यसर्थ बदलिएन हाम्रो समाज

मुलुकमा रहेका समस्या उत्पन्न हुनुमा नेपाली समाजको चरित्र पनि जिम्मेवार रहेको देखिन्छ । जनताहरू कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादी त कहिले अनेक नयाँ राजनीतिक दलहरूमा विभाजित हुनाले नागरिक एकता कमजोर बन्दै गएको छ । देशका समस्या समाधान गर्नका लागि सबै एकजुट भएर शक्ति केन्द्रहरूलाई दबाब दिन नेपाली समाज पछाडि परेकाले राजनीतिक दल, राज्य एवं यसका संयन्त्रहरू जनउत्तरदायी बन्न सकेनन् । अहिलेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि जनहितमा काम गर्न नसकेको भन्दै फेरि जनताहरू राजतन्त्रको पुनःस्थापनाका लागि सडकमा आउन थालेका छन् ।

नेपाली समाजले कहिले रामबहादुर त कहिले श्यामबहादुरको शैलीमा राजनीतिक दर्शनको पछि लाग्ने चरित्रका कारण देशले विकासको कति लिन नसकेको हो । पुँजीवाद, माक्र्सवाद, लेनिनवाद, मदन भण्डारीको जबज, बीपीवाद, माओवाद, समाजवाद आदि इत्यादि राजनीतिक हल्लामा विभाजित नेपाली समाजले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले प्रजान्त्रको नाम भजाउने जभन मण्डलीहरूको कार्यशैली सच्च्याउनतर्फ किन लाग्दैनन् ? अहिले पनि कोही आफूलाई कम्युनिस्ट ठान्दछन् । कम्युनिस्टभित्र पनि विभिन्न नाम, गुट, उपगुटका नेता विशेषका मतियार भएका छन् । कोही कांग्रेस हुँदा आपूmलाई प्रजातन्त्रवादी ठान्दछन् । गर्वको अनुभूति गर्दछन् । कोही माओवादको चिन्तनमा रमाएर लुकेर हिँडेका छन् । लुकेका मान्छे बताइदिएका निहुँमा मानिसहरूको घाटी रेट्दै गरेका छन् । कोही मदेसको नश्लीय चिन्तनमा चर्का वहस गर्दछन् । कोही धार्मिक समूह त कोही जातीय सोचबाट निर्देशित भएको अवस्था छ ।

उल्लिखित सामाजिक चरित्रको मुख्य कारण समाजमा शिक्षाको अभाव हुनु हो । अझै नेपाली समाजमा नागरिक शिक्षाको विषय वस्तुको ज्ञान अत्यन्त न्यून छ । नागरिक शिक्षा र लोकतन्त्र एक अर्काका परिपूरक हुन् । विद्वान् चिन्तक गुटम्यानले नागरिक शिक्षाले जनताहरूलाई राजनीतिक ज्ञान दिनुका साथै विकास निर्माणमा सहभागि हुने सामाजिक चेतनाको विकासमा मद्दत गर्दछ भनेका छन् । नागरिक शिक्षाले समाजलाई संविधानले दिएका हक, अधिकार, नीति, नियम, कानुन, विधि र विधानहरूको ज्ञान दिलाउनुका साथै राज्यद्वारा प्रदत्त हक तथा अधिकारहरूको उपयोग गर्न सक्षम बनाउँछ । राज्यले गर्ने कमीकमजोरीका विरुद्घमा नागरिकहरू एक जुट हुनसक्ने चेतनाको विकास गराउँछ । समाजमा नागरिक शिक्षाको अभाव भएको कारणले जनताहरू दलका भोट बंैक मात्र बने । राजनीतिकदलका कार्यकर्ता वा समर्थकहरूले देशभन्दा ठूलो आप्mनो आस्थाको राजनीतिकदल र आप्mनो स्वार्थलाई प्रमुख बनाए । यसर्थ समाज बद्लिएन ।

राजनीतिलाई गलत रूपले प्रयोग गर्दा नेपाली समाजमा भाइ फुटे गवार लुटे भन्ने उखान चरितार्थ भएको छ

शिक्षाविद स्टोकीले सामाजिक जीवनमा व्यक्तिलाई नैतिकवान् बनाउन नागरिक शिक्षाको ठूलो भूमिका हुने अवधारणा राखेका छन् । हाम्रो देशको सन्दर्भमा लोकतन्त्र त आयो । राजनीतिक रूपले जनताहरू सचेत पनि भए । तथापि, समाजका हरेक तह र तप्काका व्यक्ति एवं व्यक्तित्वहरूमा लोकतान्त्रिक व्यवहार र नैतिक आचरण जनहितकारी हुन सकेन । लोकतन्त्रका सञ्चालकहरू नै लोकतान्त्रिक आचरण र व्यवहारले परिपक्क बन्न सकेनन् । अहिले जनताका लागि जनताद्वारा, जनताकै माध्यमबाट गरिने शासन पद्घतिबाट जनताहरू नै पीडित हुनु परेको अवस्था छ । यसर्थ अनुशासित समाज र जनकल्याणकारी राज्य निर्माणका लागि समाजमा नागरिक शिक्षाको विषयवस्तुको प्रशिक्षण आवश्यक ठानिन्छ ।

ं१९९७ को शहीद प्रकरणदेखि २००७ साल, २०३६ साल, २०४६ र २०६२ । २०६३ को जनआन्दोलन हँुदै विश्वको इतिहासमा नै नभएको दुईदुईपटक संविधानसभाको निर्वाचन गरी संघीय गणराज्य नेपालको समाजवाद उन्मुख संविधान बनाउने यात्रासम्मको राजनीतिक चेतनाको आधारमा योगदान दिएका नागरिकहरूले जुन राजनीतिक दललाई स्थाापित गरे हरेक कालखण्डमा तिनीहरूबाट नै ठगिन बाध्य भएका छन् । प्रजातन्त्रका लागि आठ दशकभन्दा लामो संघर्ष गरेको नेपाली समाजले प्रजातान्त्रिक साशन व्यवस्थालाई वैज्ञानिक विकास र सामाजिक न्यायको पक्षमा उपयोग गर्न पाएनन् । राजनीतिक चेतनाले मात्र समाज बदलिएन ।

प्रजातन्त्रको पुनःस्थापना २०४६ पछाडिका तीन दशक समाजमा झगडा, असमझदारी, राजनीतिक विवाद एव आपसी आलोचनामा नै बित्यो । २०५२ साल पछाडि संसदीय व्यवस्था र यस व्यवस्थाका सञ्चालक तत्कालीन नेपाली कांग्रेस र एमाले दलहरूको कार्यशैलीबाट असन्तुष्ट भई समाजमा रहेको पछौटेपन, गरिबी, अभाव, भ्रष्टाचार, अन्याय, विभेद र अविकासको नारालाई उछालेर लुकेर १० वर्षको जनयुद्ध चलाउने तत्कालिन माओवादी पार्टीले विरोध, ध्वंस, झगडा, लफडा एवं हत्या हिंसा ग¥यो । कम्युनिस्टहरूको राजनीतिक इतिहासको अध्ययन गर्दा यिनीहरू भत्काउन र विगार्न सिपालु देखिन्छन् । तत्कालीन माओवादीले देशलाई कर तिर्ने उद्योगी, व्यवसायी र संघ संस्थाहरूलाई ध्वस्त पार्ने काम ग¥यो । जग्गा जमीन भएका किसानहरूलाई शोषक र सामन्तीको बिल्ला भिराइदियो ।

किसानको उब्जनी हुने जमिनमा पार्टीको झन्डा गाड्ने, देशको शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षा भनेर नैतिक शिक्षाका किताबहरू च्यात्ने काम ग¥यो । अरूले बनाएका संरचना डिस्ट्रक्सन गर्न जान्ने तर कन्स्ट्रक्सन गर्न नजान्ने नेतृत्वका कारण देशले विकासको गति लिन सकेन । यो देशलाई कसरी विकास गर्न सकिन्छ भन्ने मार्गचित्र र अबको समाजमा कस्तो शिक्षाको खाँचो छ भन्नेमा भने अनभिज्ञ प्रमाणित भए । राजनीतिक स्वार्थका लागि सोझा सिधा जनता झुकक्याउने राजनीतिक जादुगरहरूका कारण जनताहरू बाँडिए । भाँडिए । यति धोखा र हन्डर खाँदा पनि नेपाली समाज अझै पनि राजनीतिक दलका पछाडि लामबद्घ छ । यसरी हेर्दा अझै पनि समाजले चेतेको पाइँदैन ।

समाजमा नागरिक शिक्षाको अभाव भएको कारणले जनताहरू दलका भोट बैंक मात्र बनेका छन्

नेपाल हामी सबै नागरिकहरूको साझा घर होभन्ने हरेक नागरिकमा अनुभूति नभएसम्म यो देशको सुरक्षा, संरक्षण, प्रगति र विकास हुन सम्भव छैन । देशको राजनीति, प्रशासन, सैनिक, शिक्षा, स्वास्थ्य, उद्योग, बन्द व्यापार, कृषिलगायतका पेसाहरूमा हरेक क्षेत्र, समुदाय एवं सम्प्रदायका मानिसहरू नै संलग्न हुने हो । देश विकास गर्नका लागि प्रत्येक नागरिकको सकारात्मक सोंच, देश पे्रम, दायित्वबोध अनि कर्मशीलता चाहिन्छ । मुलुकमा भ्रष्टाचार छ । अन्याय, अत्याचार, महँगी, कमिसनतन्त्र, आफन्तवादलगायतका समस्याहरू व्याप्त छन् । उल्लिखित समस्याहरूको स्रोतकेन्द्र बालुवाटार र सिंहदरबार त हुन् नै । यसको साथै, समस्याहरू सिर्जना हुनमा नागरिकहरूको पनि प्रत्यक्ष्य वा परोक्ष संलग्नता रहेको पाइन्छ । अहिलेको अवस्थामा सबै नेपालीहरू एकजुट भएर राज्यका कमी कमजोरीहरूप्रति खरो उत्त्रने कि कांग्रेस, कम्युनिस्ट, मदेशवादी, राजावादी आदिका कित्तामा उभिएर वकालत गर्दै हिँड्ने ? यसरी हेर्दा नेपाली समाजको अबको गन्तव्य कुनै व्यक्ति विशेष र राजनीतिक दर्शनको पछाडि होइन समस्याहरू समाधान गर्ने उपायको खोजीमा लाग्न विलम्ब गर्नुहुँदैन ।

राजनीति नेतृत्वलाई सही दिशानिर्देश गराउन दलका कार्यकर्ताले नसक्ने प्रमाण नेपालको इतिहासमा ताजा छ । प्रजातन्त्र पछाडि नेपाली काग्रेस कार्यकर्ताकै स्वार्थबाट विखण्डित भयो । मुलुकलाई यसको असर अहिले सम्म परीरहेको छ । यसैगरी एमाले लगायतका वाम घटकहरू आन्तरिक विवादले थङ्थिलो भएका छन् । राजनीतिक दलका नेतागणहरू राजनैतिक स्वार्थमा भाले जधाई गर्नु लज्जास्पद बिषय हो । कुनै पनि राजनीतिक दल वा सरकार भन्दा देश ठूलो हो । आज युरोप र अमेरिकालगायत एसियाका कतिपय दक्षिण कोरिया, जापान, मलेसिया, सिंगापुर, यूएई, चीनलगायतका देशहरू त्यहाँका नागरिकहरूको मिहिनेत र पसिनाले समृद्घ भएका हुन् । त्यहाँको नेतृत्व इमानदार भएर काम गरेकोले विकास भएको हो । आज हाम्रा देशका युवाहरू ती मुलुकहरूमा पसिना बगाउन बाध्य छन् । यो राजनीतिक दुष्कर्मको नतिजा हो ।

साँच्चै नै देशलाई विकास र सुशासनको बाटोमा हिँडाउने होभने अहिले नेतृत्वमा रहेको पस्ताबाट सभव देखिदैन । यसर्थ पढे लेखेका, देश दुनियाँ देखेका युवा पुस्ता स्वदेशमै बसेर राजनितिले सिर्जना गरेका विसंगतिविरुद्ध लाग्न जरुरी भै सकेको छ । विदेश बसेर नेपाललाई माया गर्छु भन्ने भावनात्मक अभिव्यक्तिहरूले देश विकासमा सहयोग गर्न सक्दैनन् । आस्थाको आधारमा नागरिकलाई तितरबितर पारेर सिमित वर्गले राज्यको ढुकुटीमा मोजमस्ती गरेको छ । राजनीतिलाई गलत रूपले प्रयोग गर्दा नेपाली समाजमा भाइ फुटे गुवार लुटे भन्ने उखान चरितार्थ भएको छ । लोकतन्त्र नेपाली नागरिकहरूका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो भएको छ ।

यसर्थ राजनीतिक दल र राज्यद्वारा सिर्जित विसंगतिहरूका विरुद्घमा नागरिक एकै ठाउँमा गोलबद्ध होऔं । अब कुनै वाद र वादीका पछाडि होइन । समस्या सिर्जनागर्ने जिम्मेवार व्यक्ति, संयन्त्र वा अख्तियारवालालाई जिम्मेवार बनाउने कार्यमा लागौं । खबरदारी गरौं । सक्षम नेतृत्वको खोजी गरौं । विभिन्न क्षेत्रका विज्ञहरूका विज्ञतालाई विकास निर्माणमा उपयोग गरौं । अनि मात्र बदलिन्छ समाज, विकास हुन्छ देश ।

तपाइको प्रतिक्रिया
(Visited 723 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार