दैलेख । चिसोबाट जोगिनका जिल्ला प्रशासन कार्यालय दैलेखले राउटे समुदायलाई लत्ता कपडा वितरण गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिमा जगेडा रहेको लत्ता कपडा राउटे समुदायका ४१ घरधुरीलाई बिहीबार वितरण गरिएको हो ।
चिसो बढ्दै गएपछि राउटे समुदायले बुधबार मात्र भैरवी गाउँपालिका–५ घरखेतबाट सोही पालिकाको पारिलो घाम लाग्ने ठाउँ भैरवी गाउँपालिका–४ गडाजिउला खोलामा बसाई सारेका थिए ।
राउटे बस्तीमै पुगेर प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, दैलेखको काँडाचौरस्थित कालीदत्त गुल्म,सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुखले राउटेलाई लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।
चिसोबाट जोगिनका लागि न्यानो कपडा पाएका राउटे मुखिया सूर्यनारायण शाहीले खुशी हुँदै वितरण टोलीलाई धन्यवाद दिए । उनले भने, ‘मलगायत मेरा जनता खुशी भएका छन् । हामीलाई चिसोले निकै दुःख दिएको थियो । आगो तापेर रात काट्टै थियौं । अब भने सुत्न पाउने भयौं ।’
मुखिया सूर्यनारायण शाही मात्र होइनन्, राउटे समुदायका सबै जना न्यानो कपडा पाउँदा खुशी देखिन्थे । ‘दिनमा त घाम तापेर चिसो जान्थ्यो । राति त जुनले तातो लाग्दैन । आगो बालेर रात बिताउँथ्यौं । आज भने सुत्न पाइने भयो,’ अर्का राउटे युवा प्रकाश शाहीले खुशी साटे ।
प्रमुख जिल्ला अधिकारी र राउटे मुखिया सूर्यनारायण केही समय गफिएका थिए । मुखियाले प्रमुख जिल्ला अधिकारीसँग माघी पर्वका लागि खसीको माग पनि राख्न भ्याएका थिए ।
जिल्ला प्रशासन कार्यालय दैलेखले ४१ घरधुरीलाई सिरक, कम्बल, छाप्रो बनाउँदा आवश्यक पर्ने प्लास्टिकका डोरी, बाल्टिन, जंग, टर्च लाइट र त्रिपाल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
उनले भने, ‘मैले राउटेको ’bout पढेको सुनेको थिएँ । २०७८ सालम प्युठानमा प्रमुख जिल्ला अधिकारी हुँदा राउटे समुदायका केही सदस्य चाडपर्वको लागि पैसा माग्न जानु भएको थियो । मैले व्यक्तिगत पाँच हजार दिएको थिएँ ।’
प्रत्यक्ष रुपमा राउटेको बस्तीमा पुग्दा छुट्टै आनन्द भएको र नजिकबाट बुझने अवसर मिलेको पहिलो पटक राउटे बस्तीमा पुगेका उनले बताए ।
‘पछिल्लो समय राउटे समुदायमा सामाजिकण परिवर्तन भएको देखेर खुशी लाग्यो, उनीहरु नेपाली भाषा पनि बोल्दा रहेछन्, राउटे मुखियाले मेरो मोबाइ नम्बर मागेका थिए, मैले दिएँ,’ प्रमुख जिल्ला अधिकारी भुषालले भने । यो समुदायमा १४१ जनसंख्या रहेको छ ।
नेपाल सम्पदा कर्णाली प्रदेशका गहना भनेर चिनिने यो समुदाय आफूलाई वनको राजा भन्न मन पराउँछ । खेतीपाती, लेखपढ र स्थायी बसोबासलाई महाशत्रु ठान्ने यो समुदायको एक आपसमा गोप्यता छैन । धन सम्पत्ति कमाउने लोभ छैन, वर्ग विभाजन पनि छैन । यो विशिष्ट पहिचान बोकेको दक्षिण एशियाको एक मात्र भ्रमणशील समुदायको संस्कार संस्कृतिलाई जीवन्त राख्न तीनै तहका सरकारले उत्तिकै चासो दिन जरुरी छ ।






