रोशन श्रेष्ठ
काठमाडौं । सशस्त्र प्रहरी बलको भावी नेतृत्वलाई लिएर अहिलेदेखि नै चर्काे लविङ सुरु भएको छ । हालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको कार्यकाल एक वर्ष बाँकी रहे पनि आगामी वैशाखको तेस्रो साता दुई जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को चार बर्से कार्यकाल सकिने भएकाले अहिलेदेखि नै लविङ सुरु भएको हो ।
सशस्त्र प्रहरीमा हाल पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । दुबै जना आईजीपी खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएको अवस्थामा खनालपछि केसी आईजीपी बन्ने र हाल सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका खड्गबहादुर राई र मन्दिप श्रेष्ठ डीआईजीबाटै अवकाश पाउने भएकाले पनि अहिलेदेखि नै लविङले तिब्रता पाएको हो ।
केसी र पौडेलको एक वर्ष म्याद थप भएको अवस्थामा डीआईजीद्वय राई र श्रेष्ठले आगामी २६ माघमा अनिवार्य अवकाश पाउने छन् । म्याद थप नभएको अवस्थामा राईले खनालपछि सशस्त्रको नेतृत्व लिनेछन् ।
स्रोतका अनुसार, एआईजीद्वय केसी र पौडेलको म्याद थपसम्बन्धी फाइल अघि नबढाउन सशस्त्र नेतृत्वमाथि चर्काे दबाब परेको छ । केसी र पौडेल आईजीपी खनालकै ब्याची भएकाले एक जनाको कार्यकाल सकेपछि सोही ब्याचका अर्का व्यक्तिलाई आईजीपी बनाउन नहुने भन्दै अन्य वरिष्ठ अधिकृतले पनि लविङ थालेका छन् ।
सशस्त्र प्रहरीमा पछिल्लो पटक २०७२ सालमा सशस्त्र प्रहरी नियमावली लागूू भएपछि अहिलेसम्म पनि विशिष्ट श्रेणीमा कार्यरत व्यक्तिको पदावधि थप गरिएको छैन । यद्यपि, प्रथम श्रेणी (डीआईजी) हुँदा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धितालको पदावधि थपिएको थियो । विशिष्ट श्रेणीको पदावधि थप्दा अन्य अधिकृतहरुको वृत्ति विकासमा गम्भीर असर पर्ने, नेतृत्वलाई काम गर्न अप्ठेरो हुने मत पनि सशस्त्रमा बलियो हुदै गएको छ ।
वरिष्ठतामा एक नम्बरमा रहेका एआईजी केसीमाथि हालका आईजीपी खनाललाई राम्रोसँग काम गर्न नदिएको आरोप लाग्दै आएको छ । म्याद थप भएको अवस्थामा लामो समयसम्म संगठनको नेतृत्वमा रहन उनी अहिलेदेखि नै ३० बर्से सेवा अवधि हटाउने खेलमा लाग्ने डर पनि सशस्त्रका वरिष्ठ अधिकृतहरुलाई छ ।
चर्काे लविङकै कारण सशस्त्र मुख्यालयले दुई जना एआईजीको एक वर्ष म्याद थपसम्बन्धी फाइल गृह मन्त्रालयलाई पठाएको छैन । सशस्त्रका अधिकाँश वरिष्ठ अधिकृत दुबै जनाको म्यद थप्न नहुने पक्षमा छन् ।
सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार/चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।
तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको समयमा सशस्त्र प्रहरी नियमावली २०७२ आएको हो । नयाँ नियमावली आउनु अगाडि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदावधि पाँच वर्ष रहेको थियो ।
तत्कालीन आईजीपी वन्तले एआईजी र डीआईजीलाई संगठन र नेतृत्वप्रति जिम्मेवार र अनुशासित बनाउन, कार्यसम्पादन राम्रो र क्षमता भएकालाई अगाडि बढाउने उद्धेश्यले नियमावलीमा चार जोड एकको व्यवस्था गरेका थिए ।
यस्तो छ नेतृत्वको जोड घटाउ
सशस्त्र प्रहरी महानिरीक्षक खनालको चार बर्से कार्यकाल आगामी वर्षको २८ चैतमा सकिदै छ । हाल रहेका दुई जना एआईजीको कार्यकाल आगामी २० वैशाखसम्म रहेको छ । २० वैशाख अगाडि दुबै जना एआईजीको म्याद थप भए डीआईजी राई र श्रेष्ठ डीआईजीबाटै २६ माघमा घर जाने छन् ।
यदि दुबै एआईजीको म्याद थप नभएको अवस्थामा वरिष्ठताका आधारमा राई पहिलो नम्बरको एआईजी बन्नेछन् र आईजीपी बन्न उनलाई बाटो खुल्ने छ ।
त्यसपछि खनालको अवकाशसँगै राई १० चैत २०७९ सम्म आईजीपी बन्नेछन् । उनी ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
राईसँगै मन्दिप श्रेष्ठ, प्रविणकुमार श्रेष्ठमध्ये एकजना एआईजी बन्ने छन् । मन्दिप र प्रविणमध्ये मन्दिप रासन घोटाला काण्डमा मुछिएको र उनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेकाले प्रविण नै अगाडि आउने आँकलन गरिएको छ ।