सार्वजनिक शैक्षिक गुठीको ४ आना जग्गा गायब

काठमाडौं । तारकेश्वर नगरपालिका र गुठियारको मिलेमतोमा सार्वजनिक शैक्षिक गुठीको नाममा रहेको ४ आना जग्गा गायब भएको छ । तारेकेश्वर नगरपालिकाकी उपमयेर सिर्जना बुर्लाकोटी अर्याल र शैक्षिक गुठीका प्रतिनिधि कामी शेर्पाले ‘दालेकी शैक्षिक सार्वजनिक गुठी’को जग्गा सँधियार नारायण श्रेष्ठको जग्गा अपुग भएको भन्दै उनको नाममा पास गर्न सिफारिस गरेपछि गुठीको जग्गा अपचलन गरको भन्दै अख्तियारमा उजुरी परेको हो ।

गत ३ फागुनमा सिर्जना बुर्लाकोटी अर्यालको संयोजकत्वमा बनेको तीन सदस्य न्यायिक समितिले गुठीसँगको सँधियार श्रेष्ठको नाममा अपुग भएको जग्गा गुठीले बेहोर्नुपर्ने सिफारिस भएपछि सोविरुद्ध अख्तियारमा उजुरी परेको हो । दालेकी शैक्षिक सार्वजनिक गुठीको मातहत रहेको जग्गा गायब बनाउन भूमिका खेलेको भन्दै तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर सिर्जना बुर्लाकोटी अर्याल, गुठीका तत्कालीन अध्यक्ष कामी शेर्पा, जग्गाधनी नारायणकुमार श्रेष्ठसहितलाई विपक्षी बनाई अख्तियारमा उजुरी परेको छ ।

नगरपालिकाको सिफारिसपछि श्रेष्ठको नाममा भएको कित्ता नं. १२४४ को व्यक्तिगत जग्गा सरेर कित्ता नं. २७१ र ९९५ मा पुग्यो। नगरपालिकाको सिफारिसअनुसार नापी नक्सामा जेजस्तो कायम भए तापनि गुठीको नाममा रहेको नेपाल कातालुनिया विद्यालय (नेपाल रत्न विद्यालय)को नाममा रहेको कित्ता नं २७३, २७२, २७१ जग्गा श्रेष्ठको १२४४ को जग्गाधनीले अगाडि नपुगेको जग्गा दमासाहीले तीन फिट बेहोर्नुपर्ने निर्णयमा उल्लेख छ ।

त्यस्तै, अर्को निर्णयमा नापी नक्सामा जे जति कायम रहे तापनि कि. नं. ५२७ ले लिनुपर्ने, २ आना १ पैसा जग्गा र ४८९ ले कित्ता नं. २७१ लाई दिनुपर्ने क्षेत्रफल १ आना ३ पैसाबाट एक अर्कोले सट्टापट्टा गरी कित्ता नम्बर ४८९ लाई छाडिदिने निर्णय भएको छ । साथै कित्ता नम्बर ५२७ को बाँकी रहेको जग्गा आवश्यक स्थानमा प्लट मिलान गरिदिनुपर्ने निर्णय भएको छ । जुन कित्ता श्रेष्ठको नाममा छ । त्यस्तै, कित्ता नं. ९५५ को जग्गा डा. मोहम्मद सरिप साहको हो । सिफारिसपछि उनको पनि जग्गा मिचिन पुग्यो। जहाँ अहिले पनि उनको निजी घर छ ।

त्यस्तै, कित्ता नं. २७२ र २७३ को २ आना जग्गा सरेर कित्ता नं. २१८८ तर्फ पुगेको छ, जुन जग्गा मधु सापकोटाको नाममा छ । सो विषयमा न्यायिक समितिले केही बोलेको छैन । नगरपालिकाले कित्ता नं. २१८८ को जग्गा कित्ताकाट गर्न भनेन । त्यसो हुँदा दालेकीले दुईतर्फबाट थप ४ आना जग्गा गुमायो। त्यस्तै, बाँकी दुई आनामध्ये एक आना गोरेटो बाटो र अर्को एक आना सडकमा मिसिन पुगेको छ ।

विद्यालयको नाममा रहेको जग्गा सट्टापट्टा पनि गर्न नपाइने शिक्षा नियमावली २०५९ मा स्पष्ट छ । सट्टापट्टा गर्नैपर्ने भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्छ । तारकेश्वर नगरपालिकाले शिक्षा नियमावली उल्लंघन गरेको छ ।

नियमावलीको नियम १६१ को उपनियम २ मा भनिएको छ, ‘विद्यालयको कमाउन्ड वा खेलमैदानसँग जोडिएको जग्गासँग कुनै जग्गा सट्टापट्टा गर्नुपर्ने भएमा सामुदायिक विद्यालयको भए सम्पत्ति संरक्षण समिति, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा र संस्थागत विद्यालयको भए सम्बन्धित गुठियार वा कम्पनीका सञ्चालक, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसमा मन्त्रालयको स्वीकृति लिई सट्टापट्टा गर्न सकिनेछ ।’ तर, दालेकी शैक्षिक गुठीको जग्गा सट्टापट्टा गरिँदा न व्यवस्थापन समितिको सिफारिस भएको छ न सम्बन्धित मन्त्रालयको नै स्वीकृति लिइएको छ ।

शिक्षा ऐन २०२८, को दफा १६ को उपदफा २ अनुसार शैक्षिक गुठीको स्वामित्वमा रहेको जग्गाको स्वरूप परिवर्तन गर्न पाइँदैन । सो दफामा भनिएको छ, ‘शैक्षिक गुठीअन्तर्गत सञ्चालित संस्थागत विद्यालयको सम्पत्ति सोही विद्यालयको नाममा रहनेछ । कुनै विद्यालय सार्वजनिक शैक्षिक गुठीको रूपमा सञ्चालन गरिएकामा त्यस्तो विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ । त्यस्तो सम्पत्तिको स्वरूप परिवर्तन गर्न पाइनेछैन ।’ सो गुठीले विद्यालय पनि चलाउँदै आएको छ । तर, नगरपालिकाको उपमेयरकै संलग्नतामा शैक्षिक गुठीको जग्गा अदलबदल गरिएको छ ।

जग्गा हिनामिनाको विषयमा दालेकी शैक्षिक गुठीका अध्यक्ष कामी शेर्पा आफूले उपमेयर सिर्जना बुर्लाकोटी अर्यालको आग्रहमा गुठीको जग्गा दिन सहमति जनाएको बताउँछन् । ‘मलाई उपमेयरबाट पटकपटक दबाब पनि आयो, अन्तिम समय फागुन ३ गते राति न्यायिक समितिले निर्णय गरेपछि सबैले सही छाप गरेपछि आफूले पनि सहमत जनाएको हुँ, शेर्पाले भने, ‘अख्तियारमा उजुरी परेको भन्ने पनि सुने मुद्दा दायर गर्छन् भए जेल जान पनि आफू तयार छु ।’

तर, यो प्रक्रियामा मलाई मात्रै फसाउन खोजे मान्ने हुँदैन, शेर्पाले भने, ‘गुठीको जग्गा अदलबदल गर्ने र स्वरूप मेरो मात्रै कारणले बिग्रिएको होइन, गुठीको जग्गाको स्वरूप बिगार्ने भूमिकामा उपमेयर बुर्लाकोटी पनि हुनुहुन्छ, सधियाँर श्रेष्ठको पनि भूमिका उत्तिकै छ ।’ ‘शैक्षिक गुठीको जग्गामा मेरो पहलमा विद्यालय पनि सञ्चालन भइरहेको छ, उपमेयरले विद्यालयलाई सहयोग गर्छु तपाईले यो निर्णयमा हस्ताक्षर गरिदिनुप¥यो भनेपछि मैले जग्गा मिलानमा सहमत जनाएको हुँ,’ उनले भने, तर, उपमेयरको स्वार्थ पूरा भएपछि स्कुललाई सहयोग भएन ।’ जग्गा मिलानको विषयमा दालेखी सार्वजनिक शैक्षिक गुठीका दीपक पुनको पनि संलग्नता देखिएको छ ।

तर, उनले भने, विद्यालयका तत्कालीन अध्यक्ष कामी शेर्पा र उपमेयरको मिलेमतोमा गुठीको जग्गा मिलाउने नाटक मञ्चन भएको बताउँछन् । मलाई अध्यक्ष शेर्पा र उपमेयरले यो सामान्य कागजात हो भनी रातको ९ बजे सही छाप र हस्ताक्षर गर्न लगाएको आरोप लगाए । गुठीको जग्गाको स्वरूप परिवर्तन गर्न र हिनामिना गर्न भूमिका खेलेको भन्दै तत्कालीन अध्यक्ष कामी शेर्पा र दीपक पुनलाई पदीय जिम्मेवारीबाट हटाइएको छ ।

गुठीका हालका अध्यक्ष दोर्जेनोर्बु शेर्पाले तत्कालीन अध्यक्ष कामी र दीपकले गुठीको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गर्न भूमिका खेलेको देखिएपछि कारबाही गरिएको बताए । नगरपालिकासँगको मिलेमतोमा दुई जनाले गुठीको जग्गा हिनामिना गर्न भूमिका खलेको भन्दै कारबाही गरिएको गुठीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शेर्पाविरुद्ध उजुरी परेपछि पदीय जिम्मेवारीबाट निलम्बन गरिएको गुठी संस्थानले जनाएको छ । पदीय जिम्मेवारीबाट निलम्बन गरिएको बोधार्थ आयोगलाई पनि गराइएको छ ।

धनीपुर्जाअनुसार गुठीको नाममा कुल २९ आना जग्गा थियो। तर, समितिको सिफारिसपछि अहिले २३ आना मात्रै रहेको शेर्पाको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले भने गुठीको जग्गा के कति हिनामिना भएको हो भन्ने विषयमा सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जनायो । ‘सार्वजनिक शैक्षिक गुठीको जग्गा अदलबदल भएको भन्दै आयोगमा उजुरी परेको छ सो विषयमा हामीले अनुसन्धान गरिरहेका छौं, एक अधिकृतले भने, ‘सबै कुरा अनुसन्धान पूरा भएपछि मात्रै भन्न सकिन्छ ।’

‘शैक्षिक गुठीको जग्गा कानुनविपरीत सट्टापट्टा भएको हो कि होइन त्यस विषयमा कागजात मगाएर हामीले अध्ययन गर्छांै,’ ती कर्मचारीले भने, ‘ऐन, नियमावली र कानुनअनुसार स्थानीय न्यायिक समितिको क्षेत्राधिकारलगायतको विषयमा पनि अनुसन्धान भइरहेको छ, कानुनविपरीत भए स्थानीय तहको न्यायिक समितिले मिलापत्रको नाममा सार्वजनिक गुठीको जग्गा यता उता गर्न पाइँदैन ।’ मर्कामा परेको पक्ष कुन हो सो पनि अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी