देशै छाडेर भाग्न खोज्ने राष्ट्रपतिको प्रयास असफल

कोलम्बो । राष्ट्रपति पदबाट बुधबार राजीनामा दिने बताउँदै आएका संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले सोमबार राति नै देश छाडेर दुबई भाग्ने प्रयास गरेको खुलासा भएको छ ।

यद्यपि, उनको सो प्रयास भने सफल हुन सकेन । विमान चढेर भाग्न लागेका राष्ट्रपति गोताबाय विमानस्थलका कर्मचारीको अवरोधपछि अपमानजनक रूपमा फर्किन बाध्य भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

अपमानजनक रूपमा फर्कन बाध्य, आज राजीनामा दिँदै

गोताबायको यो प्रयासलाई उनले राष्ट्रपति पदबाट राजीनामा नदिई मुलुकबाट भाग्न खोजेको रूपमा अथ्र्याएका छन् । तर, उनले बुधबारबाट लागू हुनेगरी राष्ट्रपति पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर भने गरेका छन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा बुधबार हुने समाचार एजेन्सीले लेखेका छन् ।

एजेन्सीका अनुसार राष्ट्रपति गोताबाय दुबई जान आएको थाहा पाएपछि अध्यागमनका कर्मचारीले उनलाई पासपोर्टमा छाप लगाउन विमानस्थलको भीआईपी क्षेत्रमा प्रवेश गर्न नै दिएनन् ।

भीआईपी क्षेत्रमा प्रवेश गर्न नसकेपछि उनीसँग अर्काे विकल्प भनेको सर्वसाधारणले प्रयोग गर्ने लाइन बाँकी थियो । तर, भीडले हुलदंगा गर्ने डरले उनले यो विकल्प पनि प्रयोग गर्न सकेनन् । विमानस्थलमै रहेको अवस्थामा चारवटा उडान छुटेपछि उनी पत्नीसहित नजिकैको सैन्य शिविरमा फर्किन बाध्य भएका थिए ।

कतिपय अधिकारीले राष्ट्रपति गोताबाय नौसेनाको डुंगाबाट श्रीलंका छाडेर भाग्ने आशंका पनि गरेका छन् ।

श्रीलंकाको कानुनअनुसार पदमा रहुन्जेल राष्ट्रपतिलाई पक्राउ गर्न मिल्दैन । त्यसैले पदत्याग गर्नुअघि नै उनी विदेश जान चाहेको रूपमा अथ्र्याइएको छ । राष्ट्रपतिबाट राजीनामा दिएपछि पक्राउमा पर्ने डर उनीमा छ ।

उनीमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाका साथै युद्धअपराधको आरोप छ । रक्षा सचिव हुँदा अल्पसंख्यकविरुद्धको गृहयुद्धमा कयौंलाई बेपत्ता बनाएको र गैरकानुनी हत्या गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

एजेन्सीहरूका अनुसार, राष्ट्रपति गोताबायका भाइ एवं पूर्वअर्थमन्त्री बेसिल राजापाक्षेलाई पनि सोमबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

देशमा जारी चरम आर्थिक संकटका बेला बासिलले श्रीलंका छोड्ने प्रयास गरेकामा त्यसको हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीले उनलाई विमान चढ्न नदिएका डेली मिररले छापेको छ । उनी अमेरिकी नागरिकसमेत हुन् ।

राजापाक्षे परिवारका सदस्यले श्रीलंका छाडेर भाग्ने प्रयास गरेपछि पूर्वअर्थमन्त्री बेसिल, महिन्दा, प्रधानमन्त्री रनिल विक्रमासिंगे र अन्य अधिकारीलाई देशबाहिर जान प्रतिबन्ध लगाउने आदेश दिन मंगलबार सर्वोच्च अदालतमा निवेदनसमेत परेको छ ।

श्रीलंकाको अवस्था अलि तनावग्रस्त छ । शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौं प्रदर्शनकारी त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैंचामा रमाइलो गरेको र भान्सामा खानाका लागि खाना तयार गरेका दृश्य सार्वजनिक भएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन् ।

उता, प्रधानमन्त्री रनिल विक्रमासिंगले बुधबार नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिने छन् । संसद्बाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् ।

सभामुखले आगामी ४ साउनमा संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेतालाई दिएका छन् । राष्ट्रपति पदका लागि ३ साउनमा उम्मेदवारी मनोनयन गरिनेछ ।

प्रधानमन्त्री रनिल विक्रमासिंगे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी दिइसकेका छन् ।

यसअघि प्रधानमन्त्री विक्रमासिंगेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी