नेपालगञ्ज । छैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि विभागीय टोली एपिएफका गोपीचन्द्र पार्कीले हात पारेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पार गरेका हुन् । उपाधिसँगै उनले ७५ हजार रुपैयाँ हात पारेका छन् भने उनी अर्को वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।
त्यस्तै दोस्रो भएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेका छन् । आर्मीकै नवराज साउदले २ घण्टा ३१ मिनेट २१ सेकेण्डमा चौथो स्थान हासिल गरे । आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ४६ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै पाँचौ स्थान हासिल गरे ।
सुदुरपश्चिम प्रदेशका मुकेश बहादुर पालले २ घण्टा ४७ मिनेट ५५ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै छैठौं स्थान हासिल गरेका छन् । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएका भट्टराईले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए । महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली एपिएफकी पुष्पा भण्डारीले जितेकी छिन् ।
पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।
दोस्रो स्थान जुम्लाकी मञ्जु रावतले प्राप्त गरिन् । उनले १ घण्टा ३० मिनेट ७ सेकेण्डमा दुरी पूरा गर्दै १५ हजार रुपैयाँ जितिन् । दाङकी शर्मिला घर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दुरी पुरा तेस्रो स्थान हासिल गरिन् । उनले १० हजार रुपैयाँ पाएकी छिन् । चौथो स्थान हासिल गरेकी सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गरिन् । लुम्बिनीकी अनिशा चौधरी पाँचौ तथा कल्पना चौधरी छैठौं भए ।
अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दा कल्पनाले १ घण्टा ४२ मिनेट ५२ सेकेण्डमा पार गरिन्। चौथोलाई ७, पाँचौंलाई ६ र छैठौंलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ। महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् ।