नयाँ पुस्ता ! उस्तै आदत, उस्तै प्रवृत्ति

लामो जनसंघर्षबाट खारिएका, भूमिगत समयमा ज्यानको बाजी थापेर गणतन्त्र, संघीयता र समावेशी राज्यप्रणालीका लागि २३० वर्षे राजतन्त्रसँग लडेर सफलता प्राप्त गरेका नेकपा माओवादीका युुवा नेता टोपबहादुर रायमाझी धेरैको आशा, भरोशाका पात्र थिए । उनी नेपाली राजनीतिमा उज्वल भविष्यको सम्भावना बोकेका नेता पनि थिए । समयक्रममा तत्कालीन नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी भएसँगै उनी नेकपा एमालेमा प्रवेश गरेका थिए । यी रायमाझी नेकपा माओवादीभित्रका तिनै नेता थिए, जसले विगतमा नेकपा माओवादीमा रहेर जनयुद्ध लडेर गणतन्त्रका लागि आफूलाई समर्पित गरेका थिए ।

विभिन्न समयमा उपप्रधानमन्त्रीसमेत रहेका सम्प्रति नेकपा एमालेका सचिव नेता रायमाझी अघिल्लो साता एकाएक गायब भएको समाचार सार्वजनिक भयो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने अवैध धन्दामा उनको पनि संलग्नताको आरोपमा प्र्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिने सूचना जारी गर्दा उनी आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रहरीका एक उच्च अधिकारीलाई फोन सम्पर्क गरी बुटवलबाट एकाएक गायब भएको समाचार आयो । अर्घाखाँचीबाट एक कार्यक्रम सकी सभामुखसँगसँगै बुटवलसम्म आएका रायमाझी भैरहवाबाट काठमाडौंका लागि यस अघि नै बुक गरेको हवाई टिकटसमेत रद्द गरी अनायास बेपत्ता भएको खबर बाहिरियो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त उनलाई पक्राउ गर्न खोजिएको तरिका नै नमिलेको भन्दै यो घटनालाई रहस्यमय भनी प्रतिक्रिया दिएका थिए । मन्त्री भइसकेको व्यक्ति कहाँ जान्छ ? यही हुन्छ । जुनसुकै बेला पनि पक्डिन सकिन्थ्यो भन्ने अध्यक्ष ओलीको अनुमान रायमाझी भागेर बेपत्ता भएको कारण आजसम्म पक्डिन नसक्नुबाट झूठ सावित भएको छ । यो घटनाले उनीमाथि लागेको आरोपलाई सत्यताको नजिक पुु-याइदिएको छ ।

कसैले कसैलाई आरोप लगाउँदैमा ऊ दोषी हुँदैन । आरोपको प्रमाणित हुन धेरै खुट्किला पार गर्नुपर्ने हुन्छ । यसका लागि सम्बन्धित निकायले गर्ने अनुसन्धान तहकिकातमा उसले सघाउनुपर्छ । तर, युवापुस्ताका प्रतिनिधि पात्र रायमाझी आरोप सुन्नेबित्तिकै जसरी गायब भए, यसले चोरको खुट्टा तानभन्दा खुट्टा उचालेजस्तो भयो ।

आजको युुगले चाहेको युवा पुस्ता यो थिएन र यस्तो पुस्ता आजको आवश्यकता होइन पनि । यद्यपि, उक्त आरोपसँग अन्य धेरै पात्रहरू पनि संलग्न छन् । कतिपय पूर्वमन्त्रीका सन्तति पनि अनुसन्धानका क्रममा तानिएका छन् । तीमध्ये कति निर्दोष साबित होलान्, कतिलाई अनुसन्धानले सत्य साबित गर्ला त्यो अलग विषय हो र त्यतातर्फ जाने यस आलेखको मनसाय होइन ।

सत्ताको दुरुपयोग
राज्य संयन्त्र र यसका वरिपरि बसेर अवैध धन्दा गर्नुलाई सत्ताको दुरुपयोग भन्न मिल्छ । सेतो रंगलाई राज्यको शक्तिकेन्द्र र ठूलाबडाको पहिचानको रंगका रूपमा स्थापित गर्ने अमेरिकी प्रयासलाई नेपालले पनि नक्कल गरेको छ । यसैका आधारमा सत्ताको आवरणमा गरिने अवैध कामधन्दालाई ‘ह्वाइट कलर क्राइम’ भन्ने चलन यद्यपि छ । हामीकहाँ विगत दशकदेखि नै कुनै न कुनै रूपमा यस्तो धन्दा गर्नेमध्ये सत्ता र उसैका वरिपरि घुम्ने पात्रकै बाहुल्यता देखिएको छ ।

राज्यसत्ताको आवरणमा गरिने अवैध धन्दा ‘ह्वाइट कलर क्राइम’ नेपालमा चलनमा रहेको छ

जिम्मेवार निकाय वा पदाधिकारीले पदीय पहुँचलाई व्यक्तिगत स्वार्थमा उपयोग गर्दाको एउटा परिणाम हो नक्कली भुटानी प्रकरण । सेतो कलरकै प्रपञ्चको परिणामस्वरूप नक्कली भुटानी शरणार्थीको घटनामा सक्कली स्वेतपहिरनका अपराधीहरूको मुकुुन्डो उजागर भएको यर्थाथता हाम्रा सामु छ । यद्यपि, सबै खालका मुखुन्डा अझै पुरै खुलिसकेको अवस्था छैन । कतै लहरो तान्दा पहरो गर्जने त होइन ? आशंका छ । यसो हुँदा बाँकी मुकुण्डा उतारिने सम्भावना अत्यन्त न्यून हुन्छ । यदि यसो भयो भने विगतको ह्वाइट बडी, सेक्युरिटी प्रेस खरिद , बालुवाटार जग्गा प्रकरण झैं यो प्रकरण सामसुम हुन पनि बेर लाग्ने छैन । सामसुम मात्र होइन, उल्टो अनुसन्धानका नाममा खासै केही फेला नपरेको भनी सफाइ दिन पनि बेर लगाइने छैन । यदि, यसो भयो भने हाम्रा लागि ठूलो दुर्भाग्य हुनेछ र आगामी दिनमा संस्थागत भ्रष्टाचार थप मौलाउँदै जानेछ । यसो नहोस् भन्नका लागि चारैतिरबाट खबरदारी गर्न जरुरी छ । सरकारलाई सहयोग गर्न जरुरी छ ।

युवा उमेरमा कि विचारमा ?
आजकल राजनीतिमा युवा पुस्ता भन्ने शब्दावली एक किसिमको ब्राण्ड नै बनेको छ । हरेक पार्टीमा पुरानै नेतृत्वको हाबी भएपछि राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्वको सवाल उठ्ने गरेको छ । नयाँ पुस्ताका रूपमा पुराना पार्टीका युवा नेताले आफूलाई स्वीकार्न बारम्बार नेतृत्वलाई प्रत्यक्ष, परोक्ष दबाब दिइरहेका छन् । उनीहरूले निर्वाचनमा हामीलाई छान्नोस् पनि भने । अर्कोतर्फ पुराना दलका युवा नै भए पनि उनीहरू युवा पुस्ता हुन नसक्ने भाष्य खडा गरियो ।

यसका लागि नयाँ पार्टी नै गठन गरियो । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई युवा पुस्ताकै प्रतिनिधि पार्टीको पर्याय ठान्दछ । यो पार्टीमार्फत विभिन्न युवा नेता उदाए पनि । तर, उनीहरूले खासै केही दिन सकेनन् न त नवीन विचारकै प्रतिनिधित्व गर्न सके । भ्रष्ट्राचारविरुद्ध काम गर्ने बताएको उक्त पार्टीले त्यतिबेला मात्र सरकारलाई दिएको समर्थन फिर्ता ग¥यो जतिबेला वर्तमान सरकारले नक्कली भुटानी प्रकरणमा ठगी गर्नेलाई पक्राउ ग¥यो । पूर्वउपप्रधानमन्त्रीसमेतका नाममा पक्राउ आदेश जारी ग¥यो ।

आफूलाई भ्रष्ट्राचारविरोधी युवापुस्ता भन्नेले सरकारले यसैका लागि ऐतिहासिक काम गर्दा समर्थन बढाउने कि दिएको समर्थन पनि फिर्ता लिने ? योभन्दा नालायकी युवापुस्ता अर्को के हुनसक्ला ? उस्तै प्रवृत्ति र आदतको पात्र भएपछि युवा हुनु र नहुनुको फरक के नै रह्यो र ? तसर्थ, युवापुस्ता भन्नु केवल उमेरको गणना मात्र होइन रहेछ । केही समय अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा भनेका थिए ‘म शेरबहादुरजीभन्दा कान्छो हुँ तर सबैले मलाई बा भन्छन्, मभन्दा जेठा देउवाजीलाई अझै पनि धेरैले दाइ नै भन्छन् ।’ तसर्थ पुस्ता उमेरले कि विचारले निर्धारण हुन्छ भन्ने नवीन भाष्य निर्माण हुन जरुरी देखिएको छ ।

उस्तै वृत्ति र प्रवृत्तिकै लागि उमेरको मात्र युवाले आगामी राजनीतिक गन्तव्य हाक्न सक्ने छाँट कहीं कतै र कसैको पनि देखिँदैन

गत २०७९ सालको वैशाख ३० गते ७५३ वटै स्थानीय तहमा निर्वाचन भएयता काठमाडौं र धरान जति चर्चामा छन् त्यति अरू पालिकाहरूमा छैनन् । धरानका मेयर त आफैं ढुंगा, गिटी, बालुवा बोक्न हिंड्छन् भने काठमाडौंका मेयर अव्यवस्थित महानगरको संरचना भत्काउन लागेका छन् । उनको कामलाई संघीय सरकारले आवश्यक मात्रामा सहयोग नगरेको भन्दै उनी बेला बेलामा सरकारलाई कटाक्ष गर्दै चर्चामा पनि आउने गरेका छन् । ‘आजबाट सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेतालाई सिस्डोलमा डम्प गर्नुुपर्ने हुन्छ’ भन्ने उनको पछिल्लो अभिव्यक्ति यसैको उदाहरण हो ।

गर्न खोज्नेलाई उत्साह दिनुपर्छ भन्ने अपेक्षा उनको हो जस्तो लाग्छ । धरानका मेयरको पनि आफूले आवश्यक सहयोग नपाएको गुनासो बेला बखतमा सुन्ने गरिन्छ । यी कर्महरू युवा भएकै कारणले मात्र भए वा ती मेयरमा इच्छाशक्ति प्रवल भएर सम्भव भयो भन्ने कुरा मुख्य हो । लगभग उस्तै उमेर समूहका पोखराका मेयर धनराज आचार्यले किन केही गर्न सकेनन् ? भरतपुरका मेयर किन कामबाट हाइ हाइ भए ? यिनका पछाडि उमेरको युवालेभन्दा पनि विचारको युवाले काम गरेको प्रस्टै देख्न सकिन्छ । तसर्थ कपाल फुल्दैमा मान्छे पाको हुने कुरा सत्य होइन रहेछ ।

तसर्थ, पुस्तान्तरण एउटा शाब्दिक जालो पक्कै हो । यसको मतलव यो आफंैमा निर्विवाद भाष्य अवश्य होइन । केका आधारमा पुस्तान्तरण ? कसलाई पुस्तान्तरण ? किन पुस्तान्तरण भन्ने अनेकानेक प्रश्नहरू उब्जाउँछ । युवा नेतृत्वलाई शक्ति हस्तान्तरण नै पुस्तान्तरण हो भने हामीले देखेका टोपबहादुर प्रवृतिका युवाबाट आगामी दिनमा के अपेक्षा गर्ने ? नेपाली कांग्रेसभित्रका सर्वाधिक चर्चाका अर्का पात्रद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई युवा पुस्तान्तरणका रूपमा लिने हो भने एमसीसी प्रकरणमा गगनको अडान छताछुल्ल भइसकेको छ । उपनिर्वाचनमा उनको आफ्नै पार्टी नेपाली कांग्रेसले यी दुवैजनालाई चितवन र तनहुँका लागि सर्वशक्तिमान चुनावी कमाण्डर बनाएर पठाएकै हो ।

यिनीहरूको भरपुर क्षमता गएको उपनिर्वाचनमा छर्लंगै देखिसकिएको छ । थप कशी लगाउन जरुरी छैन । नेकपा माओवादीभित्र पनि उक्त पार्टीका अध्यक्ष प्रचण्डले उत्तराधिकारी तोक्न बडो कठिन भएको अभिव्यक्ति बेला बेलामा दिँदै आएका छन् । दोस्रो प्रचण्ड सितिमिति त्यहाँ पनि देखिन त्यति सजिलो छैन । तसर्थ, पुस्तामा नयाँ भए पनि, विचारले नयाँ नदेखिएसम्म यो बहस चलि नै रहनेछ । उस्तै वृत्ति र प्रवृत्तिकै लागि उमेरको मात्र युवाले आगामी राजनीतिक गन्तव्य हाँक्न सक्ने छाँट कहीं कतै र कसैको पनि देखिँदैन । उस्तै, उस्तै प्रवृत्तिका लागि नयाँ पुस्ता वा पुस्तान्तरणको बहस अहिलेलाई निरर्थक मात्र सावित हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९