एकीकृत समाजवादीको १०औं महाधिवेशन तयारी तीव्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशनको तयारी तीव्र पारिएको छ । आगामी ३ जेठदेखि ७ जेठसम्म एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको महाधिवेशन मूल व्यवस्थापन कमिटीले आवश्यक तयारी गरिरहेको छ ।

महाधिवेशनका लागि चारवटा दस्तावेज अन्तिम तयारीमा पुगेको छ । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र सांगठनिक दस्तावेजको लेखन कार्य अन्तिम चरणमा पुगेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको दस्तावेज अन्तिम चरणमा पुगेको छ । देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा समेटिएको छ ।

पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरूप, आर्थिक रूपान्तरणलगायत विषय समावेश गर्दै दस्तावेज लेखन गर्दै छन् ।

उपाध्यक्ष डा. बेदुराम भुसालले विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ । सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ ।

महासचिव घनश्याम भुसालले तयार गर्न लागेको सांगठनिक दस्तावेजमा पार्टीको संगठन निर्माणमा देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित गर्दै फैलनुपर्ने जनाइएको छ ।

महाधिवेशनबाट कस्तो बन्छ कमिटी ?
एकीकृत समाजवादीमा अहिले ३ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकबाट पारित विधानअनुसार अब महाधिवेशनबाट केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय हुनेछ ।

पारित विधानमा उमेरको हदबन्दी नराख्ने व्यवस्था विधानमा गरिएको छ । पार्टीको हरेक कमिटीमा समावेशीताको सिद्धान्त अनुसार २० प्रतिशत ४० वर्ष मुनिका युवा अर्थात् युवा आरक्षण राख्ने विधानमै व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार करिब ४० जना युवा नेता केन्द्रीय कमिटीमा आउने निश्चित छ ।

महाधिवेशनका सबै प्रतिनिधिहरू सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने व्यवस्थाअनुसार केन्द्रीय कमिटीमा रहेका नेतासमेत आफ्नो भूगोलबाट निर्वाचित भएर आउनुपर्ने हुन्छ । नेताका अगाडि–पछाडि घुमेर नेता भएका कतिपय केन्द्रीय सदस्य प्रतिनिधिमै पराजित हुने चर्चासमेत भइरहेको छ ।

महाधिवेशनबाट अध्यक्षसहित १९ केन्द्रीय पदाधिकारीसमेत निर्वाचित हुनुपर्नेछ । पार्टीको केन्द्रीय कमिटीभित्रको संरचनामा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी रहनेछ । केन्द्रीय कमिटीको एक तिहाइ हुनेगरी पोलिटब्युरो र पदाधिकारी तथा आयोगका अध्यक्ष रहनेगरी एक तिहाइ स्थायी कमिटी हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय परिषद् हुने व्यवस्था विधानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित