सप्तरी, राजविराज । राजविराजस्थित एक गैरसरकारी संस्थाले दुई सय जना असहाय तथा विपन्नलाई राहत सामाग्रि बितरण गरेको छ ।
साउदी अरबस्थित इस्लामिक विकास बैंकको सहयोगमा मुद्दि मोहरम स्मृती कल्याणकारी प्रतिष्ठानले बिहीबार पहिलो चरणमा २ सय जना असहाय तथा विपन्नलाई २५ केजी चामल, १० केजि दाल, १० केजि आलु, ५ लिटर खाने तेल, ३ केजि प्याजका साथै सेनिटाइजर, माक्स र साबुन लगायतका सामाग्रि बितरण गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष हासिम अन्सारीका अनुसार १ हजार जना कोरोना प्रभावित असहाय तथा विपन्नलाई राहत बितरण गर्ने योजना रहेको छ । राहत बितरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि राजविराजमा एक सय बेडको अस्पताल निर्माणका लागि समेत बैंकले सहयोग गर्ने आश्वासन दिएको अन्सारीको कथन छ ।
प्रतिष्ठानका उपाध्यक्ष इर्साद अन्सारीले पहिलो चरणमा दुई सय जना असहाय र विपन्नलाई दिइएको राहत बाँकी ८ सय जना समेतलाई क्रमश बितरण गरिने बताएका छन् ।
हामीले एक हजार जनाको सूची तयार गरिसकेका छौं, उनले भने, “बाँकी ८ सय गरिब, असहायलाई पनि केही दिनभित्रै राहत बितरण गर्ने छौं ।”
यता राहत पाएपछि असहाय र विपन्न समुदाय हर्षित देखिन्थे । राहत पाएर घर फर्किदै गरेकी राजविराज ४ की सीता कार्कीले भनिन्, ‘प्रतिष्ठानले गरेको कार्य मानविय दृष्टिकोणबाट समेत महत्वपूर्ण छ, हामी निकै खुशी छौं ।’ समस्यामा परेका गरिब, असहायलाई मानविय सहायतको दृष्टिले गरिएको राहत सामाग्रि बितरण कार्य सहनिय रहेको भन्दै स्थानियले सहयोगि र आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् ।






