काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भए लगत्तै महानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने आकर्षक योजना सार्वजनिक ग-यो । फोहोरको स्रोतमै वर्गीकरण गर्ने भन्दै कुहिने र नकुहिने फोहोर छुट्टाछट्टै राख्न सर्वसाधारणलाई सूचना जारी नै ग¥यो । सर्वसाधारणले पूरा साथ दिए । महानगरको सूचनाकै भरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गरे ।
काठमाडौंको फोहोरको समस्या दीर्घकालकै लागि समाधान हुनेमा आशावादी पनि भए । केही महिना छुट्याएरै फोहोर उठाएको महानगरपालिका अहिले पुरानै लयमा फर्किसकेको छ । अहिले सर्वसाधारणले फोहोरको पोका दुईटा बनाउन पर्दैन । तरकारीको बोक्रा र प्लास्टिक एउटै झोलामा राखेर दिन मिल्छ ।
फाहोरको स्रोतमै वर्गीकरण गरेर कुहिने फोहोरबाट मल बनाउने योजना सार्वजनिक गरेका महानगरप्रमुख शाहको प्रारम्भको लगाव लोभलाग्दो थियो । फोहोर प्रशोधनका लागि जग्गाको खोजी गर्दै संघीय र प्रदेश सरकारसँग केहीपटक छलफल समेत गरेका शाह पछिल्लो समय भने समाजिक सञ्जालमा सरकारका प्रतिनिधिसँग जुहारी खेल्नमै व्यस्त छन् ।
फोहोर व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको भए पनि जग्गा व्यवस्थापन, उपकरण आयातलगायतमा संघीय र प्रदेश सरकारको पनि भूमिका सकारात्मक हुनुपर्छ । यी सबै कामका लागि समन्वय गर्ने दायित्व महानगरपालिका नेतृत्वकै हो । तर, अहिले महानगरप्रमुख सहकार्य समन्वयभन्दा पनि जुहारीमा रमाए जस्तो देखिन्छन् । महानगरप्रमुखको जुहारी संघीय र प्रदेश सरकार नेतृत्वलाई पनि स्वाद लागेको छ ।
काठमाडौंमा फोहोर व्यवस्थापनको स्थायी उपाय खोज्नेभन्दा पनि जसजसले लिने भन्ने लिन होड यद्यपि कायमै छ । यदि साँँच्चै महानगरप्रमुख शाहकै पालामा फोहोर व्यवस्थापन भइहाल्यो भने भोट घट्ने त हैन भन्ने चिन्तामा छन् पनि पुराना राजनीतिक दल । सोही कारण अहिले महानगरपालिकाले पुरानै थितिमा प्लास्टिकदेखि केराको बोक्रासमेत एउटा पोको बनाएर हिंडेकोमा राजनीतिक दलका नेता मख्ख छन् । प्रमुख शाहको शैली पनि पुराना दलका नेताभन्दा खास फरक छैन । बेला बेलामा सामाजिक सञ्जालमा चर्को स्टाटस लेख्ने र लाइक सेयर हेरेरै मख्ख पर्ने उनको शैलीले उनलाई पनि ‘औसत मेयर’कै दर्जामा हेर्नेहरू बढ्दै छन् ।
विश्वका धेरै मुलुकले फोहोरलाई मोहोरका रूपमा परिणत गरे पनि हाम्रोमा अझै फोहोरलाई चुनावी मुद्दा बनाउने क्रम जारी नै छ । प्रविधिले यति सजिलो बनाइदिएको छ । नेतृत्वमा इच्छा शक्ति हुने हो भने केही महिनामै काठमाडौंलगायत विभिन्न सहरमा उत्पादन हुने फाहोरबाट मललगायत विभिन्न सामग्री बनाएर आम्दानी गर्न गाह्रो छैन ।
त्यसका लागि महानगरपालिका, संघीय र प्रदेश सरकार एक ठाउँमा उभिनै पर्छ र दलहरूबीच विभिन्न विषयमा विवाद होला, स्थानीय र संघीय सरकारका कतिपय रुची फरक हुन सक्छ तर, फोहोर व्यवस्थापनबाट भाग्ने छुट कसैलाई छैन । बन्चरे डाँडामा फोहोर थुपारेर वरिपरि दुर्गन्ध फैलाउने काम तत्कालै बन्द गरेर मोहोर उत्पादनका लागि सरकारका प्रतिनिधि जुट्नै पर्छ ।






