काठमाडौं । गत महिना मात्र आफ्नो निर्देशनमा चलचित्र ‘चित्रा’ रिलिज गरेका घनश्याम लामिछानेले आफ्नो निर्देशनमा अर्को चलचित्र ‘लन्डन टु पेरिस’को छायांकन सम्पन्न गरेका छन् । कोरोना महामारी कम भएपछि यो चलचित्रको बहुसंख्यक छायांकन बेलायतमा गरिएको थियो । बाँकी छायांकन मुम्बईमा यतिबेला सम्पन्न गरिएको उनले बताए । छायांकन सकिएसँगै यस चलचित्रको मुम्बईमै सम्पादन सुरु गरिएको पनि उनले बताएका छन् ।
आफ्नो छायांकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । सिनेमाको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने लामिछानेले बताएका छन् । यो चलचित्र प्रेम कथामा आधारित रहेको र सिनेमाले दर्शकको मन जित्नेमा आफू आशावादी रहेको पनि उनले बताएका छन् ।
साम्रज्ञी, निश्चलसँगै यो चलचित्रमा गरिमा शर्मा, कवीर खड्कालगायतको मुख्य भूमिका छ । ट्राभल लभस्टोरीको कथामा चलचित्र निर्माण गरिएको हो । निश्चल र गरिमा यही सिनेमाबाट डेब्यु गर्दै छन् ।
सिनेमाको निर्मातामा अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सहनिर्मातामा अजित सिंह छन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।





