चौदण्डीगढीमा ३६४ परिवारलाई भोगाधिकार प्रमाणपुर्जा

उदयपुर । पुस्तौँदेखि आफूले भोगचलन गर्दै आएको जमिनको कानुनी पहिचान नहुँदा जुनसुकै बेला विस्थापित हुनु पर्ने त्रासमा बाँचि रहेका चौदण्डीगढी नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गाको भोगाधिकार प्रमाणित गर्ने प्रक्रिया अघि बढेको छ । वर्षौँदेखिको अन्योल र अनिश्चिततालाई चिर्दै नगरपालिकाले दोश्रो चरण अन्तर्गत सोमबार वडा नम्बर २ को झोडापाटाबाट भोगाधिकार दर्ता प्रमाणपुर्जा वितरण सुरु गरेको हो ।

नगर प्रमुख कालुमान लामाले योग्य लाभग्राहीलाई प्रमाणपुर्जा वितरण गर्दै भूमिहीन नागरिकको दशकौँ देखिको समस्या समाधान गर्ने अभियानलाई तीव्रता दिइएको बताए । दोश्रो चरणमा सोमबार मात्रै ३६४ परिवारले भोगाधिकार दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् । यस अघि पहिलो चरणमा वडा नम्बर ६ को सिर्वानीबाट वितरण सुरु गरिएको थियो ।

आफूले वर्षौँदेखि घर बनाएर बसोबास तथा खेतीपाती गर्दै आएको जमिनको कानुनी आधार नहुँदा असुरक्षित महसुस गर्दै आएका परिवारका लागि प्रमाणपुर्जा प्राप्ति ठूलो राहत बनेको छ । प्रमाणपुर्जा हातमा परेपछि लाभग्राहीका अनुहारमा खुसी र भविष्य प्रतिको भरोसा देखिएको थियो ।

चौदण्डीगढी नगरपालिका–२ झोडापाटाकी मनकुमारी श्रेष्ठले पुस्तौँदेखि एउटै ठाउँमा बसोबास गरे पनि जग्गाको कानुनी प्रमाण नहुँदा ढुक्क भएर बाँच्न नसकेको बताइन् । “हामीले पुस्तौँदेखि यहीँ बस्दै आए पनि कहिल्यै ढुक्क भएर बाँच्न सकेनौँ । आज प्रमाणपुर्जा पाएपछि अब आङ्खनै घर–आँगन भएको महसुस भएको छ,” उनले भनिन् ।

नगर प्रमुख लामाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या आवासमा मात्र सीमित नभई सामाजिक न्याय, मानवीय सम्मान र नागरिकको अधिकारसँग जोडिएको विषय भएको बताए । राज्यको सेवा–सुविधाबाट समेत पछाडि परेका नागरिकलाई कानुनी रूपमा भोगाधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको उनको भनाइ छ । “२०–२५ जनालाई मात्रै लालपुर्जा वितरण गरेर अरू हजारौँ नागरिकलाई वर्षौँसम्म प्रतीक्षामा राख्नु उचित हुँदैन । हाम्रो प्रयास सीमित व्यक्तिलाई प्रमाणपुर्जा दिएर बाँकीलाई पर्खाउने होइन, सबै भूमिहीन नागरिकको समस्या एकै पटक समाधान गर्ने हो,” नगर प्रमुख लामाले भने ।

उनका अनुसार नगरपालिकाभित्र जग्गाको नापजाँच सम्पन्न भएका ६ हजार २०० परिवार मध्ये दोश्रो चरणमा ३६४ परिवारलाई प्रमाणपुर्जा वितरण गरिएको हो । भूमि समस्या समाधान आयोगसँगको समन्वयमा करिब ५ हजार २०० परिवारलाई भोगाधिकार दर्ता प्रमाणपुर्जा वितरण गर्ने तयारी भइ रहेको उनले जानकारी दिए । यस अघि चौदण्डीगढी नगरपालिका– ६ सिर्वानीका ३४३ जनालाई समेत भोगाधिकार प्रमाणपुर्जा वितरण गरि सकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार पालिकाभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संख्या झन्डै १० हजार रहेको छ । वडा नम्बर २ देखि १० सम्म जग्गाको नापजाँच सम्पन्न भएको र बाँकी प्रक्रिया पूरा गर्दै लाभग्राहीलाई क्रमशः प्रमाणपुर्जा वितरण गरिने नगरपालिकाको भनाइ छ । भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा विस्तृत लगत संकलन, स्थलगत अनुगमन, जग्गाको नापजाँच, सीमाङ्कन, नक्सा निर्माण तथा तीनपुस्ते विवरण संकलन लगायत प्रक्रिया अघि बढाइएको छ । प्राविधिक टोली, वडा कार्यालय, स्थानीय सरोकारवाला र लाभग्राहीसँगको समन्वयमा आवश्यक कागजी प्रक्रिया पूरा गरी प्रमाणपुर्जा तयार पारिएको नगरपालिकाको भूमि शाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

चार वर्षमा चौदण्डीगढीमा विकासका कामको फेहरिस्त सार्वजनिक