चर्काे विवादपछि तीन दिनमै राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले अन्ततः पदबाट राजीनामा दिएका छन् । मन्त्री हमालको नियुक्तिको विषयलाई लिएर सार्वजनिक रूपमा विवाद उत्पन्न भएपछि उनले मन्त्री पदमा शपथ लिएको तीन दिन बित्न नपाउँदै राजीनामा दिएका हुन् ।

हमालले बुझाएको राजीनामा पत्रमा आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन उपयुक्त नठानेर राजीनामा दिएको उल्लेख छ । ‘मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् ।

राजीनामा’bout प्रधानमन्त्रीको सचिवालय र मन्त्री हमालको फरकफरक भनाइ

सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलको गठबन्धनमा कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री देउवाले तेस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दै २२ असोजमा हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी सुम्पिएका थिए । हमालले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

हमाल मन्त्रीमा नियुक्त हुनुपूर्व नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रीमा पनि भागबन्डा खोजेको भनेर विवाद सिर्जना भएको थियो । हमाल मन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको भनेर झनै आलोचना बढेको थियो ।

प्रधानमन्त्री देउवा सचिवालयले हमालको नियुक्तको विषयलाई लिएर विवाद सिर्जना भएपछि प्रधानमन्त्री देउवाले उनलाई राजीनामा दिन आग्रह गरेको जनाएको छ ।

हमालले राजीनामा दिँदै आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको जनाएका छन् । ‘हाल विभिन्न सञ्चारमाध्यमहरूमा सम्प्रेषित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

राजीनामा पत्रमा उनले लामो समय कांग्रेसमा रहेर काम गरेको तर अहिले अन्यत्र जोडेर प्रश्न उठेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘लामो समयदेखि कांग्रेसको विभिन्न पदहरूमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु,’ उनले भनेका छन् ।

कतिपय कांग्रेस नेताहरूले समेत उनको नियुक्तिको विषयलाई लिएर असन्तुुष्टि जनाएका थिए ।

हमालको नियुक्तसँगै कानुन व्यवसायीले समेत प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागबन्डा खोजेको भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरूले एक भेलाको आयोजना नै गरेर न्यायपालिका स्वतन्त्र रहनेमा चिन्ता व्यक्त गर्दै नियुक्तिको विरोध जनाएका थिए । हमाल प्रधानन्यायाधीश राणाका जेठानसमेत हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म