उदयपुर । कुनै समय सदरमुकाम गाईघाट वा कटारी बजार पुगेर मात्रै कालोपत्रे सडकमा यात्रा गर्नु पर्ने उदयपुरका ग्रामीण बस्तीमा अहिले पक्की सडकको पहुँच विस्तार हुँदै गएको छ । संघीयता कार्यान्वयनपछि स्थानीय सरकारको प्राथमिकतामा परेको सडक पूर्वाधार विकासले नौ वर्षमा उल्लेख्य फड्को मारेको छ । यस अवधिमा राष्ट्रिय लोकमार्ग बाहेक जिल्लाका आठ स्थानीय तह मध्ये ६ वटामा १७२ दशमलव ३ किलोमिटर आन्तरिक सडक कालोपत्रे भएको छ । यद्यपि, दुई गाउँपालिकामा भने अझै एक किलोमिटर पनि सडक कालोपत्रे हुन सकेको छैन ।
स्थानीय तहले उपलब्ध गराएको तथ्यांक अनुसार चार नगरपालिका र दुई गाउँपालिकामा आन्तरिक सडक कालोपत्रे गरिएको हो । जिल्लाका आठवटै स्थानीय तहका ७५ वटै वडामा सडक सञ्जाल विस्तार भइ सके पनि सबै बस्तीमा पक्की सडक पु¥याउने चुनौती भने कायमै छ ।
भौगोलिक विकटता, सीमित बजेट र सडक पूर्वाधारमा पर्याप्त लगानी हुन नसक्दा दुर्गम गाउँपालिकाहरू कालोपत्रे सडकको पहुँचबाट अझै बाहिर छन् । चार नगरपालिका मध्ये सबै भन्दा बढी त्रियुगा नगरपालिकामा १०२ किलोमिटर सडक कालोपत्रे भएको छ । नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार गाईघाट बजार क्षेत्र सहित नगरपालिकाका विभिन्न आन्तरिक सडक कालोपत्रे गरिएका हुन् ।
त्यसैगरी चौदण्डीगढी नगरपालिकामा ३५ दशमलव ७ किलोमिटर, बेलका नगरपालिकामा ११ किलोमिटर र कटारी नगरपालिकामा १० दशमलव ६ किलोमिटर सडक कालोपत्रे भएको छ । चार नगरपालिकामा मात्रै १५९ दशमलव ३ किलोमिटर सडक कालोपत्रे भएको तथ्यांकले देखाउँछ ।
स्थानीय सरकार गठन भएपछि सडक पूर्वाधारसँगै अन्य विकास निर्माणका कामले समेत गति लिएको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । उनका अनुसार स्थानीय तहले सडक विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् ।
चार गाउँपालिका मध्ये उदयपुरगढीमा सबै भन्दा बढी नौ किलोमिटर सडक– कालोपत्रे भएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरका अनुसार चालु आर्थिक वर्षमा थप दुई किलोमिटर सडक कालोपत्रे गर्ने तयारी छ । गाउँपालिकाका सबै वडा र बस्तीमा सडक सञ्जाल विस्तार गर्नुका साथै हिउँद र वर्षा दुवै मौसममा यातायात सञ्चालन गर्न सकिने गरी सडक स्तरोन्नति गरिएको उनी बताउँछन ।
रौतामाई गाउँपालिकामा अहिले सम्म चार किलोमिटर सडक कालोपत्रे भएको छ । गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार थप ६ किलोमिटर लामो मुकुर्ची–भुटार सडक कालोपत्रेका लागि ठेक्का लागि सकेको छ । सो सडक निर्माण सम्पन्न भएपछि गाउँपालिकामा कालोपत्रे सडकको लम्बाइ १० किलोमिटर पुग्नेछ ।
तर यता, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भने अहिलेसम्म कालोपत्रे सडक निर्माण हुन सकेको छैन । ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले सीमित बजेट र राष्ट्रिय राजमार्गको पहुँच नहुँदा सडक कालोपत्रे गर्न नसकिएको औल्याए । उनका अनुसार गाईघाट र कटारी बजारबाट गाउँपालिका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गरी दुवै मौसममा यातायात सञ्चालन गर्न सकिने बनाइएको छ ।
त्यस्तै, लिम्चुङबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुष्प राईले बजेट अभावका कारण कालोपत्रे सडक निर्माण गर्न नसकिएको बताए । गाउँपालिकाको श्रोत र क्षमताले भ्याएसम्म सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको उनको भनाइ छ ।
राष्ट्रिय लोकमार्गमा थप १६४ किलोमिटर कालोपत्रे
स्थानीय तहका आन्तरिक सडक बाहेक उदयपुर भएर जाने प्रमुख सडक आयोजना अन्तर्गत पछिल्लो नौ वर्षमा उल्लेख्य प्रगति भएको छ । यस अवधिमा जिल्लाका विभिन्न राष्ट्रिय लोकमार्ग तथा सडक आयोजना मार्फत थप १६४ किलोमिटर सडक कालोपत्रे भएको छ ।
जसमा मदन भण्डारी लोकमार्गको १०१ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यस्तै, सगरमाथा लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिकाको लालपत्तादेखि खाँबुसम्म ३३ किलोमिटर र सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी क्षेत्रमा २४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । चौदण्डीगढी क्षेत्रसँग जोडिएको सुनसरीको कान्छी बजारदेखि सप्तरीको कञ्चनपुरसम्मको थप ६ किलोमिटर सडक समेत कालोपत्रे भइ सकेको छ ।
यसरी स्थानीय तहका आन्तरिक सडकको १७२ दशमलव ३ किलोमिटर र प्रमुख सडक आयोजनाका १६४ किलोमिटर जोड्दा उदयपुरमा पछिल्लो नौ वर्षमा कुल ३३६ दशमलव ३ किलोमिटर सडक कालोपत्रे भएको देखिन्छ । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य नारायण बुर्जामगरले संघीयता कार्यान्वयनपछि उदयपुरको सडक पूर्वाधार विकासमा उल्लेख्य परिवर्तन आएको स्पष्ट पारे । उनका अनुसार विगतमा कालोपत्रे सडकमा पुग्न सदरमुकाम गाईघाट वा कटारी बजारसम्म आउनुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ ।
पुराना कालोपत्रे सडकको अवस्था पनि जीर्ण थियो । कतिपय सडकको कालोपत्रे उप्किएर बाँकी थिएन । पछिल्लो नौ वर्षमा ती सडकको समेत पुनर्निर्माण भएको छ भने नयाँ सडक पनि कालोपत्रे भइ रहेका छन्,’ उनले भने, ‘पालिकाका रणनीतिक तथा मुख्य सडकको स्तरोन्नति स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा भइ रहेको छ । उनले राज्यको पुनर्संरचना र नयाँ संविधान कार्यान्वयनपछि स्थानीय तहमा विकास निर्माणका कामले गति लिएको उल्लेख गर्दै उदयपुरमा मात्रै १७२ किलोमिटर भन्दा बढी आन्तरिक सडक संघिय, प्रदेश र स्थानीय सरकारको पहलमा कालोपत्रे हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
यद्यपि, सडक सञ्जाल सबै वडामा पुग्नु र सबै बस्तीमा पक्की सडक पुग्नु फरक विषय हुन् । उदयपुरका आठवटै स्थानीय तहमा कच्ची सडकको पहुँच विस्तार भए पनि ताप्ली र लिम्चुङबुङमा कालोपत्रे सडकको अभाव तथा अन्य पालिकामा सीमित पहुँचले जिल्लाको सडक पूर्वाधार विकासमा अझै असमानता रहेको देखाउँछ ।
सम्बन्धित समाचार
उदयपुरको कारागारमा कैदीबन्दी कोचाकोच
मत्स्यपोखरीमा चिचिला महोत्सव मङ्सिर ५ गते हुने
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का
‘जालपादेवी केबलकार’ एक महिनाभित्रै सञ्चालनमा आउने
चौदण्डीगढीमा ३६४ परिवारलाई भोगाधिकार प्रमाणपुर्जा
चार वर्षमा चौदण्डीगढीमा विकासका कामको फेहरिस्त सार्वजनिक
ओभरलोड र लापरबाहीले पुवाखोलाको नवनिर्मित बेलीब्रिजमा ‘बब्लिङ’






