रहेनन् माइतीघरका नायक सीपी

काठमाडौं । नेपाली चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चितम्बरमप्रसाद लोहनी) अब हामीमाझ रहेनन् । उनको ८६ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । उनी लामो समयदेखि अल्जाइमर रोगसँग लडिरहेका थिए ।

७ वर्ष अघिबाट उनी यस रोगले ग्रस्त थिए । उनी एक साताअघि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका थिए । सोही अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।

नेपाल चलचित्र कलाकार संघको अगुवाइमा सोमबार अपराह्न पशुपति आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । कलाकार संघका अध्यक्ष मोहन निरौला, पूर्वअध्यक्ष कृष्ण मल्लसहित विभिन्न चलचित्रकर्मी आर्यघाट पुगेर सीपीको पार्थिव शरीरमा फूलमाला चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । सोमबार साँझ नै सीपीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

काठमाडौंको डिल्लीबजार हाइटमा बस्दै आएका सीपीकी श्रीमती माला सिन्हा र एक छोरी छन् । पत्नी सिन्हा एक समयकी बलिउड र बंगाली चलचित्रकी चर्चित नायिका हुन् । उनकी छोरी हाल आफ्नै परिवारका साथ अमेरिकामा छिन् ।

अभिनेता सीपी र अभिनेत्री सिन्हाको चलचित्र माइतीघरमा काम गर्ने क्रममा प्रेम सम्बन्ध स्थापित भएको थियो । चलचित्र माइतीघर २०२३ सालमा रिलिज भएको थियो । त्यसपछि उनीहरूले विवाह गरे । विवाहपछि यी दम्पती कहिले काठमाडौं त कहिले मुम्बईमा बस्ने गर्थे ।

गायन र अभिनयमा आफ्नो करियर बनाएका सीपी निजी क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली चलचित्र माइतीघरका अभिनेता थिए । अभिनेत्री सिन्हा र सीपीले यस चलचित्रमा नायक–नायिकाका रूपमा अभिनय गरेका थिए ।

अभिनेता सीपी रेडियो नेपालका गायक थिए । उनले आफ्नो स्वरमा रेडियो नेपालमा केही गीत रेकर्ड गराएका थिए । उनी झ्याउरे गीतका ज्ञाता थिए । काठमाडौं आसपासका भाकालाई ल्याई उनले त्यतिबेला त्यसलाई पुनर्जीवन दिएर आफ्नो स्वरमा रेकर्ड गराउने गर्थे । यस्तै, चलचित्र ‘माइतीघर’मा पनि उनले गीत गाएका थिए ।

रेडियो नेपालका गायक सीपीले केही समय सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकका रूपमा सीपीले काम गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चार पालिका जितेको एमाले योपटक शून्य