
अर्यालले सरकारी तथा निजी सञ्चारमाध्यममा पत्रकारलाई विनाकारण कामबाट निष्कासन गर्ने प्रवृत्ति बढेको भन्दै श्रम अधिकारको समेत उल्लंघन भइरहेको बताइन् । राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्रलगायतका सञ्चारमाध्यममा पत्रकार निष्कासन गरिएको उनको दाबी छ ।
त्यस्तै, निजी सञ्चारमाध्यमको प्रमुख आम्दानीको स्रोत विज्ञापनमा समेत सरकारले हस्तक्षेप गरेको उनको आरोप छ । सरकारी विज्ञापन रोक्ने निर्णय र लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कदमले सञ्चार क्षेत्र थप प्रभावित भएको उनले बताइन् ।
सञ्चार मन्त्रालय सञ्चार क्षेत्रका समस्याप्रति उत्तरदायी हुनुपर्नेमा प्रधानमन्त्री कार्यालयको आदेश पालना गर्ने निकायजस्तो देखिएको भन्दै उनले असन्तुष्टि जनाइन् ।
उनले सञ्चारमाध्यमअगाडि गाडी तेस्र्याउने तथा पत्रकारमाथि धरपकड गर्ने घटनामा प्रहरीको प्रयोग भएको विषयमा समेत छानबिन र कारबाही हुनुपर्ने माग गरिन् ।
महासंघले वार्ताबाट समाधान भइसकेका विषयलाई पुनः विवादमा ल्याइएको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघले मंसिर ९ गते देशभरका जिल्ला शाखामार्फत जिल्ला प्रशासन कार्यालयअगाडि विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार काठमाडौं शाखाले पनि धर्ना दिन लागेको हो ।
सम्बन्धित समाचार
असिनाले ढाक्यो त्रिभुवन विमानस्थलको धावनमार्ग, आठ विमान आकाशमै होल्ड
भीमफेदी इभी दुर्घटना अपडेट: एकै परिवारका छसहित १४ जनाको मृत्यु
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता
विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न सुझाव
मलद्वारमा लुकाएर ल्याएकाे झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
नेपालमै पहिलो व्यावसायिक वास्तु सफ्टवेयर सार्वजनिक गर्ने तयारी
प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन
महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश






