मत्स्यपोखरीमा चिचिला महोत्सव मङ्सिर ५ गते हुने

सङ्खुवासभा । सङ्खुवाभाको चिचिला गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा ‘चिचिला महोत्सव २०८३’ आयोजना हुने भएको छ । चिचिला गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि ८ गतेसम्म महोत्सव हुने जानकारी दिइएको हो ।

पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा जातजातिको मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए । कोशी प्रदेश सरकार र चिचिला गाउँपालिकाको संयुक्त लगानीमा आयोजना हुने महोत्सवमा हेल्भेटास नेपालले समेत सहयोग गर्ने गाउँपालिका अध्यक्ष शेर्पाले बताए । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्री वितरण तथा हस्तकलाका सामग्रीको प्रदर्शनी र बिक्री वितरणका लागि कम्तीमा ३० वटा स्टल राखिनेछ ।

यसबाट स्थानीय उत्पादनको प्रवद्र्धन तथा उत्पादकलाई बजारीकरणको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा साहित्य, संगीत र सांस्कृतिक कार्यक्रमलाई समेत विशेष प्राथमिकता दिइएको छ । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार नेपाली राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) लगायत कोशी प्रदेशका १४ वटै जिल्लाका साहित्यकारको सहभागितामा साहित्यिक प्रस्तुति रहनेछ। मत्स्यपोखरी क्षेत्र तथा चिचिला गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले फोटो प्रदर्शनीसमेत राखिनेछ ।

स्थानीय कला, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ । महोत्सवको अर्को आकर्षणका रूपमा महिला तथा पुरुष ट्रेल रेस प्रतियोगिता सञ्चालन गरिनेछ । लालिगुराँस पदमार्ग तथा चिचिला खण्डको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिने प्रतियोगिता १२ दशमलव ५ किलोमिटर दूरीको हुनेछ ।

प्रतियोगिता छ्याङकुटीबाट सुरु भई मिमिटे, ठूलोटोलो, देउराली, चिचिला बजार, कुवापानी, बलुथाम, मकालु हिरक पार्क धजे प्रवेशद्धार, गुराँसे हुँदै धजे मत्स्य समाधिस्थल बाट महोत्सव स्थल मत्स्यपोखरीमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गर्नेछन् ट्रेल रेस मङ्सिर ५ गते बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

महोत्सवमार्फत चिचिलाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादनको बिक्री वितरण र आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ। खेलकुद, पर्यटन, संस्कृति, स्थानीय उत्पादन र खानाका परिकारलाई एकै ठाउँमा समेटेर आयोजना गर्न लागिएको महोत्सवले चिचिलालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद