लमजुङ । लमजुङमा सार्वधिक महिलाहरू आवद्ध रहेको महिला आपसी सहयोग केन्द्रको कार्य समितिको निर्वाचनमा धेरै वर्षपछि सर्वसम्मन नेतृत्व चयन भएको छ । अध्यक्षमा विमला भुजेल र उपाध्यक्षमा मनकुमारी गुरुङ निर्वाचित भएका छन् ।
उक्त केन्द्रको यसपटकको मतदाता संख्या एक हजार दुई सय ८७ रहेको थियो । केन्द्रमा विभिन्न क्षेत्रका ९ वटा उपसमिति आवद्ध छन् । ती समितिका संयोजक केन्द्रका पदेन सदस्य हुन्छन् भने अध्यक्ष र उपाध्यक्षको खुला मतदानबाट निर्वाचन हुने प्रावधान रहेको छ ।
२०४७ सालमा स्थापना भएको उक्त संस्थाको विमला भुजेल सातौं कार्यकालको अध्यक्ष तर व्यक्ति भने चौथो भएको उक्त केन्द्रका पूर्वअध्यक्ष एवम् राइनास नगरपालिकाका उपमेयर धनकुमारी गुरुङले बताइन् । उक्त केन्द्रमा चार कार्यकाल अध्यक्ष हुने उनै गुरुङ हुन् । उनी दुई कार्यकाल सर्वसम्मत र दुई कार्यकालमा निर्वाचित भएकी हुन् ।
त्यसपछि विमला नै सर्वसम्मत अध्यक्ष हुने व्यक्तित्व हुन् । केन्द्रका संस्थापक अध्यक्ष शारदा अधिकारी पनि निर्वाचनबाट नै आएकी हुन् भने निवर्तमान अध्यक्ष सावित्री अधिकारी पनि निर्वाचनबाट विजयी भएकी थिइन् ।
पाँच वर्षको पदावधि रहेको समितिको कार्यक्रम २०७७ सालको बैशाख मसान्तमा समाप्त हुन्छ ।
उक्त केन्द्रको निर्वाचन प्रक्रिया अघि बढाउन गत पौष २० गते बसेको कार्य समिति बैठकको निर्णय गरी बाबुराम अधिकारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । सो समितिले माघ १७ गते बसेको बैठकको निर्णयले निर्वाचन कार्य प्रारम्भ गरेको थियो ।
केन्द्रको अध्यक्षका लागि गत फागुन २७ गते अध्यक्ष र उपाध्यक्षको उमेदवारी मनोनयन दर्ता मिति तोकिएको थियो । त्यस दिनमा अध्यक्ष पदमा बिमला भुजेल र उपाध्यक्ष पदमा मनकुमारी गुरुङको मात्र उमेदवारी दर्ता भई अन्तिम उमेदवारी नामावली प्रकाशन गरिएको थियो । पूर्व निर्धारीत कार्यक्रम अनुसार सोमबार अर्थात चैत्र ३ गते भक्ति नमुना माध्यमिक विद्यालयमा परिषद् भेला गरी औपचारिक रुपमा अध्यक्ष, उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिका संयोजक बाबुराम अधिकारीले बताए ।
निर्वाचन समितिका अध्यक्ष बाबुराम अधिकारीको संयोजकत्वमा भएको भेलामा प्रमुख अतिथिको रुपमा राइनास नगरपालिका उपप्रमुख एवं महिला आपसी सहयोग केन्द्रका पूर्वअध्यक्ष धनकुमारी गुरुङ रहेकी थिइन् । परिषद् भेलामा नव निर्वाचीत पदेन सदस्य(उपसमितका अध्यक्षहरु), नवनिर्वाचित उपाध्यक्ष मनकुमारी गुरुङ र नवनिर्वाचीत अध्यक्ष बिमला भुजेलले प्रतिवद्र्धता मन्तब्य राखेका थिए । सभा निवर्तमान अध्यक्ष सावित्री अधिकारीको अध्यक्षतामा भएको महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक योगेश घिमिरेले जानकारी दिए ।






