कालिकोट । कालिकोटमा रहेको स्वास्थ्य सेवा कार्यालयबाट स्थानीयले दुई दिन मात्र विशेषज्ञ सेवा पाउने गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकले महिनामा दुई दिन मात्र सेवा दिने गरेका छन् ।
सरकारले प्रत्येक स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन १५ शय्याको अस्पताल सञ्चालन गर्ने नीति पारित गर्दा पनि कालिकोटका स्थानीयले अहिलेसम्म जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट विशेषज्ञ सेवा पाएका छैनन् । जुम्लाबाट आएका दुई चिकित्सकले दुईदिने सेवा दिने भएकाले उपचारका लागि बिरामीको लाम लाग्ने गरेको छ ।
अन्य दिन अस्पताल सुनसान रहे पनि महिनाको १५ गते र २८ गते सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । १५ फागुनमा सय बढी सेवाग्राही चिकित्सकको प्रतीक्षामा बसिरहेका थिए । समयमा चिकित्सक नआएकाले आस मारिसकेका सेवाग्राहीले चिकित्सक पुग्दा खुसी लागेको शुभकालिका गाउँपालिका–५ निवासी टक्क सुनारले बताए । उनले भने,‘बिहानदेखि चिकित्सकलाई कुरेर बसेका छौं, चिकित्सक आइपुगेका छैनन् । चिकित्सक आएमा उपचार हुन्छ होला ।’
आठविस नगरपालिका–५ दैलेख निवासी जुनकला विष्टले खुट्टामा चोट लागेकाले हाडजोर्नी विशेषज्ञ चिकित्सक आउने भएकाले उपचार गराउन आएको बताइन् ।
उनले अन्य दिन कालिकोटमा विशेषज्ञ चिकित्सक नहुने भएकाले आफूहरू उपचार गराउन नआउने गरेको बताइन् ।
उनले अहिलेसम्म कुर्दा पनि चिकित्सक नआएकामा समेत गुनासो गरिन् । उनले सामान्य हात भाचिँदा पनि महिना दिन चिकित्सक कुर्नुपर्ने भएकाले अब कालिकोटबाटै सेवा नियमित गर्न माग गरिन् । उनले दुई दिनभन्दा पनि महिनाभर सेवा पाएमा नागरिक सन्तुष्ट हुनेसमेत बताइन् ।
कालिकोटमा आठ जनाको दरबन्दी रहे पनि अहिलेसम्म एक जना चिकित्सकको भरमा जिल्ला स्वास्थ्य कार्यालय चलिरहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक भीष्म पोखरेलले बताए । जिल्ला स्वास्थ्य सेवा कार्यालयले दुईपटक विज्ञापन गर्दा पनि कालिकोटमा चिकित्सक आउनै नमान्ने पोखरेलको भनाइ छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयमार्फत सामान्य उपचार गराइरहेको भए पनि महिनाको दुई दिन कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ सेवा दिँदै आएको डा. पोखरले बताए ।
कालिकोटमा आएर सेवा दिन पाएकामा निकै खुसी लागेको जनरल सर्जरी डा. सूर्यमान लिम्बूले बताए । उनले भने, ‘कालिकोटमा आएर हामी दुई दिन चेकजाँच गर्छौं । सामान्य बिरामीलाई यतैबाट उपचार गराएर पठाउँछौं । जटिल प्रकृतिको बिरामी भए जुम्ला लिएर जान्छौं । र, उपचार गर्छौं ।’ त्यस्तै, हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायाले कालिकोटमा आएर सेवा दिए पनि कालिकोटवासीको साथ नपाएको बताए । उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अन्य ठाउँमा पनि सेवा दिँदै आएको बताए । उनले कालिकोटमा आएर उपचार गराउँदा पनि सरोकारवालाले चासो नदेखाएको गुनासो गरे । कालिकोटकै मुख्यमन्त्री हुँदा पनि स्थानीयले नियमित सेवा पाउन सकेका छैनन् ।






