गरिब–विपन्नको स्वास्थ्यसेवामा पहुँच बढाउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले हरेक वडामा महिनाको एकपटक ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । १९ वटा वडा रहेको यो उपमहानगरपालिकाले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको हो ।

गत आर्थिक वर्ष २०७९–८० को साउनदेखि सो सेवा सुरु गरिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । उनले वडा स्वास्थ्य क्लिनिकमा एक जना जनरल फिजिसियन र एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाएको बताए ।

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा सो कार्यक्रममार्फत १७ हजार ५ सय ३१ जनाले निःशुल्क उपचार सेवा लिएको प्रमुख अवस्थीले जानकारी दिए । उनका अनुसार सो अवधिमा १३ हजार ९ सय ६३ महिला र ३ हजार ५ सय ६८ पुरुषले सेवा लिएका छन् ।

शाखा प्रमुख अवस्थीका अनुसार ६ हजार ५ सय ६० महिला, २ हजार ७ सय ७८ पुरुष गरी ९ हजार ३ सय ३८ जनाले जनरल फिजिसियनबाट र ३ हजार ५ सय ६ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट सेवा लिएका छन् ।

त्यस्तै, ३ हजार ८ सय ९७ महिला र ७ सय ९० पुरुष गरी ४ हजार ६ सय ८७ जनाले आँखासम्बन्धी सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । सो अवधिमा सेवा लिनेमध्ये २ हजार ३ सय ९४ जना ७० वर्षभन्दा माथिका रहेका छन् ।

क्लिनिकमा प्रयोगशाला, अल्ट्रासाउन्ड, ईसीजी, फिजिसियन, स्त्री तथा प्रसूति रोग, निजी अस्पतालसँगको समन्वयमा आँखा, दाँत, हाडजोर्नी, मानसिकलगायतका रोगसम्बन्धी सेवा दिइरहेको उपमहानगरले जनाएको छ ।

सो अवधिमा २ हजार ७ सय ९८ ले निःशुल्क प्रयोगशाला जाँच, २ हजार ३ सय २४ जना गर्भवतीले सेवा लिएकामा १ हजार ४ सय ७८ ले निःशुल्क अल्ट्रासाउन्ड सेवा लिएका शाखा प्रमुख अवस्थीले बताए । क्लिनिक कार्यक्रमबाट ग्रामीण क्षेत्रका विपन्न नागरिकले सहज रूपमा विशेषज्ञ स्वास्थ्यसेवा पाइरहेको उनको भनाइ थियो ।

आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारबाट वञ्चित भएका नागरिकलाई लक्षित गरी ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

गत आव २०७९÷८० मा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार ६ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार ६ सय ८९ जनाले सेवा लिएको शाखा प्रमुख अवस्थीले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय धनगढी उपमहानगरपालिकाले निःशुल्क रूपमा महिनाको एकदिन एक वडामा ‘निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गरेर गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

मानसिक स्वास्थ्यको कथावस्तु समेटिएको ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक