काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग चरणको अन्तिम खेलमा प्ले अफमा स्थान पक्का गरिसकेको काठमाडौं रेजर्ससँग २–१ ले पराजित हुँदै चितवन लिगमा जितविहीन बनेको हो ।
लिगमा चितवनले ६ खेल खेल्दा दुई बराबरी र चार हारको नतिजा निकाल्यो । यसक्रममा चितवनले ५ गोल गर्दा ११ गोल खाएको छ । लिगमा चितवनले ललितपुरसँग १–१ गोलको तथा बुटवल लुम्बिनीसँग २–२ गोलको बराबरी खेलेको थियो । त्यसपछिको सबै तीन खेलमा चितवन धनगढीसँग ३–०, विराटनगरसँग २–० र पोखरासँग २–१ ले पराजित भएको थियो । लिगमा पोखराले २ अंक मात्रै जोड्न सक्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा काठमाडौंले चितवनलाई हराएसँगै लिगको शीर्षस्थानमा उक्लिएको छ । काठमाडौंले लिगको ६ खेलबाट ४ जित र १ बराबरी र १ हारबाट १३ अंक जोड्यो । काठमाडौंका मेसौके ओलुमोउ र सन्जोक राईले गोल गर्दा चितवनका राजीज लोप्चनले एक गोल फर्काए ।
खेलको १६औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । विश्वास उदासको लामो पासलाई नियन्त्रणमा लिँदै मेसौकले दुई डिफेन्डरबीचबाट गोलरक्षकबाट बिट गर्दै गोल गर्न सफल भएका थिए । जारी लिगमा उनको यो पाँचांै गोल हो । उनले विराटनगर सिटी एफसीविरुद्ध ह्याट्रिक पूरा गरेका थिए ।
३३औं मिनेटमा सन्जोक राईले गोल गर्दै काठमाडौंको अग्रता दोब्बर पारे । विश्वास श्रेष्ठको क्रसलाई चितवनका डिफेन्डर रुडी जोनाथनले क्लियर गर्न नसकेको बललाई सन्जोकले सहजै फिनिस गरेका थिए । लगत्तै ३५औं मिनेटमा मेसौके ओलुमोउको पासमा सन्जोकले सुवर्ण अवसर खेर फाले । ४०औं मिनेटमा राजीव लोप्चनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
सुनिल श्रेष्ठको प्रहारलाई गोलरक्षक रोमन रसाइलीले रोके पनि रिवाउन्डमा राजीवले गोल गर्न सफल भएका हुन् । ४४औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारामा लागेर बाहिरिँदा काठमाडौं अग्रता बढाउनबाट चुक्यो ।
दोस्रो हाफमा दुवै टोलीबाट उल्लेख्य गोलको अवसर सिर्जन हुन नसक्दा पहिलो हाफको तीन गोलले नै खेलको छिनोफानो ग¥यो । काठमाडौं रेजर्सका विश्वास उदास इमर्जिङ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौं रेजर्सकै तेज तामाङ प्लेयर अफ दि म्याच घोषित भए । उनले ट्रफीसँगै २५ हजार रुपैयाँ हात पारे ।
लिगमा सोमबार कुनै खेल हुने छैन । मंगलबार शीर्ष दुई टोली धनगढी एफसी र काठमाडौं रेजर्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । यस खेलमा पराजित हुने टोलीले २९ वैशाखमा हुने ललितपुर र बुटवल लुम्बिनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको छ ।
राउन्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
एनएसएलमा ५० गोल पूरा
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा ५०औं गोल पूरा भएको छ । एफसी चितवनका राजीव लोप्चनले काठमाडौं रेजर्सविरुद्ध गोल गरेपछि लिगमा ५० गोल पूरा भएको हो ।
लिगमा उनको यो पहिलो गोल हो । एनएसएलको लिग चरण र २५ मध्ये २१ खेल सकिँदा लिगमा हालसम्म ३२ खेलाडीले गोल गर्दा सर्वाधिक गोलकर्ताको सूचीमा काठमाडौं रेजर्सका मेसौके ओलुमोउ अग्रता स्थानमा रहेका छन् । उनले लिग चरणका ६ खेलमा ५ गोल गरेका छन् ।
उनले लिग चरणको पाँचांै राउन्डको खेलमा विराटनगर सिटी एफसीविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । ओलुमोउ लिगको पहिलो गोलकर्ता हुन् । उनले काठमाडौं रेजर्सविरुद्ध गोल गरेका थिए । त्यसपछि उनले एफसी चितवनविरुद्ध गोल गरेका थिए ।