२३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन कार्यतालिका तयार पारेको छ । ‘आन्तरिक गृहकार्य’का लागि भन्दै आयोगले गत आइतबार नै निर्वाचन कार्यतालिका स्वीकृत गरे पनि सार्वजनिक भने गरिसकेको छैन ।

‘चेकलिस्ट बनाएका छौं, आवश्यकताअनुसार फेरबदल हुन्छ, अहिले आन्तरिक प्रयोजनका लागि कार्यतालिका बनाइएको हो,’ आयोग सूचना अधिकारी सूर्यप्रसाद अर्यालले राजधानीसँग भने ।

प्रतिनिधि–प्रदेश सभा निर्वाचन

तयार कार्यतालिकाअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता र समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची २ र ३ असोजमा पेस गर्नुपर्नेछ ।

भदौ अन्त्यबाट निर्वाचन कार्यक्रम
आयोगले २५ भदौदेखि सञ्चालन गर्नेगरी निर्वाचन कार्यक्रम बनाएको छ । घटस्थापनाको भोलिपल्ट अर्थात् ११ असोजका दिन मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त हुनेछन् ।

त्यस्तै, २१ असोजमा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिने आयोगद्वारा स्वीकृत कार्यतालिकामा उल्लेख छ । कार्यालय स्थापना भएको दुई दिनपछि उम्मेदवारी दर्ता योजना बनाइएको छ ।

आयोगले समानुपातिक निर्वाचनका लागि भने यही ३० साउनमै निर्वाचन अधिकृत नियुक्ति कार्यतालिका बनाएको छ  । समानुपातिक निर्वाचन प्रणाली कार्यक्रम १ भदौमा सुरु हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र छपाइ २८ असोजदेखि २७ कात्तिकसम्म, मतपत्र ढुवानी १६ कात्तिकसम्म, मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्ति २१ र २२ कात्तिक र मतदान केन्द्रमा खटिने अन्य कर्मचारी नियुक्ति २२ र २३ कात्तिकमा गर्ने कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै, मतदान ४ मंसिर बिहान ७ देखि बेलुका ५ बजेसम्म गरेर सोही दिन मतगणना सुरु गर्ने आयोगको तयारी छ ।

एमालेद्वारा दल दर्ता निवेदन
नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाललगायत नेताले मंगलबार कान्तिपथस्थित आयोग केन्द्रीय कार्यालय पुगेर ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न’ निवेदन दिएका हुन् ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुुनेमा नेकपा एमाले १०औं नम्बरमा छ । गत आइतबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दै आएको आयोगले ३१ साउनसम्म समय तोकेको छ ।

यसअघि, आयोगमा दर्ता दलले पनि ‘निर्वाचन प्रयोजन’मा भाग लिन पुनः दर्ता गराउनुपर्ने व्यवस्था छ । आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

त्यस्तै, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित