पोखरा । पोखरा रंगशालाभित्र १ अर्ब २८ करोड रुपैयाँ लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माण प्रक्रियामै रहेकै बेला सोही मैदानको विकल्पमा अर्को स्टेडियमको स्तरोन्नति थालिएको थियो । हालको फुटबल मैदानको पश्चिमतर्फ रहेको मैदानलाई वैकल्पिक मैदान अर्थात अभ्यास मैदानको रुपमा स्तरोन्नति थालिएको थियो । गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै पोखरा रंगशालालगायत त्यहाँको कभर्डहललाई स्तरोन्नति गरिदा वैकल्पिक मैदानले पनि मुहार फेर्ने अपेक्षा गरिएको थियो ।
मुख्य रंगशालामा १३औं सागसँगै १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना भइसक्दा पनि सँगै रहेको मैदान भने जस्ताको तस्तै अवस्थामा रहेको छ ।
डिसेम्बर १ देखि १० सम्म सञ्चालन भएको १३औं सागको समयमा निकै तीव्र रुपमा काम भएको अभ्यास मैदान साग सकिए लगत्तै अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट ९० लाख रुपैयाँ योजना परेको मैदानको लागि ३० लाख रकम विनियोजन भइसकेको छ । ३० लाखको काममा मैदानको लागि चारै तिर लेभलको लागि डिपिसी गरिएको छ । चार महिनादेखि अलपत्र अवस्थामा छाडिएपछि राखेपले बाँकी ६० लाख भने राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) कटौती गर्ने भएको छ । राखेपले बाँकी काम सहयोगको भरमा गर्न लागेको बताएका छन् ।
‘अब हामीले अभ्यास मैदानको लागि रकम खर्च गर्दैनौं । यो मैदान निशुल्क निमार्ण गर्नेछौं,’ राखेप सदस्य सचिव रमेश शिलवालले भने, ‘मैदान निमार्ण अलपत्र परेको होइन । माटो भर्ने काम बाकँी रहेको हो । त्यसका लागि हामीलाई एक कम्पनीले माटो निशुल्क दिन लागेको छ । टिपर र डोजर पोखरा महानगरले सहयोग गर्ने छ ।’ हाल मैदान अलपत्र अवस्थामा रहेपनि यो मैदान अर्काे वर्षको फागुनमा आयोजना हुने जवौं राष्ट्रिय खेलकुदमा तयार भइसक्ने सदस्यसचिव सिलवालले बताए । उनले अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण हाललाई भने काम रोकिन सक्ने बताएका छन् । राखेपका सदस्य राजेश गुरुङले मैदानको लागि माटो, टिपर र डोजर सहयोग आएपनि तेल खर्च राखेपले बेहोर्ने बताए ।
‘हामीले बाँकी ६० लाख बराबरको काम निशुल्क गर्नेछौं । यो मैदान तयार हुनेछ । राखेपले मैदान ट्रयाक एण्ड फिल्डसहित कामलाई निरन्तरता दिने जनाएको छ । राखेप सदस्य राजेश गुरुङले भने, ‘विगतमा के भयो त्यसतर्फ नर्फर्कौ, हामी गफभन्दा काम गरी देखाउँछौं । बनेका संरचनाको संरक्षणसँगै नवौं राष्ट्रिय खेलकुदको तीव्र तयारीमा हामी जुट्नुपर्छ ।’
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३औं दक्षिण एसियाली खेलकुद (साग) मध्यनजर गर्दै मुख्य फुटबल स्टेडियमसँगै उक्त मैदानको समेत पुनःनिर्माण गर्न निर्देशन दिएबमोजिम पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले कामलाई प्रभावकारी बनाउन भन्दै त्यसबेला निकास भएको ३० लाख रुपैयाँ उपभोक्ता समितिलाई दिएर कामको जिम्मा दिएको थियो । । तर, एन्फा कास्कीले कामलाई तीव्रता दिने भन्दै काम शुरु गरेपनि ४ महिना बितिसक्दा अलपत्र रहेपछि राखेपले आफैले काम अघि बढाएको हो ।
राखेप सदस्य गुरुङले मन्त्रीको निर्देशन र सदस्यसचिवको पहलमा यो मैदानको काम सुरु भएको बताए । एन्फा कास्कीको पहलमा २०६४ सालमा यो जग्गा सम्याएर फुटबल मैदान बनाइएको थियो । जसमा करिब ९ लाख रुपैयाँ खर्च भएको थियो । निर्माण समिति सदस्य फोटो पत्रकार सुदर्शन रञ्जितले सो बेला नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण म्याचबाट संकलित रकमबाट मैदान बनाइएको बताए ।
मुख्य फुटबल स्टेडियमको विकल्पको रुपमा अघि बढाउन १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको स्टेडियम बनाइने पश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा कार्यरत इन्जिनियर प्रनिश ताम्राकारले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने सो स्टेडियम निर्माणमा ९२ लाख लागत अनुमान गरिएकोमा ३० लाख राखेपबाट प्राप्त रकमले रिटेनिङ बाल र केही भाग सम्याइने बताए । आगामी वर्ष २० देखि २७ फागुनसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म निर्माणमा कुनै कसर बाँकी नराख्ने निर्माण समितिको प्रतिबद्धता छ ।






