अब त सच्चिनै पर्छ

राजनीतिक दल र तिनका नेताको जनघाती कर्मका कारण आमनागरिकमा राजनीतिक दल र नेताप्रति वितृष्णा पैदा हुन थालेको छ । हुन पनि चारैतिर भ्रष्टाचार विकृतिको चाङ छ, बिचौलिया र माफियाको बिगबिगी छ । राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखाका रूपमा लिइन्छ । यस्तो महत्वपूर्ण भूमिकामा रहने दललाई तिनका नेताले खराब दल बन्न दिनुहँुदैन । मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । उदार एवं प्रजातान्त्रिक समाजमा त राजनीतिक दलले जीवनका हरेक पक्षलाई प्रभावित पार्नेगर्छ । नेपालमा राजनीतिक दलको भूमिकालाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने सरकारमा गएर सत्ता चलाउन र सुशासन कायम गराउन करिब करिब उनीहरू असफल हुँदै आएका छन् ।

संघीय शासन व्यवस्थाको अभ्यास भइरहँदा यो शासन व्यवस्था सञ्चालनमा पनि ठूला ठूला समस्या आइरहेका छन् । यस्ता समस्याको समाधान तत्काल नगर्ने हो भने संघीय शासन प्रणालीको सफलतामा नै गम्भीर आघात पर्न सक्छ । त्यसैले यो शासन व्यवस्था ल्याउन महत्वपूर्ण भूमिकामा रहेका दल तथा तिनका नेता आमूल रूपमा सच्चिनुको विकल्प छैन । मुलुकको विकास, समृद्धि र राष्ट्रिय अखण्डताको जगेर्ना गर्ने विषयमा यहाँका प्रमुख दलमा सहमति हुन जरुरी छ ।

मुलुकमा देखिएको रोग, भोक, अशिक्षा, गरिबी, विपन्नता हटाउने विषयमा पनि हाम्रा राजनीतिक दलबीचमा एकता र सहकार्य आवश्यक छ । यदि दलले आफ्नो चुनावी घोषणापत्रमा व्यक्त गरिएको प्रतिबद्धताअनुसार जनताको पक्षमा काम गर्ने हो भने कसैले पनि प्रमुख दलप्रति वितृष्णा जगाउन सक्ने अवस्था रहँदैन । तर, सत्ता सञ्चालन गर्ने दल र तिनका नेता नै भ्रष्टाचारमा चुर्लम्म डुब्ने अवस्था आयो भने जनतामा स्वतः उनीहरूप्रति घृणाको भावना पैदा हुनेछ । राजनीतिक दल प्रतिपस्पर्धाका आधारमा नै बढी खारिने गर्छन् । शासन व्यवस्था बहुदलीय भन्ने तर जनताले कहिल्यै पनि विकास, प्रगति र सुशासनको प्रत्याभूति गर्न नसक्ने हो भने त्यस्तो बहुदलीय शासन व्यवस्थाको कुनै अर्थ रहँदैन । आमनागरिकले त्यस प्रकारको शासन व्यवस्थाको अपेक्षा गरेका पनि हुँदैनन् । जनताले अपनŒव लिन नसक्ने शासक व्यवस्था धराशायी भएका धेरै उदाहरण छन् । त्यसैले राजनीतिक दल र सत्ता सञ्चालकले आमजनतामा अपनत्व लिन सक्ने गरी राम्रा र प्रभावकारी कार्यहरू गर्नुपर्छ ।

वास्तवमा राजनीतिक दल संस्थागत सिद्धान्त, ऐतिहासिक संकटको सिद्धान्त तथा विकासवादी सिद्धान्तका आधारमा स्थापना भएका हुन्छन् । त्यसैले नेतामा जतिसुकै विचलन आए पनि दल नै राजनीति सञ्चालनको प्रमुख मियो हुन् । प्रजातान्त्रिक प्रणालीमा राजनीतिक दललाई चेतनाको शक्ति गृहका रूपमा समेत हेरिने भएकाले हामीले पनि दलका नेताका कारण राजनीतिक प्रणालीलाई असफल हुन दिनुहँुदैन । नेतालाई सधंै खबरदारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास र दलीय संरचनाको संरक्षणमा लाग्नु सबैको कर्तव्य हो । दल र तिनका नेतालाई भन्नैपर्छ, अब त सच्चिनै पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार