काठमाडौं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर ल्याएको छ । स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर आइपुगेका हुन् ।
उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्र संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको हो । नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइने उनले बताए ।
सिलिन्डर अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि, ४ सय सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । १८ हजार आइसकेपछि बाँकी १ हजार ६ सय सिलिन्डर जहाजबाट ल्याउने तयारी भइरहेको छ ।
त्यस्तै, चीनबाट ५ सय ५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याइएको छ । शनिबार सिलिन्डर ल्याउन जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली संघको सहयोगमा ५ सय ६० खाली सिलिन्डर आएको थियो ।
कोभिड–१९ संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डर अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।






