नेमकिपाको घोषणा पत्र : नेपाली मौलिक शैलीको आवासमा जोड


काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न चालु पानीका स्रोतहरूलाई वैज्ञानिक ढङ्गले भण्डारण गरी उपचार पश्चात वितरण गर्ने नीतिसहितको घोषणा पत्र जारी गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनाव देशभक्त तथा एमसीसी विरोधी र एमसीसी पास गराइ देश बर्बाद गर्नेहरुबीचको प्रतिस्पर्धाको रुपमा लिइने नेमकिपाले उल्लेख गरेको छ ।

विहिवार राजधानीमा घोषणा पत्र जारी गर्दै नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंले ठूला शासक दलहरुले जस्तो जनतामा भ्रम फैलाइ पैसाको आडमा चुनाव जित्ने नभइ नेमकिपाले पूरा गर्न सक्ने प्रतिवद्धता मात्र उल्लेख गरेको र आफ्नो पार्टीले विगतमा चुनावमा गरेका प्रतिवद्धताहरु पालना गरी जनताको मन जितेको बताए ।

पार्टी सचिव प्रेम सुवालले शासक दलहरुले आश्वासन बाँधेजस्तो आफूहरुले बाँड्ने नगरेको र इमान्दारीका साथ कर्तव्य पालना गरेको उल्लेख गर्दै चुनाव आश्वासन बाँड्ने समय नभइ घोषणा पत्रको लडाइँ गर्ने समय भएको बताए । विगतका घोषणा पत्रहरु अध्ययन गरी जनतालाई झुक्याउने पार्टीहरुलाइ भोट दिन नहुने जिकिर उनले गरे ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा घोषणा–पत्र जारी गर्दै नेमकिपाले केही ठूला सहरमा मात्र जनसंख्या बढाउनेतिर लाग्नु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु सरह भएको उल्लेख गरेको छ ।

शासक दलका नेताहरूले जाति, भाषा, धर्म, क्षेत्र, झूटा आश्वासनका कुरा गरेर एवम् निर्वाचन आचारसंहितालाई मिचेर पैसा दिएर, भोजभतेर खुवाएर, लुगा, टर्चलाइट, मोबाइल, माछा–मासु तथा ग्यास सिलिन्डर बाँडेर निर्वाचन जित्दै आएको आरोप नेमकिपाको रहेको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकार एकसाथ सञ्चालन गरेका शासकदलहरूले आफ्ना प्रतिबद्धता पूरा नगरेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

स्थानीय तहमा भ्रष्टाचार मौलाएको र एक खर्बभन्दा बढी बेरुजु रहेको घोषणा पत्रमा उल्लेख छ । नगर प्रहरीका लागि स्थानीय पालिकाको सिफारिसमा योग्य युवाहरूलाई केन्द्र र प्रदेश प्रहरीबाट तालिमको बन्दोवस्त गर्नु आवश्यक रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
बेरोजगार युवाहरू घर–खेत बेची विदेश जाँदा हुने सामाजिक विकृति, आर्थिक क्षति र अनावश्यक मृत्युवरणलाई रोक्न आफ्नै देशमा रोजगारी दिन पालिकाहरूले कृषि तालिम, डकर्मी, सिकर्मी तालिम र अन्य दक्ष प्राविधिक मजदुरहरू तयार गरी देशको विकासमा सहयोग पु-याउने नेमकिपाको घोषणा पत्रमा लेखिएको छ ।

बस्ती बस्तीमा ढल र उपचार पोखरीको बन्दोवस्त गर्न प्राथमिकता दिलाउन अगुवाइ आवश्यक रहेको पनि नेमकिपाले उल्लेख गरेको छ ।
स्थानीय तहहरूको परम्परा र जनभावना अनुकूल पालिकाहरूको क्षेत्रफल मिलान एवम् सन्तुलित विकास गर्न ढिलो नगरिने प्रतिवद्धता नेमकिपाले गरेको छ ।

गाउँपालिकाहरूमा अनिवार्य र निःशुल्क प्राथमिक एवम् माध्यमिक शिक्षा लागु गराउन तथा नगरपालिकाहरूलाई क्षमताअनुसार महाविद्यालयहरू र प्राविधिक उच्च शिक्षालयसमेत स्थापना गराउन ढिलो गर्नु जनतालाई शिक्षाबाट वञ्चित गर्नु नै हुनेतर्फ सङ्घ र प्रदेश सरकारलाई बोध गराइने पनि नेमकिपाले उल्लेख गरेको छ ।

कृषि अर्थतन्त्रमा आत्मनिर्भर बनाउन पालिकाहरूका जनतालाई शिक्षित गर्ने,घर–घरबाटै इँटा, ढुङ्गा, सीसा, प्लास्टिक, का“च, फलामका काँटी–किलाजस्ता सामान अलग गराई पुनः प्रयोगमा पठाउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाउन उत्साहित गर्ने लगायतका योजनामा गम्भीरता देखाउनु आवश्यक रहेको घोषणा पत्रमा उल्लेख छ ।

कला संस्कृति सम्पदा संरक्षणका लागि सांस्कृतिक नगरपालिका वा गाउँपालिका घोषणा गराउन जोड दिइने पनि नेमकिपाको घोषणा पत्रमा उल्लेख छ । हरेक सक्षम पालिकाहरूले सङ्ग्रहालय बनाउनसमेत ध्यान पु¥याउँदा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पर्यटन सेवालाई पनि सहयोग पुग्ने नेमकिपाको तर्क छ ।

सिपालु सिकर्मी र डकर्मीले काठ, ढुङ्गा, इँटा र माटोको जोडाइको परम्परागत घर बनाउँदा बलियो हुने भएकाले र नेपाली हावा– पानीअनुसार मिल्ने भएकाले नेमकिपाले नेपाली मौलिक शैलीको आवास बनाउन जोड दिइने घोषणा गरेको छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू विजयी स्थानीय तहलाई भक्तपुर नगरपालिकाजस्तै देशकै नमुना हुने गरी सञ्चालन गरिने पनि घोषणा पत्रमार्फत प्रतिवद्धता गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी