घरजग्गा कारोबारमा कडाइले राजस्व संकलनमा धक्का

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै मन्दीको प्रत्यक्ष असर राजस्व संकलनमा समेत परेको छ । गत वर्ष कात्तिकमा घरजग्गा कारोबारबाट ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार राजस्व संकलन भएकोमा चालँ आर्थिक कात्तिकमा अढाइ अर्ब राजस्व घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेखन विभागका अनुसार गत कात्तिकमा ३ अर्ब ७६ लाख २५ हजार ९ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष असोजमा देशभरको घरजग्गा कारोबारबाट ७ अर्ब ३३ करोड २१ लाख राजस्व संकलन भएको थियो । तर, चालू आव गत असोजमा २ अर्ब ५६ करोड ९३ लाख राजस्व उठेको पाइएको छ ।

विभागका अनुसार कात्तिकमा ७६ हजार ५ सय ६२ घरजग्गा कारोबार भएको छ । गत वर्ष कात्तिकमा १ लाख ३४ हजार ५ सय ४९ मा कारोबार भएको थियो । कात्तिकमा कारोबार घटेसँगै राजस्व संकलनमा समेत असर परेको छ । यसैगरी, गत असोजमा ७४ हजार ८ सय ५० घरजग्गा कारोबार भएको थियो । जुन गत अघिल्लो असोजको तुलनामा कम हो । अघिल्लो असोजमा १ लाख ६८ हजार ६ सय ९ घरजग्गा कारोबार भएको थियो ।

गत कात्तिकमा सबैभन्दा बढी जग्गा कारोबार इनरुवामा भएको थियो । गत असोजमा पनि इनरुवामै बढी जग्गा कारोबार भएको देखिएको छ । इनरुवामा गत कात्तिकमा २ हजार ६ सय ८४ र नेपालगन्जमा २ हजार ६ सय ८४ वटा कारोबार भएको छ । गत असोजमा इनरुवाबाट १ हजार १ सय ४९ वटा घरजग्गा कारोबार हुँदा भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज, बाँकेबाट १ हजार २८ कारोबार भएको थियो ।

गुठी अधिनस्थ जग्गाको लिखत पारित भने ६५ वटा मात्र भएको थियो । सबैभन्दा बढी लिखत पारित गर्ने भूमिसुधार कार्यालयमा क्रमशः इनरुवा, नेपालगन्ज, जनकपुरधाम, मोरङ, भद्रपुर, राजविराज, चितवन, घोराही, बुटवल, तुलसीपुर र भक्तपुर छन् ।

गत कात्तिकमा नेपालभरमा कुल २७ हजार ९ सय ३९ लिखत पारित र नामसारी २ हजार २ सय ८१ वटा भएको थियो । गत कात्तिकमा बझाङ, मनाङ, सिर्दिवास, बलरा र काठमाडौंको मनमैंजुबाट कुनै पनि लिखत पास नभएको तथ्यांक विभागको छ ।

सरकारले कात्तिकमा सेवा करबाट मत्र गत कात्तिकमा १३ करोड ५७ लाख ७३ हजार उठाएको छ भने रजिस्ट्रेसन दस्तुर १ अर्ब ८८ करोड ३५ लाख ५६ हजार आर्जन गरेको छ ।

रजिस्ट्रेसन दस्तुर आर्जन गर्ने मालपोत कार्यालयमा चितवन अगाडि छ । चितवनले ५६ करोड २ लाख ८६ हजार रजिस्ट्रेसन दस्तुर उठाएको छ । सबैभन्दा बढी रजिस्ट्रेसन शुल्क उठाउने मालपोतमा चितवनपछि चाबहिल, भक्तपुर, लगनखेल, कलंकी, डिल्लीबजार, कास्की र साँखु छन् ।

घरजग्गा कारोबारको पुँजीगत लाभकरबाट कात्तिकमा सरकारले ७० करोड २२ लाख ९४ हजार ८ सय ४८ रुपैयाँ आर्जन गरेको छ । जबकि पुँजीगत लाभकर गत वर्ष १ अर्ब ३० करोड ५ लाख आर्जन गरेको थियो ।

जग्गा वर्गीकरणले पनि असर
स्थानीय भू–उपयोग परिषद्बाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गा कारोबारमा कमी आउँदा राजस्वमा कमी आएको हो । २३ जेठ २०७९ देखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित छ ।

अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण कार्य गरिरहेका छन् । हालसम्म केही स्थानीय तहले मात्र जग्गा वर्गीकरण सकेका छन् ।

सरकारले २३ मंसिरभित्र जग्गा वर्गीकरण कार्य सक्न स्थानीय तहलाई निर्देशनसमेत दिइसकेको छ । मंसिरमा वर्गीकरण सकेपछि पुसबाट कारोबार बढ्ने अपेक्षा गरिएको छ । ‘आफूले खरिद गर्ने जग्गा अर्कैैै विधामा पर्दा बेचबिखन गर्न सकिँदैन कि ?’ भन्ने त्रासका कारण पनि घरजग्गा कारोबारमा मन्दी छाएको बताइएको छ ।

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह ठप्प पारेको र नेपाल राष्ट्र बैंकले घरजग्गा (रियल इस्टेट) क्षेत्रको कर्जामा कडाइ गरेकाले पनि कारोबारमा शिथिलता देखिएको हो ।

कर्जा प्रवाहमा वृद्धि
यद्यपि, राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको देखाएको छ । राष्ट्र बैंकको गत असोजको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष पहिलो तीन महिनामा घरजग्गा क्षेत्रमा कुल २ खर्ब ३६ अर्ब ९५ करोड कर्जा प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ६४ करोड थियो ।

गत असोजसम्म घरजग्गा कर्जाअन्तर्गत आवासीय ‘रियल इस्टेट’ कर्जा ६५ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा यो शीर्षकमा ५२ अर्ब ८ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै घरजग्गा ऋणमा कडाइ गर्न थालेको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पनि घरजग्गामा जाने कर्जा नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैंकले कडाइ गरेको छ । यही कारण घरजग्गा कारोबारमा मन्दी आएको भनिए पनि कर्जा प्रवाहको दृष्टिकोणले भने मन्दीको कारण घरजग्गा कर्जामा कडाइ भने नदेखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका जिताउन सकेनन्