जुम्ला । सुख्खा मौसम सुरू भएसँगै जुम्लामा आगलागीका घटनामा वृद्धि भएको छ । चार दिनको अवधिमा जुम्लाको चन्दननाथ नगरपालिकाभित्र दुई ओटा आगलागीका घटना भएका छन् । शुक्रबार बेलुका चन्दननाथ नगरपालिका–१ महाताराबाडामा तीनतले घर जलेर खरानी भएको छ । बेलुका ७ बजे सुरु भएको आगलागी स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ८ बजेतिर नियन्त्रणमा आएको हो ।
आगलागीबाट लत्ता कपडा, अन्तपात, धनमाल, केही नगद र गरगहना गरी ५ लाख ८७ हजार रुपैयाँ बराबरको क्षति भएको वडा अध्यक्ष जयबहादुर रावलले बताएका छन् । भएको सम्पति जलेर खरानी भएपछि १० जनाको परिवार अहिले विचल्लीमा परेको वडा अध्यक्ष रावलले बताए । ‘नगरपालिकाको दमकल छ, तर बिग्रिएको रहेछ, मानवीय प्रयासबाटै आगो नियन्त्रणमा आयो ।’ उनले भने,‘ अहिले अग्निपीडितलाई खान र बस्नका लागि वडाले पहल गर्दै छ ।’ यस्तै गएको मंगलबार मात्रै चन्दननाथ नगरपालिकाकै एक सामुदायिक वनमा आगालगी हुँदा डेढ हेक्टर वनक्षेत्रमा क्षति भएको थियो ।
चन्दननाथ ४ मालाभिडस्थित सिद्धि विनायक सामुदायिक वनमा मंगलबार दिउँसो १२ बजे आगलागी हुँदा डेढ हेक्टर वन क्षेत्रमा क्षति भएको हो । स्याउला सोत्तर ल्याउन वनमा गएका महिलाको लापरबाहीले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तथा वन कार्यालयका कर्मचारीको सहभागितामा आगालगी नियन्त्रण भएको सिद्धि विनायक सामुदायिक वनका सचिव देवीप्रसाद सिमखाडाले बताए ।
उनका अनुसार वनमा आगलागी हुँदा साना तथा ठूला सयांै रुखविरुवा जलेर नष्ट भएका छन् । समयमै पुगेको नेपाली सेना, प्रहरी तथा स्थानीयको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको सचिव सिमखाडाको भनाइ छ । उनकानुसार वनका डेढ हेक्टर सामुदायिक वनमा आगलागी हुँदा करिब १५ सयदेखि २ हजारसम्म साना विरुवा तथा ठूला रुखलाई असर परेको छ । ठूला रुख जलेर नष्ट नभए पनि सुक्ने समस्या हुने स्थानीयको चिन्ता छ । चाँडै वृक्षारोपणको कार्यक्रम गरिदिन समेत माग गरेका छन् । यता जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भावना शाहीले आगालगीबाट सामुदादिक वनको डेढ हेक्टर जमिनमा क्षति भएको बताइन् । आगलागी भएको वनमा चाँडै वृक्षारोपण कार्यक्रम गरिने सहायक वन अधिकृत शाहीको भनाइ छ । वन क्षेत्र घट्दै गएको अवस्था वनजंगलको संरक्षण तथा प्रर्वद्धनमा सबै जुट्नुपर्नेमा जोड दिइन् ।






