काठमाडौं । ओछ्यानमा पैसाको नोटमाथि सुतेर टिकटक बनाएर भिडियो पोस्ट गर्ने सुलभ आचार्य प्रहरी फन्दामा परेका छन् ।
नेपाल राष्ट्र बैंकले पैसामाथि सुतेर भिडियो बनाएको विषयमा चासो राखेको समाचार सार्वजनिक भएपछि खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले महोत्तरी बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने आचार्यसँग सोधपुछ गरेको थियो ।
उनले केही अघि १ हजार र ५ सय दरका नोटहरू ओछ्यानमा राखेर भिडियो बनाएर सार्वजनिक गरेका थिए । आचार्यले प्रहरीसँग अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट निकाली दिएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ ।
उनको बयानका आधारमा अनुसन्धान गर्दा उक्त रकम एभरेस्ट बैंकबाट निकालेको देखिएकोले अबदेखि यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा निगरानीमा रहनेगरी सचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।






