काठमाडौं । प्रतिनिधिसभामा बिहीबार बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा यो विषय समेटिएको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । त्यस दिन अर्थमन्त्री जनार्दन शर्माले आफू अस्वस्थ भएको भन्दै अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीको बुँदा नम्बर २ मा एमसीसी सम्झौतामा छलफलको विषय उल्लेख छ ।
यस्तो छलफलको प्रस्ताव अर्थमन्त्री शर्माले राख्नेछन् । शर्मा अनुपस्थित भए सरकारका तर्फबाट अन्य मन्त्रीले राख्न पाउँछन् । प्रतिनिधि सभाको बैठक बिहीबार १ बजे बस्दै छ । त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । कार्यव्यवस्था परामर्श समितिले सभामुखलाई बैठक सञ्चालनका लागि सुझाव दिन्छ । बैठकको कार्यसूची हेरेफेर गर्न पनि कार्यव्यवस्था परामर्श समितिले सुझाउने गर्छ ।
तारबारले घेरियो संसद् भवन
अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा पेस भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद् भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ ।
बिहीबारको संसद् बैठकमा अर्थमन्त्री शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सत्तारूढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन, राप्रपालगायतका अन्य दलहरूले समेत संसद् भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् ।






