फोहोरमाथि राजनीति नगर

काठमाडौंको फोहोर उठ्न नसकिरहेको बेलामा महानगर प्रमुख बालेन्द्र साहले सत्तारूढ दलका नेताहरूकै कारण फोहोर उठाउनमा समस्या उत्पन्न भएको कुरा सार्वजनिक गरेपछि यसले थप चिन्ता मात्रै छाएको छैन, सत्तारूढ दलका नेताप्रति काठमाडौंवासी आक्रोशित बन्न पुगेका छन् र राजनीतिक दलहरूले फोहोरमाथि राजनीति गर्न नहुने कुरा सार्वजनिक रूपमा चर्चाको विषय बनिरहेका बेला मेयर साहले यस्तो अभिव्यक्ति दिएपछि महानगरवासीको आक्रोश सत्तारूढ दल र सरकारप्रति बढेर गएको छ । मेयर साहले स्वतन्त्र उम्मेदवारका रूपमा विजय हासिल गरेपछि ‘महानगर कसरी चलाउँदा रहेछन् हेरौं’ भन्ने अभिव्यक्ति ठूला दलका नेताहरूबाट निर्वाचन परिणाम घोषणा गर्दाकै बखत छ्यापछ्याप्ती सार्वजनिक भइरहेका थिए । यसले जनताको मनोभावनामा निकै ठूलो आशंका उब्जाएको थियो । त्यो अहिले आएर मेयर साहले अभिव्यक्त गर्न बाध्य भएका छन् । हारको तुषसँगै फस्टाउन पुगेको इष्र्याको यो राजनीति जनतामा हैजा फैंलाउने फोहोरमा गरिनुले कसैलाई राम्रो पारेको छैन । नेताहरूको विकृत मानसिक सोच यसरी अभिव्यक्त हुनजाँदा देश उँभो कसरी लाग्ला भन्ने चिन्ता र चासो जनतामा छाउन थालेको छ । फोहोर र त्यसबाट उत्पन्न हुने दुर्गन्ध तथा महामारीले पार्टी राजनीति तथा तिनका हार र जितका तुष र बदलाको भावलाई चिन्दैन ।

महानगर अहिले महामारीको अखडा हुन थालिसकेको छ । हैजाजस्तो महामारीका बिरामी घटेका छैनन् । राजधानी सहरको चोकचोकमा फोहोरका डंगुर लागेका छन् । तर, तिनको व्यवस्थापनमा सहकार्य गर्नुभन्दा पनि त्यसमाथि राजनीति गर्न थाल्नु दरिद्रता एवं असभ्यताको निकृष्टतम प्रवृत्ति हो । यो निचताको पराकाष्टा पनि हो । देशको समस्या सबैका साझा समस्या हुन् । ती समस्या समाधानमा देशका तीनै तहका सरकार र तिनका प्रतिनिधि एकसाथ लाग्नुपर्छ । तर, विडम्बना ! उल्टै फोहोरमाथि राजनीति गर्ने खेल सुरु हुन थालिसकेको छ । अब, प्रादेशिक र संघीय निर्वाचन मंसिर ४ मा हुँदै छ । सो निर्वाचनमा आप्mना नीति र कार्यक्रम लिएर जान तयारी गर्न फोहोर सफा गरेर जनतालाई भोट दिन लालायित पार्न र राजनीतिक तथा भौतिक वातावरण स्वच्छ बनाउन लाग्नुको सट्टा उही दुर्गन्धित फोहोरको डंगुरलाई लिएर राजनीति गर्न थाल्नु अशोभनीय मात्र होइन, वैचारिक तथा नैतिक दरिद्रताको लज्जाजनक प्रदर्शन पनि हो । फोहोर फाल्न केही प्रयास हुँदा फेरि अवरोध सिर्जना गर्न लगाउने परिपाटी नेपाली फोहोरी राजनीतिको पर्याय हो ।

निर्वाचनमा विजय हासिल गर्न जनताको मन जित्नुपर्छ । जनतामा आशाको सञ्चार गर्न सक्नुपर्छ । देशमा विकास गर्न सक्नुपर्छ । जनतालाई सेवा र सुविधा दिलाउन सक्नुपर्छ । प्रजातन्त्र र प्रजातान्त्रिक परिपाटी तथा प्रणालीविरूद्ध कथित गठबन्धन, गाँठबन्धन, तटबन्धन र बारबन्धन गरेर हुँदैन । आकार ठूलो हुँदैमा हात्तीले जित्छ नै भन्ने कुरा मनोफोबिया मात्र हो । आकार प्रकारमा ठूलो देखिए पनि थारो गाईको सट्टा जनताले साना बाछीहरू पाल्न सुरु गरिसकेका छन् । स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा विजय हासिल गर्नु भनेको जनताले पार्टी निरंकुशता र दलबलविरूद्ध गरेको एक भद्र विद्रोह हो । यसलाई बेवास्ता गरेमा आकार र पैसामा जति ठूलो देखिए पनि ठूला पार्टी र तिनका गठजोड डाइनोसरझैं लोप हुने अवस्था अबका दिनमा सिर्जना हुँदै गएको छ । समयमै यस कुराको हेक्का राख । फोहोरको डंगुर सफा गर्नतिर लाग । फोहोरमाथि राजनीति नगर ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो