कालोबजारी गर्नेलाई कारबाही : मन्त्री भट्ट

काठमाडौं । सरकारले कोरोना भाइसरको त्रास देखाएर उपभोक्ताबाट बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बजारमा दैनिक उपभोग्य वस्तु प्राप्त हुँदाहुँदै अभाव देखाएर कालोबजारी गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।

व्यापारीले उपभोक्ताबाट बढी मूल्य लिएर बिक्री गरी ठगी गरेको पाइएमा तत्काल कारबाही गरी ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न सक्ने अधिकार उपभोक्ता संरक्षण ऐन २०७५ ले सुनिश्चित गरेको छ । कोरानाको त्रासका कारण समयमै बजारमा दैनिक उपभोक्ता वस्तुको अभाव छ भन्दै हल्ला फैलाएर कालोबजारी गर्ने मूल्यभन्दा बढी लिई सामान बिक्री गरेको पाइएमा कालोबारी ऐनमा टेकेर समेत कारबाही गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतावनी दिएका छन् । लेखराज भट्टले कुनै व्यापारीले सामान लुकाएमा सिधा कानुनबमोजिम कारबाही गर्ने बताए ।

भट्टले भने, मास्क, स्यानेटाइजर जस्ता सामग्रीमा मात्रै केही अभाव देखिएको छ । , ‘दैनिक उपभोक्ता वस्तु दाल, चामल, तेल, नुन, चिनीजस्ता खाद्य तथा पियपदार्थ, ग्याँसलगायतमका सामान आपूर्तिमा कुनै समस्या छैन’ । अहिले उभपोक्ताले दैनिक उपभोग्य वस्तुको अभाव हुन्छ कि भनेर आत्तिनुपर्ने अवस्था छैन’ ।

खाद्यन्नलगायतका अन्य वस्तु खाना पकाउने एलपी ग्याँस लिन लामो लाइन लागेको, मास्क तथा अन्य सामानमा कालोबजारी भएको चर्को गुनासो उपभोक्ताबाट आएको छ । भट्टले भने, संकटका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर व्यवसायीले सामान बिक्री गरेको पाएका जरिमाना मात्रै गरेर छोड्ने होइन कानुनबमोजिम जेलसम्म हाल्ने हो ।

काठमाडौं उपत्यकामा विशेषगरी गुणस्तरीय मानिएको नेपाल ग्याँसमा ठूलो चाप परेको छ । त्यसलाई हटाउने लक्ष्यका साथ नेपाल आयल निगमले मागभन्दा झन्डै दोब्बर ग्याँस सिलिन्डर बजारमा पठाउन निर्देशन दिइसकेको छ । उपभोक्ताले पनि संकटका बेलामा आवश्यकताभन्दा बढी ग्याँसका सिलिन्डर भण्डारण गरेकाले नयाँ सिलिन्डर नै पाउन मुस्किल परेको छ । नयाँ सिलिन्डर नभएका कारण रिफिलिङ गर्न समस्या देखिएको छ ।

सामान्य अवस्थामा ३७ हजार टन ग्याँस आयात हुने गरेकोमा कोरोना त्रासपछि नेपाल आयल निगमले ४५ हजार टनका लागि प्रोडक्ट डेलिभरी अर्डर(पीडीओ) जारी गरेको छ । यो हालसम्मकै बढी हो । त्यसमा अत्यावश्यक भन्दै थप पाँच हजार टनको व्यवस्था गरेको छ ।

निगमले होलीका समयमा भारतबाट ग्याँस आयात र लोडिङ गरिरहेको छ । होलीको समयमा बिदा हुने भए पनि त्यसलाई परवाह नगरी ग्याँस लोडिङ गरिएको हो । निगमले सुरक्षालगायतका कारण पनि आवश्यकभन्दा बढी ग्याँसको सिलिन्डर नराख्न उपभोक्तालाई आग्रह गरेको छ । ग्याँस पाइन्न कि भनेर उपभोक्तामा त्रास बढेपछि निगमले ४४ हजार सिलिन्डर पठाएको छ ।

यसअघि उपत्यकामा दैनिक ३० हजार सिलिन्डर मात्रै ग्याँस आपूर्ति हुन्थ्यो । उपभोक्तालाई सहज आपूर्ति गर्न थप १४ हजार सिलिन्डर पठाइएको छ । बजारमा कुनै पनि वस्तुको आपूर्ति कम हुन नदिने सबै सरकारी निकाय अहोरात्र परिचालित भएको मन्त्री भट्टको भनाइ छ । ‘हामीले आपूर्ति कम हुन नदिन सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौं । कर्मचारी पनि परिचालित भएका छन् । कुनै पनि वस्तुको आपूर्तिमा कमी हुन दिइँदैन ।’

मन्त्री भट्टले आपूर्ति तथा अन्य कुनै समस्या आए ११३७ नम्बरमा फोन गर्न सबैलाई आग्रह गरे । यो नम्बरमा फोन गर्दा कुनै पैसा लाग्दैन । आफ्ना समस्या तथा गुनासो राख्न सकिनेछ । पर्ने मूल्यभन्दा बढी मूल्यमा कुनै सामान बिक्री वितरण गरेको पाइए सो नम्बरमा गुनासो गर्न सकिनेछ ।

केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको सुरुवात गरेको छ । अहिले कुनै पनि दैनिक उपभोग्य सामग्रीको अभाव छैन । केही व्यापारीले अनावश्यक रूपमा हल्ला फैलाएका छन् । हाल साल्ट ट्रेडिङसँग आगामी दसैंसम्म पुग्ने गरी नुन स्टकमा छ । तर, नुन सकिए जसरी प्रचार भएको छ । यस विषयमा अनुसन्धान गर्नु जरुरी छ मन्त्री भट्टले भने । साविकको खाद्य संस्थानसँग कुल २० हजार मेट्रिक टन धान स्टक छ । उक्त परिमाणको धानबाट मात्रै १४ हजार मेट्रिक टन चामल उत्पादन हुन सक्छ ।

सरकारी मिलले मात्रै दैनिक एक हजार क्विन्टल बढी चामल उत्पादन गर्ने क्षमता राख्दछ । बजार अनुगमनलाई अब एकीकृत योजना र कार्यदलमार्फत अगाडि बढाउने सरकारको योजना छ । मुलुकका ३७ वटै नाकाबाट प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षण क्वारेन्टाइन निर्माण तथा तथ्यांक संकलन गर्नेसम्मको काम भइरहेको मन्त्री भट्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने