मानिसहरूले गाउँघर किन छाडिरहेका छन् ? मानिसहरू आफ्नो जन्मस्थान छाडेर किन विदेश गइरहेका छन् ? यी प्रश्नको जवाफ एउटै डालोबाट दिन सकिन्छ । यसको सिधा र सरल उत्तर यो हो कि खासगरी मानवजातिले आफूले प्रयोग गरिरहेको सुविधाभन्दा बढी सुविधा अन्यत्र प्राप्त भयो भने उसले त्यसैलाई अवलम्बन गर्छ । जस्तो कि हाम्रा दुई कोठामध्य जुन कोठामा झ्याल राखिएको छ, जुन कोठामा पंखा जोडिएको छ, हामीले त्यही कोठा रोज्छौं, भरसक शौचालयसमेत भएको कोठा खोज्छौं । मेरा दुई छोरामध्ये मलाई बढी सुविधा र माया जसले दिन्छ, म उसैलाई रोज्छु । देश र राष्ट्रियताको प्रश्नमा पनि यो कुरा लागू हुन्छ । यदि, अहिले युरोप, क्यानडा र अमेरिकाले नेपाली नागरिकका निम्ति भिसा फ्री ग¥यो भने यहाँ दक्षिणको पिलर कुरेर वा चुच्चे नक्साको बहस गरेर कोही बस्नेवाला छैन, करिबकरिब मुलुक नै खाली हुने अवस्था हुनेछ । किन त्यस्तो हुन्छ होला ?
किनकि, मान्छेले यहाँभन्दा त्यहाँ सुविधाहरू बढी पाउँछन् । उनीहरूले त्यहाँ ठूलो–सानो रोजगारी पाउँछन्, यहाँभन्दा भष्ट्राचार कम हुन्छ, हाम्रो भन्दा ती मुलुक बढी सिस्टममा चलेका छन् त्यसैले मानिसहरूले बसाइँसराइ गरेका छन् । धर्मका ’boutमा पनि यो कुरा साँचो हो । मानिस आफूले मानिआएको धर्म छाडेर अर्को धर्ममा किन आकर्षित हुन्छन् ? हिजो भारतका पूर्वी राज्यहरू अरुणाचल, नागाल्यान्ड, मणिपुर, आसाम, मिजोरम आदि राज्यमा इसाई धर्मका प्रचारकहरू, विकास र समानताको नारा बोकेर छिरे । विद्यालय र अस्पतालको कभरमा छिराएर उनीहरूले धर्मलाई त्यहाँ लगे । जातपात र विभेदको कुरा मेटाएर उनीहरूले इसाई धर्मको स्थापना गरे ।
तपार्इं पूर्वी भारतमा जानुभयो भने त्यहाँ मन्दिर, मस्जिद र गुम्बाको तुलनामा चर्चहरू बढी पाउनुहुनेछ । हाम्रो मुलुकमा सबैभन्दा पछि जन्मिएका गौतमबुद्धको विचार अहिले विश्वमा सायद बहुमतमा छ होला । किनकि, त्यसमा तुलनात्मक रूपमा बढी समानता छ । त्यहाँ रूढीवाद र कट्टरता कम छ, त्यहाँ उपल्लो जात र तल्लो जातको व्यवस्था छैन । तर, हाम्रो हिन्दू धर्मले बढी कट्टरता बोकेको छ, जात प्रथालाई कायम राखेको छ ।
मानिसको मृत्युपछि १३ दिनसम्म किरिया बस्नैपर्ने प्रचलनले पनि मानिसलाई अप्ठेरो बनाएको छ । महिला र पुरुषका बीचमा पनि पूर्ण समानता आइसकेको छैन । लाखौंलाख दलितहरूलाई मन्दिरमा पूजा गर्ने वातावरण सहज बनेको छैन । ब्राह्मणलाई उच्च स्थानमा राखेको छ । ब्राहमण भएकै कारण २००४ सालमा राणाहरूले एउटै कसुर गरेका टंकप्रसाद आचार्यलाई सजायबाट मुक्ति दिएका थिए । यी सबै कुरामा पुनर्विचार नगर्ने हो भने मानिसहरू क्रमशः अन्य धर्ममा आकर्षित हुने सम्भावना छ ।
आफूले सुखभोग यसै जीवनमा गर्ने तर अरूलाई मरेपछि स्वर्ग पुगिने र सुख भोग गर्ने लालचा देखाउनुहुँदैन
त्यसैले, समयमै विचार गरौं, यही हाम्रो हिन्दू धर्मभित्र भएको सतीप्रथाको इतिहास हामीले सुन्यौं, श्रीमान्को मृत्युपश्चात श्रीमती बाँच्न नपाउने व्यवस्था त्यहाँ थियो, त्यसलाई राज्यले निषेध ग¥यो । राम्रो ग¥यो, धर्मका नाममा अहिले पनि त्यही प्रथा रहिरहेको भए । परिस्थिति कस्तो हुन्थ्यो होला ? त्यसैले, हाम्रो हिन्दू धर्मलाई पनि समयानुकूल परिवर्तन गर्नु आवश्यक छ । यसलाई सरल बनाउनु जरुरी छ ।
धर्म परिवर्तन गर्नलाई रोक्नका निमित्त कानुन वा आदेशले काम गर्दैन, त्यसका लागि धर्मलाई समयानुकूल बनाउनु आवश्यक छ । उमेर पुगिसकेकी छोरीलाई विवाह गरेर नदिने अनि छोरी कसैसँग भाग्छे भनेर सहर बजार नपठाउने विचारले छोरीलाई जोगाउन सकिँदैन । हाम्रो धर्ममा रहेका रूढीवाद र कट्टरतालाई हटाउने काम गर्ने हो भने हिन्दू धर्म सबैभन्दा राम्रो धर्म हुनेछ । उन्नत र गतिशील धर्म हुनेछ । केही सातादेखि गाईको मासु खाएको हल्ला चलेको छ । त्यसले बजार तातेको छ, मुलकभरी गाई खानेलाई कारबाही हुनुपर्छ भनेर प्रदर्शन भइराखेका छन् ।
हामीले यो कुरा बुझौं कि संसारमा धर्महरू फरकफरक रहेका छन् । एकको धर्म संस्कार अर्को धर्म संस्कारसँग मेल खाँदैन । नागाल्यान्डमा बस्ने नागाहरूले खाने मुख्य मासु कुकुरको हुन्छ । विवाह पूजामा उनीहरू कुकुरको मासु प्रयोग गर्छन् । त्यसैगरी, पूर्वी भारतमा नेपालीहरूले ‘उहाँ’ आदिवासीका गाई पालेका छन् । नेपालीहरूले गाईको दूध खान्छन् भने उनीहरूलाई मासुको आवश्यक पर्दा गोठको बहर वा राम्रो कोर्ली फुकाएर लैजान्छन् ।
यहाँ कसैले सुँगुरको मासु खान्छन्, कसैले राँगाको मासु खान्छन् भने कसैले गाईको मासु खान्छन् । मुस्लिमहरूको सायद दसंै तिहारको बीचमा पर्ने एउटा पर्वमा गाईको मासुको भोज हुने गर्छ । त्यसैगरी हाम्रा जनजातिमध्येका कयौंले दशकौंदेखि गाईको मासु खाने गरेका छन् उनीहरू पहिले अलि लुकेर खान्थे भने गणतन्त्रपछि संविधानमा राज्य धर्मनिरपेक्ष हो भने पछि उनीहरू अलि खुलेर खान थालेका देखिन्छन् । हामीले गाईको पूजा गर्छौं र गाईलाई आमा समान मान्छौं । हाम्रो मृत्युुमा हामीले सातवटा गाईको संकल्प गर्नुपर्छ । पहिला सशरीर गरिन्थ्यो भने अहिले दुनामा गर्ने गरिन्छ ।
धर्मका नाममा सतीप्रथा अहिले पनि रहिरहेको भए परिस्थिति कस्तो हुन्थ्यो होला ?
तर, सबै धर्मले त्यही गर्नुपर्छ भन्ने जरुरी छैन । सबैले आफ्नो धर्म, परम्परा र संस्कृतिअनुरूप नै गर्नुपर्छ । संविधानमा विवादास्पद कुरा लेखिएको हुनाले पनि यो समस्या देखाप¥यो । एकातिर धर्म निरपेक्ष पनि भनियो, अर्कोतिर गाई काट्ने वा गाईलाई दुःख दिनेलाई तीन वर्षसम्म कैद गरिनेछ पनि भनियो । यो विवादास्पद कुरा त्यहाँबाट हटाउन जरुरी छ । हामीले हाम्रो धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको पालना गरिरहँदा अर्काको संस्कार, संस्कृति र परम्परालाई प्रहार गर्नुहँुदैन । मेरो मात्र राम्रो तिम्रो नराम्रो भन्ने सोचाइ राख्नुहुँदैन । यसैका कारण इतिहासमा ठूलाठूला धार्मिक युद्ध हुने गरेका छन् ।
भारतमा दशकौंदेखि शासक वर्गहरूले रामको जन्मभूमिमा बाबरी मस्जिदको कार्ड खेलिरहेका छन् । शासक वर्गको धर्म भनेको कुनै मोक्ष प्राप्तिको साधन होइन, सत्ता प्राप्तिको साधन हो । उनीहरूले जनतालाई जातिजातिमा लडाएर, धर्मधर्ममा लडाएर राज्य गर्दै आएका छन । कतिपय धर्मका ठेकेदारहरूले पनि जनतालाई धार्मिक आस्थामा लठ्याएर, आफ्ना स्वार्थ सिद्धि गर्ने गरेका छन् । उनीहरू सबै सुख भोग र सुविधा भोग यसै जीवनमा गर्छन् भने हामीलाई मरेपछि स्वर्ग पुगिने र पितृलोकमा पुगेर सुख भोग गर्ने लालचा देखाउने गर्छन् ।
त्यसखालका कतिपय धार्मिक ठगहरू आज भारतको जेलमा बसेका छन् । त्यसकारण हामीले हाम्रो धर्म, संस्कृति, परम्परा, वेशभूषा र रीतिरिवाजलाई सम्मान गर्दै दुनियाँमा रहेका हजारौं जाति, धर्म, सम्प्रदायका रीतिरिवाज, चालचलन र परम्पराको सम्मान गर्न सक्यौं भने मात्र हामी मानव जातिको बीचमा सच्चा भाइचारा कायम हुनेछ । धार्मिक सहिष्णुता र सद्भाव नै असल मानवको परिचय हो । के हामीले यसरी सोच्न सक्दैनौं र ?






