वीरगन्ज । ‘प्रथम वीरगन्ज गोल्डकप २०८०’ उपाधि नेपाल प्रहरी क्लबले उचालेको छ । शनिबार वीरगन्जमा भएको फाइनल खेलमा नेपाल प्रहरीले त्रिभुवन आर्मी क्बललाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो । विजेता नेपाल प्रहरी क्लबले मधेस प्रदेशको सबैभन्दा ठूलो धनराशी ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो । उपविजेता त्रिभुवन आर्मी क्लबले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पायो ।
फाइलन खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमामा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पुलिसले आर्मीलाई २–०ले हरायो । प्रहरीका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट खेले । आर्मीका कप्तान नवयुग श्रेष्ठ, विमल पाण्डे र सन्तोष केसीको प्रहार उनले रोके । आर्मीका जितेन्द्र कार्कीको प्रहार पनि गोल हुन सकेन । नेपाल प्रहरीका उज्ज्वल राई पेनाल्टी सुटमा गोल गर्न चुके । कप्तान रोम ओजे र बुद्ध तामाङको प्रहार गोलमा परिणत भएको थियो ।
प्रतियोगितामा वेस्ट मिडफिल्डरको उपाधि प्रहरीका उज्ज्वल राई पाए । प्रहरीका प्रताप गुरुङ खेलको उत्कृष्ट खेलाडी घोषित भए । प्रहरीकै चेतन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । वेस्ट डिफेन्डर आर्मीका बिमल पाण्डे घोषित भए । आर्मी क्लबले २०७४ र २०७५ मा वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकपको उपाधि चुमेको थियो ।
१८ कात्तिकबाट सुरु भएको प्रथम वीरगन्ज गोल्डकप २०८० मा भारतबाट २ टिमको सहभागिता थियो ।